|
मृतक सुनिनादेवी ठाकुर ।

बारा : दशैँको माहोलमा गाउँघरमा लङ्गरबुर्जा खुबै खेलिन्छ। बाराको निजगढ नगरपालिका–१ सिगौंलका सिकेन्द्र ठाकुर पनि यसपालिको दशैँमा गाउँका साथीसँगै दाउ मार्न भिडे। खेल्दै जाँदा दाउ पर्‍यो, तर बुर्जा खेलाउनेले दाउमा परेको रकम फिर्ता गर्न विवाद गरे। धक्कामुक्का हुन थालेपछि सिकेन्द्र रुँदै घर फर्किए।

घरमा आमा र भाउजु थिए। छोरोको आँखामा आँशु देखेपछि आमा सुनिनादेवी लङ्गरबुर्जा खेलाएको ठाउँमा पुगिन्। गाउँमै रहेको पसल बन्द गर्न सिकेन्द्र पसलतिर लागे। सुनिनादेवी छोरोमाथि भएको अन्याय विरुद्ध बोल्न पुगिन्। त्यहाँ विवाद भयो। 

उनलाई घर नजिकैको ढलान सडकमा रक्ताम्मे भएर लडेकी अवस्थामा फेला पारी शनिबार साँझ बुहारी रिनादेवीले अस्पताल पुर्‍याइन्। तर, बचाउन सकिएन। तीन दिनसम्म उपचार गरेपनि उनको मृत्यु भएको हो।

लङ्गरबुर्जा खेल्ने ठाउँमा विवाद भएपछि घर फर्किँदै गरेकी सुनिनादेवीलाई स्थानीय युवाहरूले धकेलेर सडकमा लडाइदिएका थिए। ढलान भएको सडकमा टाउको ठोक्किँदा गहिरो चोट लाग्यो। 

गम्भीर घाइते अवस्थामा सुनिनादेवीलाई उपचारार्थ निजगढ लगिएको बुहारी रिनादेवीले बताइन्। त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्‍ज पठाइएको र त्यहाँ  पनि चिकित्सकले उपचारपछि औषधि दिई आराम गर्न घर पठाएका थिए। बिरामी ठाकुरलाई थप उपचारका लागि वीरगञ्‍जस्थित नेशनल मेडिकल कलेज लगिएकोमा अस्पतालमै मङ्गलबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

पक्राउ परेका छुटे 

विवादमा संलग्न भएको आशङ्कामा अनुसन्धान र सोधपुछका लागि निजगढ प्रहरीले दुई जनालाई शनिबार नै नियन्त्रणमा लिएको थियो।


घटनास्थल ।

तर, घाइते सुनिनादेवी अस्पतालबाट फर्किएपछि प्रहरी कार्यालयमा मिलापत्र गरेर उनीहरूलाई प्रहरीले छाड्यो। उपचार गरेर घर फर्किएकी सुनिनादेवीलाई पुनः समस्या देखिएपछि वीरगञ्ज पुर्‍याइयो। उनले अस्पतालमै अन्तिम स्वास फेरिन्।

घाइतेको मृत्यु भएपछि प्रहरीले छाडिएकालाई तत्काल खोजी गर्न थाले। घटनामा संलग्न दुई जनालाई पक्राउ गरिसकिएको प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिएका छन्‌। ‘पीडितको किटानी जाहेरी दर्ता भइसकेको छ,’ प्रहरी निरीक्षक थपलियाले भने, 'जाहेरीमा किटिएका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं।’

पोष्टमार्टमका ढिलाई

मृतक सुनिनादेवीको शव शल्य परीक्षण (पोष्टमार्टम)  गर्न तीन दिन लाग्यो।

जिल्ला अस्पताल कलैयामा राखिएको उनको शव तीन दिनपछि विहीबार राती घर ल्याइएको छ।

धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.