|

डडेल्धुरा : शरीरमा पिपिई सेट, मुखमा सर्जिकल मास्क र खुट्टामा जुत्ता। झट्ट हेर्दा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी जस्तै देखिन्छन् उनी। तर, उनी स्वास्थ्यकर्मी होइनन्। उनी हुन्, प्रकाश साउँद।

जिल्ला सदरमुकाममा कोरोना संक्रमितको संख्या बढेसँगै झोलामा गुर्जोसहित संक्रमितलाई आवश्यक सामग्री बोक्नु यहाँका स्थानीय साउँदको आजभोलि दैनिकी नै बनेको छ।

सामाजिक अभियन्ता साउँद पिपिई लगाई कोरोना संक्रमित रहेकै स्थानमा गई उनीहरूलाई आवश्यक सामग्रीसम्म पुर्‍याउँछन्। साथै संक्रमितलाई आवश्यक उपचारका सामग्री पुगाउँदै उनी उपचारमा सहयोगी बनेका छन्।

सानै उमेरदेखि सामाजिक कार्यमा अग्रसर देखिएका साउँद पछिल्लो समय जिल्लामा क्वारेन्टाइन निर्माणदेखि कोरोना संक्रमण भएका व्यक्तिहरूको हेरचाहमा व्यस्त छन्। होम आइसोलेसनदेखि अस्पताल भर्ना भएर उपचार गरिरहेका कोरोना बिरामीहरूसम्म गएर भेटघाट तथा आवश्यक सुझाव दिनु उनको दैनिकी नै बनेको छ।

कोरोना संक्रमितहरूको स्वास्थ्य अवस्था जटिल हुँदा बिरामीहरूलाई अस्पताल पुर्याउन पनि संक्रमितका आफ्न्तहरू नै छुँन मान्दैनन, एम्बुलेन्सहरूले बोक्न मान्दैनन् तर सामाजिक अभियान्ता साउद भने निर्धक रुपमा कोरोना संक्रमितहरूसँग साक्षात्कार गर्छन्। साथै संक्रमितहरूलाई हौसल्ला समेत प्रदान गर्दै आएका छन् उनी।

कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीले समेत उपचार गर्न डराइरहेका बेला साउँद भने संक्रमितसँगै बसेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिई उनलाई बोकेर अस्पतालसम्म पुगाउँछन्।

कोरोना संक्रमतिलाई हेलाभन्दा पनि हौसला आवश्यक भएकाले आफूले दिनमा एकपटक कोरोना संक्रमितलाई भेटेर हौसला दिने अभियान संचालन गरेको उनी बताउँछन्।

डडेल्धुरा अस्पतालमा आईसियु छैन। श्वासप्रश्वासमा समस्या देखिएका संक्रमितलाई सेती प्रादेशिक अस्पताल धनगढी लैजानुपर्ने बाध्यता छ। यस अवस्थामा साउँदले अक्सिजनसहित बिरामीलाई सेती अस्पताल पठाउन सहयोग गरिरहेका छन्।

उनी अस्पतालको आइसोलेसन वार्डबाट बिरामीलाई एम्बुलेन्ससम्म पुगाउँछन्। साउद आइसोलेन वार्डबाट संक्रमितलाई ह्विलचियरमा राखेर आफैँ एम्बुलेन्ससम्म पुर्‍याउने काम गर्दै आइरहेका छन्।

साउँदले करिब एक साता यता घर समेत छोडेर बागबजारको बसपार्क छेउमा बनाएका एक टिनको छाप्रोमा बसिरहेका छन्। उनको दैनिकी बिहानी कोरोना संक्रमितसँगको भेट गर्नबाट सुरु हुने गरेको छ।

स्थानीय, प्रदेश र संघीय सरकारले होम आइसोलेसनमा बसेकाहरूका बारेमा जानकारीसम्म लिन सकिरहेको छैन। तर, साउद कोरोना संक्रमितकै घरमा पुगेर गुर्जो वितरणदेखि अक्सीजन पुर्‍याउन थालेका छन्।

‘कोरोना भाइरसबाट विश्व नै आक्रान्त भएको छ। यस्तो अवस्थामा सरकारको मात्रै मुख ताक्नुभन्दा पनि एक अर्काले सहयोगको भावना लिएर काम गरे महामारीबाट बच्न र बचाउन सकिन्छ’ साउँद भन्छन्, ‘कोरोना संक्रमतिलाई हेलाभन्दा पनि हौसला आवश्यक छ। उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने र सोही अनुसारको आवश्यक सामग्री दिने गरेको छु, अस्पतालमाभन्दा होम आइसोलेसनमा रहेका बिरामीहरूमा बढी समस्या रहेको हुँदा बढी समय उनीहरूलाई नै दिने गरेको छु।’

संक्रमितसँगै दशैँ

कात्तिक १० गते अर्थात् बडा दशैँको दिन सबै जना परिवार तथा आफ्न्तजनहरूसंग दशैँको टिका थाप्दै रमाइलो गरिरहेका थिए। तर, सामाजिक अभियान्ता साउँद भने बसपार्कनजिक रहेको एक टिनको छाप्रामा बसेर कोरोना संक्रमितहरूका लागि गुर्जोसँगै आवश्यक औषधिहरू झोलामा व्यवस्थापन गरिरहेका थिए।

एक कोरोना संक्रमितलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाउनुपर्ने भएकोले ती संक्रमितलाई पठाउने चाँजोपाँजोमै दिन बितेको उनलाई थाहै भएन। यसपालिको दशैँ कोरोना संक्रमितहरूसँग भलाकुसारी गर्दै मनाइएको साउँदले सुनाए।

आफ्नो ज्यान जोखिममा राखेर हाम्रो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन पटक–पटक भेट्न आउँदा कोरोनालाई परास्त गर्ने हौसला मिलेको एक कोरोना संक्रमितको भनाइ छ।

‘एकजना व्यक्तिले आफ्नो ज्यान जोखिममा राखेर गरेको कामबाट अरुले पनि प्रेणा लिनुपर्ने हुन्छ।’ उनले भने, ‘उहाँ आएर हाम्रो हौसला बढाउनुहुन्छ।’

लकडाउनका समयमा सामाजिक अभियन्ता साउदले धेरै व्यक्तिलाई राहत दिनुका साथै आवासको समेत व्यवस्था गरेका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.