प्रहरीले नमानेपछि सरकारी वकिलमार्फत मुद्दा अघि बढाइँदै

|

पर्सा : नेकपाका गाउँस्तरीय नेता मुकेश चौरसियाको हत्या आरोपमा संविधानसभा सदस्य एवम् नेकपाका नेता राजकुमार गुप्ताविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले उनीविरुद्ध जाहेरी दर्ता गर्न नमानेपछि पीडितपक्षले सरकारी वकिलको कार्यालयमार्फत कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गराएका हुन्।

मुकेशको मृत्यु भएको सातौँ दिन सरकारी वकिलको कार्यालयमार्फत गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता गरिएको पीडितपक्षले बताएका छन्। गुप्तासहित १२ जनाविरुद्ध परेको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता मनोजीत कुँवरले जानकारी दिएका छन्। 

गत बिहीबार नेकपा जिल्ला कमिटीले विन्दवासीनी गाउँपालिका कमिटीमा गरेको सपथ ग्रहण कार्यक्रममा झडप हुँदा त्यही गाउँपालिका सचिव मुकेश चौरसियाको ज्यान गएको थियो। 

सपथ ग्रहणमा नसमेटिएको पक्षले विवाद झिकेपछि सडकमै हानाहान भएको थियो। बाँसको भाटाले हानाहान गर्ने क्रममा टाउकोमा गम्भीर चोट लागेका उनको वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा शुक्रवार ज्यान गएको थियो। 

मुकेशको मृत्युपछि उनका परिवारले सभासद गुप्तासहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा जाहेरी जाहेरी दर्ता गराउन खोजेका थिए। तर पर्साकी प्रहरी उपरीक्षक घटनामा संलग्‍न नै नभएका गुप्ताविरुद्ध कानुनी रुपमा जाहेरी लिनै नसकिने बताएकी थिइन्। 

गुप्तासहितका जाहेरीमा उल्लिखित व्यक्तिहरु कार्यक्रमस्थलमा उपस्थित नै नभएको अवस्थामा उनीहरुविरुद्ध ल्याइएको मुद्दा दर्ता गर्न नमिल्ने उनले बताएकी थिइन्। 

प्रहरीले जाहेरी दर्ता नगरेपछि शुक्रबारदेखि नै वीरगञ्जमा पीडित पक्षले आन्दोलन गरिरहेका छन्। उनीहरुले प्रहरीमाथि गुप्ताले राजनीतिक दबाब बढाएकाले कानुनी प्रक्रिया अघि नबढेको बताएका थिए। 

घटनापछि प्रहरीले अहिलेसम्म तीनजनालाई पक्राउ गरेर हिरासतमा राखेको छ। उक्त झडपमा संलग्‍न नेकपाका अन्य कयौँ कार्यकर्ता अझै फरार रहेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.