|

बैतडी : बैतडीका दुई स्थानीय तहका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन्। पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरुमा पठनपाठन पुनः शुरु हुने भएको हो।

लामो लकडाउनपछि खुलेका विद्यालयहरु दशैंअघि बन्द भएका थिए। पुर्चौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीका अनुसार नगरका सबै विद्यालयमा आजदेखि प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन हुनेछ। पठनपाठनका  बेला विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको उनको भनाइ छ।

यस्तै, मेलौली नगरपालिकामा पनि आजदेखि पठनपाठन क्रियाकलाप सञ्चालनमा आउने भएको छ। जोखिम कम भएका क्षेत्रमा विद्यालयमै उपस्थित भएर पठनपाठन हुने र बढी जोखिम भएका ठाउँमा टोल शिक्षाका माध्यमबाट कक्षा सञ्चालन हुने नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश भट्टले जानकारी दिए। 

यसअघि सञ्चालनमा रहेका मेलौलीका विद्यालयहरु नगरपालिकामा कार्यरत कर्मचारी र स्थानीय बासिन्दामा कोरोना पुष्टि भएपछि गत असोज १८ देखि बन्द गरिएका थिए।  संक्रमित कर्मचारी र स्थानीयले कोरोना जितेपछि पुनः वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको मेलौली नगरपालिकाले जनाएको छ।

कोरोना कहरले लामो समयदेखि विद्यालय बन्द भएपछि विद्यार्थीको भविष्यमा असर पर्ने भन्दै पुनः पठनपाठन सुचारु गरिन लागिएको हो। मेलौली नगरपालिकामा ४६ सामुदायिक र तीन निजी विद्यालयमा करिब आठ हजार विद्यार्थी अध्ययनरत छन्।  पुर्चौडीमा नगरपालिकामा ७५ सामुदायिक र तीन निजी विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत छन्।

बैतडीमा हालसम्म ४६८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये आठजना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। यस्तै, संक्रमणबाट एकजनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.