|

धनकुटा : अधिकांश नेपाली युवा काम र अवसरको खोजीमा विदेशिन्छन्। यो क्रम दिनानुदिन बढ्दो छ। काम गर्न सक्ने उमेरका युवाहरू विदेशिएपछि गाउँ घरका खेत, बारी बाँझो हुनु सामान्य नै भइसकेको छ। यति हुँदाहुँदै पनि धेरै जनसंख्या कृषिमै निर्भर छ।

यस्तो अवस्थामा धनकुटाको पाख्रिवास नगरपालिकामा दुईजना गाउँ फर्केर खेतीमै रमाउन थालेका छन्। पाख्रिवास नगरपालिका १ तल्लो सान्नेमा स्थानीय नवीन दाहाल र उनका ज्वाइँ धनकुटाको चौविसे गाउँपालिका ६ राजारानीका तिलक कार्कीले गाउँमै प्रशस्त सम्भावना देखेका हुन्।

उनीहरूले सान्नेमा छिन्ताङदेवी कृषि फर्ममार्फत सञ्चालन गरेको निजी वन जिल्लाकै नमुना हो। एक सय रोपनी क्षेत्रफलमा दर्जनौँ प्रजातिका सयौं वनस्पति रहेका छन। उनीहरूले केही जग्गा खरिद गरेका हुन् भने केही जग्गा पुर्ख्यौली हो।

वनमा सयौँ बोट मलेसियन सखुवा, टिक र २५ हजार पाउलिनिया, ५ सय रुद्राक्ष रहेको छ। तर, निजी वनबाट उत्पादित काठजन्य वस्तु कटान र निर्यातमा समस्या हुने सञ्चालक दाहालले बताए। यसलाई व्यावहारिक बनाउनु पर्ने उनी बताउँछन्। ‘हामीले आफ्नो व्यक्तिगत फाइदा मात्र नहेरी वातावरणीय दृष्टि र खेर गएका जमिन सदुपयोग गर्दै आएका छौं।’

अढाइ करोड लगानी

करिब १ करोड रुपैयाँ लगानीमा सुरु गरेको फर्ममा हालसम्म करिब अढाइ करोड लगानी गरिसकेको अर्का सञ्चालक तिलक कार्कीले बताए। निजी वनका लागि राज्यबाट सहुलियत दरमा कृषि ऋण पाउनसमेत नसकेको कार्कीको गुनासो छ। १० वर्षमा प्रतिफल मिल्ने गरी हाल लगानी मात्र गर्दै आएको कार्की बताउँछन्। सो ठाउँबाट वार्षिक ३ देखि ४ करोड आम्दानी र १० देखि १२ वर्षमा रुख बेचेर ५ देखि ७ अर्ब आम्दानी हुने उनीहरुको अपेक्षा रहेको छ।

खेतीमा कफी लटरम्मै फल्न सुरु गरिसकेको छ। यसअघि यो बारीमा कोदो, धान मकै खेती हुन्थ्यो। अरू धेरै प्रकारका विरुवाहरू उत्पादनहरू गरेर खेती गरिएको भए पनि मुख्य खेती कफी नै हो।

कृषि नेपालको सन्दर्भमा एउटा अपहेलित पेशा बनेको छ तर ठूलो जनसंख्या यसमै निर्भर रहेको र कृषिलाई गर्विलो पेशा बनाउन लागेको कार्कीले बताए।

गाउँमै केही गर्ने दाहालको सोच

फर्मका सञ्चालक नवीन दाहालले १० वर्ष अगाडि अहिले फर्म भएको जग्गा बेचेर मोरङ बसाइ झरेका हुन्। मोरङमा रहँदा यातायात व्यवसायी रहेका दाहालले गाउँमै फर्केर केही गर्ने योजना बनाएर पुन आफ्नो पहिलेको जग्गा खरिद गरेर काम सुरु गरेका हुन्। उनले मोरङको सुन्दरहरैचामा ड्रागन फलको खेतीसँगै टर्की, कणकनाथ, अष्ट्रिज, बट्टाइ र गिरीराज कुखुरा पालन गरिरहेको बताए।

