|
फाइल फोटो ।

बैतडी : मादक पदार्थ सेवनका कारण पछिल्लो समय समाजमा विकृति मौलाउँदै गएको छ। मदिरा सेवनका कारण बैतडीमा सामाजिक अपराध र घरेलु हिंसाका घटनाहरू वृद्धि हुन थालेको हो।

गाउँ-गाउँमा अवैध मदिरा बेचबिखन गर्दा विभिन्न अपराधिक घटना बढेका प्रहरीले जनाएको छ। मदिराका कारण कुटपिट, झै-झगडा, घरेलु हिंसाका साथै ज्यानै जाने खालका घटनाहरू समेत हुन थालेका छन्। 

पछिल्लो समयमा विभिन्न ठाउँमा मदिराका कारण हुने घटनाहरूमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकसिंह धामीले जानकारी दिए। उनका अनुसार मदिराकै कारण केहीदिनअघि कुटपिट भएपछि पञ्चेश्वर-३ का एक युवकको ज्यान समेत गएको छ भने विभिन्न ठाउँमा कुटपिट र झै-झगडाका घटनाहरू भइरहेको छ।

गाउँगाउँमा पुगेको मदिराले ग्रामीण क्षेत्र अशान्त बनेको स्थानीयहरूले बताएका छन्। यो महिना दशैँको समयमा मात्रै प्रहरीमा मदिरा सेवनका कारण कुटपिट भएका सातवटा उजुरी दर्ता भएका छन्।

मदिराकै कारण गाउँगाउँमा झै झगडा हुने गरेको दशरथचन्द नगरपालिका-१ का पुष्करराज भट्टले बताए। उनले भने, ‘मदिराका कारण कुनै न कुनै रुपमा ग्रामीण क्षेत्र अशान्त बनिरहेको छ, अहिले गाउँघरमा मदिरा सेवन गरेका धेरै मान्छे भेटिन्छन्। धेरै जसो बेरोजगार युवाहरू यसको कुलतमा फसेका छन्। यसले गाउँघर जताततै अशान्ति फैलिएको छ।’

गाउँमा हुने अवैध मदिराको कारोबारले समस्या निम्त्याएको छ। यसले गर्दा महिला तथा बालबालिकाहरूमाथि हुने हिंसा पनि बढेको छ। कोरोना कहरका कारण धेरै मानिस रोजगारी गुमाएर घर फर्केका र उनीहरू रोजगारी विहिन भएको अवस्थामा अपराधिक क्रियाकलाप बढ्दै गएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, ‘अहिले धेरै युवाहरू गाउँमै बेरोजगार बसेका छन्। यसले गर्दा उनीहरूमा वितृष्णा बढ्दै गएको छ। मदिरा सेवन लगायतका कार्यहरुमा उनीहरूको संलग्नता बढेको पाइन्छ। यसले अपराधका घटना बढ्दै गएका छन्। ’बेरोजगार भएर बसेकाहरू विभिन्न तनावमा परेर मदिरा सेवन गर्ने गरेको हुनसक्छ, मदिरा सेवनले समाजमा विकृति फैलाएको छ।

कोरोना कहरका कारण बैतडीमा मात्रै १२ हजार बढी नागरिक रोजगारी गुमाएर स्वदेश फर्केका छन्। स्वदेश फर्केका नागरिक बेरोजगार बस्न बाध्य भएका छन्। यसले गर्दा पनि समाजमा मदिरा सेवन गरेर अपराधिक घटना बढ्दै गएका छन्।

मदिराका कारण गाउँगाउँमा द्वन्द सिर्जना हुने अवस्था आएको सिगास गाउँपालिका स्थानीय जनक चर्मकारले बताए। उनले भने‘ मदिराकै महिला र बालबालिकाहरू बढी असुरक्षित भएका छन् ’

जिल्लामा मदिराका कारण अपराधिक क्रियाकलाप बढ्न थालेपछि प्रहरीले गस्ती बढाएको जनाएको छ। मदिराका कारण हुने अपराधका घटनाहरू न्यूनीकरणका लागि जिल्लाभरका प्रहरीचौकीबाट गाउँगाउँमा गस्ती खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.