हुनेखाने वर्गले समेत उपचार नपाउँदा स्थानीय त्रसित

|

डडेल्धुरा : डडेल्धुरामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। केही दिनअघि जिल्ला सदरमुकामका एक व्यापारी र सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएयता सयाैं मानिसमा कोरोना फैलिइसकेको छ।  

सुरुमा कोरोना संक्रमित भएका दुवै जनामा कोरोनाका लक्षणहरु देखिएका थिए। होम आइसोलेसनमा बसेका उनीहरुलाई डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएको थियो। तर, त्यहाँ राख्दासमेत उनीहरुको स्वास्थ्यमा सुधार आउन सकेन।

उनीहरूको अवस्था जटिल भएपछि आइसियुमा राख्नुपर्ने अवस्था आयो। तर, संघीय सरकारमातहत रहेको सुदूरपश्चिमकै एक मात्र डडेल्धुरा अस्पतालमा आइसियुको व्यवस्था नहुँदा उनीहरूलाई प्रदेश सरकार मातहतको सेती प्रादेशिक अस्पतालमा रिफर गरियो। उनीहरूको अहिले सेतीमा उपचार भइरहेको छ।

जिल्लाकै प्रतिष्ठित व्यक्तिहरूले जिल्लामा आइसियु नहुँदा उपचार नपाएको अवस्थामा यहाँका स्थानीय भने त्रसित बनेका छन्। जिल्लामा पछिल्लो समयमा दिनप्रतिदिन सक्रिय कोरोना संक्रमितको संख्यामा पनि वृद्धि हुँदै गएको छ। लक्षणसहितका संक्रमित पनि थपिँदै छन्।

डडेल्धुरा अस्पतालमा आइसियु नहुँदा कोरोना संक्रमण भइहाले उपचारबिनै ज्यान जाने हो कि भन्ने त्रासमा स्थानीय छन्। 

डडेल्धुरामा आइसियु नहुँदा धनगढी वा नेपालगञ्ज पठाउनुपर्छ। ६–७ घण्टाको गाडी यात्रामा सेती प्रादेशिक अस्पतालमा पुग्न समय लाग्ने भएकाले बीच बाटोमा ज्यान जाने जोखिम पनि बढ्न थालेको छ।

कोरोना संक्रमण फैलिएसँगै जिल्लामा आइसियुको भरपर्दो व्यवस्था नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था सिर्जना भएको हो।

दिनप्रतिदिन संक्रमित बढ्दै जाँदा डडेल्धुरा अस्पतालमा आइसियु व्यवस्था मिलाउन स्थानीय तहहरूले जोड दिनुपर्ने स्थानीय जगदीश धामी बताउँछन्। जिल्लाका प्रतिष्ठित व्यक्तिले उपचार पाउन समस्या भएको समयमा गरिब जनताले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउनसक्ने उनी बताउँछन्। 

‘यहाँ आइसियुको व्यवस्था छैन। संक्रमित व्यक्तिको बाटोमै मृत्यु हुन सक्ने सम्भावना छ। त्यसैले डडेल्धुरामा यसको एकदमै आवश्यक छ।’ धामीले भने, ‘यसका लागि सबैले पहल गर्नु आवश्यक छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि डडेल्धुरा अस्पतालमा तीन करोड रकम पठाएको अस्पतालले जनाएको छ। मन्त्रालयले आइसियु, भेन्टिलेटर र अन्य व्यवस्थापनका लागि अस्पतालमा बजेट पठाएको भए पनि तोकिएका सेवा सुरु गरिएको छैन। 

अस्पतालमा पाँच वटा भेन्टिलेटर र १५ वटा आइसियुका लागि बजेट आएको र तिहारलगत्तै यिनको व्यवस्था हुने अस्पतालका निमित्त मेसु डा. जगदीशचन्द्र विष्टले जानकारी दिए। कोभिड–१९ को प्रभावपछि अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष निर्माणको प्रक्रिया सुरु गरिएको उनले जनाए।

डडेल्धुरा अस्पतालमा यसको व्यवस्था भएपछि धेरै रकम खर्चेर टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुने यहाँका स्थानीयको विश्वास छ। सुदूरपश्चिममा अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा मात्रै यो सेवा उपलब्ध छ।

डडेल्धुरामा अस्पतालमा कोरोना संक्रमित र अन्य बिरामीका लागि छुट्टाछुट्टै शैया व्यवस्थापन गरिएको छैन। अस्पतालमा आइसियु र भेन्टिलेटरको व्यवस्थापनमा ढिलाय हुँदा अन्यत्र पठाउनुपर्ने बाध्यता कायमै छ।

जिल्लामा हाल सक्रिय संक्रमित संख्या ४१ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.