दाहालले सान्नेमा सञ्चालन गरेको फर्ममा हालमसम्म एक रुपैयाँ अनुदान र ऋण नपाएको बताएका छन्। उनले ऋणका लागि सुरुमा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय गएको त्यहाँबाट जिल्लामा पठाएको जिल्लाले स्थानीय तहबाट मात्रै हुने भनेर पाख्रिबास नगरपालिकामा रहेको जनता बैंकमा बुझ्दा व्याजदर धेरै महँगो भएको मात्र पाइने जानकारी पाएको दाहालले बताए। कृषि कर्म गर्नेले भन्दा ठूलाले मात्रै कृषि ऋण र अनुदान पाउने गरेको महशुस भएको दाहालले गुनासो गरे।

कहीँ कतै अनुदान मागेको छैन

धनकुटाको चौविसे गाउँपालिकाको बसन्तटार घर भएका फर्मका अर्का सञ्चालक कार्की सोही गाउँपालिकाको राजारानीमा होटल व्यवसाय हुँदै कपडा पसल गर्दागर्दै २०६० सालमा काठमाण्डौ गएर बस्दै आएका हुन्।

तत्कालीन एमालेनिकट धनकुटा काठमाण्डौ सम्पर्क मञ्च अध्यक्षसमेत रहेका कार्की गृहजिल्लामा केही गर्ने उदेश्यले कृषि कर्ममा लागेको बताउँछन्। उनले प्राविधिकको सल्लाहअनुसार खेती सुरु गरेको बताउँदै हालसम्म कतै अनुदान नमागेको बताए। उनले आफ्ना केही घडेरी बेचेर तथा घरलाई बैंकमा राखेर लगानी गरेको बताए। खेतीमा लगाइएको कफिलाई मृग र खरायोले नष्ट गर्न थालेपछि तारबेराको तयारी गरिरहेको उनको भनाइ छ।

यस्तो छ आगामी योजना

दाहाल र कार्कीले पाख्रिबास नगरपालिका भित्र करिब ५ सय रोपनीमा फर्मलाई विस्तार गरि कफि खेतीसँगै ह्याचरी देखि अष्ट्रिज, टर्की पालनका साथै विश्वकै महगों प्रजातीको विरुवा अगारोको खेती गर्ने योजना रहेको बताएका छन्। उनीहरूले फर्म विस्तारका लागि ५ करोड कृषि ऋणको तयारी गरेर सो फर्मको नजिकै अन्य तीन सय रोपनी जग्गामा हेरीसकेका बताएका छन। उनीहरूले सबैका लागि उदाहरणीय काम गर्ने तयारी गरेको दाबी गरेका छन्।

नीति बनाएर सहयोग गर्छौ : नगरपालिका

यता, पाख्रिबास नगरपालिकाले भने आर्थिक वर्ष ०७७/७८ मा १० लाख बजेट विनियोजन गरेर किसानलाई कफीका विरुवा सहुलियत दरमा वितरण गरिरहेको जनाएको छ। यस्तो फर्मलाई सहयोग गर्ने सोच भएको नगरपालिकाका प्रमुख बृषबहादुर राईले बताए। उनले यो फर्मसम्मको पहुचँमार्गलाई गत साल केही रकम दिएको र कफीमा लगानी गर्नेलाई छुट्टै निती बनाएर सहयोग गर्ने योजना रहेको जानकारी दिए।

निजी वनमा आकर्षण

पछिल्लो समय धनकुटामा निजी वनतर्फ आकर्षण बढ्दै गएको छ। ती बनबाट रुख कटान र ओसारपसार गर्न भने झन्झटिलो प्रक्रिया रहेको छ। झन्झटिलो प्रकृयाले गर्दा आफ्नै निजी बनको रुख काट्न नपाएको वन धनीहरू बताउँछन्।

आफूले जतन गरेको रूख आफ्नो खटन गर्न पाउनुपर्ने उनीहरूको भनाइ छ। वातावरणीय दृष्टि र आम्दानीको दृष्टिले नीजि वनको आकर्षण बढेको जिल्ला नीजि पारिवारिक वनका निवर्तमान अध्यक्ष गोपाल भट्टराई बताउ“छन। नीजि स्वामित्वको वन भएकोले उत्पादित रुख कटानदेखि ओसारपसार गर्न सहज प्रकृया नभएकोले निजी वनमा संलग्न व्यक्तिमा निराशा जन्माएको छ।

धनकुटामा हाल ५६ वटा निजी वन छन्। यो क्रम बढ्दो रुपमा रहेको संलग्न कृषकहरूको भनाइ छ। चाहेको बेला राज्यलाई आवश्यक कर तिरेर आफ्ना जमिनमा रोपेको रूख कटान गर्न पाउनुपर्ने उनीहरूको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.