|

काठमाडौं : थापाथलीमा रहेको कालमोचन घाट क्षेत्र पुनःनिर्माणमा  समस्या भएको छ। दुई पैसा जग्गा र त्यसमा बनेको दुईतले घरमा व्यक्तिले स्वामित्व दावी गरेपछि समस्या आएको काठमाडौं महानगरपालिका–११ वडाका अध्यक्ष हीरालाल तण्डुकारले बताएका छन।

अध्यक्ष तण्डुकारका अनुसार थापाथली पुलको मुखैमा यो घर छ। पुनःनिर्माणका क्रममा खन्ने क्रममा जगको तल्लो भागमा चिल्ला ढुङ्गाको स्तम्भजस्तो आकार र त्यसमाथि परम्परागत संरचनामा प्रयोग गरिने बुट्टासहित इटाको पर्खाल भेटिएको छ। त्यसमाथि काठ, इटा र सिमेन्ट प्रयोग गरेर बनाइएको दुईतले घर छ।

‘एक व्यक्तिले लालपूर्जासहित स्वामित्व दावी गरिरहेकोले निर्माणमा समस्या भएको छ,’ उनले भने, ‘यो संरचना व्यक्तिको हुने कुनै आधार देखिँदैन, थापाथली पुल बनाउँदा पुलको आकर्षण बढाउन बनाइएको स्तम्भको जगमा घर बनाइएको देखिन्छ। त्यो स्तम्भमा सिंहका मूर्ति राखिएको हुनुपर्छ।’ संरचना हटाउनका लागि वडाबाट गर्नुपर्ने आवश्यक समन्वय र सहयोग गर्ने उनले जानकारी दिए।  

समस्याको समाधान खोज्न आइतबार बिहान वडा ११ का अध्यक्ष तण्डुकार, गुठी संस्थानका उपप्रशासक सरोज थपलिया, पुरातत्व विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इञ्जिनियर असिम अधिकारी र परामर्शदातासहितका अधिकारी जम्मा भएर स्थलगत अवलोकन गरेका थिए। 

गुठी संस्थानका उप प्रशासनक थपलियाका अनुसार यो ठाउँको १८८ नम्बरको एउटै कित्तामा २९ रोपनी जग्गा छ। त्यहाँ बैरागी र सन्यासीलगायतका अखडा छन्। त्यसमध्येको दुई पैसा जग्गामा बनेको घरसहित व्यक्तिले लालपूर्जा लिएर स्वामित्व दावी गरेको छ।  गुठी संस्थान शाखा कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले अवलोकनपछि भने, ‘व्यक्तिमा स्वामित्व कसरी पुग्यो? खोजी गरिरहेका छौं।’

पुरातत्व अधिकृत भण्डारीका अनुसार तेस्रो चरणमा थापाथली कालमोचन क्षेत्रका बैरागी अखडा, सन्यासी अखडासहितका चारवटा सम्पदा पुनःनिर्माण भइरहेका छन्। पहिलो चरणको काम करिब ३७ करोड रुपैयाँ, दोस्रो चरणको काम करीब ४० करोड रुपैयाँ र तेस्रो चरणको काम करीब ३५ करोड रुपैयाँ लागतमा अघि बढेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.