|

धनकुटा : कोरोनाको कहरसँगै सुनसान बनेको भेडेटारमा यति बेला तराई विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दै गएको छ। पूर्व घुम्न आउने जो कोही पर्यटकहरु एक पटक भेडेटार पुग्ने गरेका छन्। 

सुनसरीको धरानबाट नागबेली सडक पार गर्दै थोरै समयमा नै पुगिने भेडेटारमा जुनसुकै बेला पनि चिसो हावा पाहुनालाई स्वागत गर्न तत्पर रहन्छ। भेडेटारमा पर्यटनको धेरै सम्भावना रहेका छन्। पहाडको टुप्पोमा अवस्थित भेडेटारमा घुम्न आउने पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढी भारतीय नागरिक आउने गरेकोे भए पनि कोरोनाको कारण अहिले ती पर्यटक नआएको होटल एशोसिएशन भेडेटारका निवर्तमान अध्यक्ष लिलाराज लावतीले बताए। 

भेडेटारका आर्कषण

भेडेटार घुम्न आउने पर्यटकहरुका लागि आसपासमा एक दर्जनभन्दा बढी ठाउँ रहेका छन्। थुम्कीबाट रमणीय दृश्यालोकन गर्न सकिन्छ। बजार क्षेत्रमै रहेको शङ्खेश्वर महादेवमा मन्दिर अर्को पर्यटकीय गन्तव्य हो। यस्तै बजार क्षेत्रदेखि करिव दुई किलोमिटर दूरीमा अवस्थित पाथीभरा मन्दिर पनि रहेको छ। ताप्लेजुङको पाथीभरा मन्दिरको शाखा रुपमा यो मन्दिरलाई लिइन्छ। त्यस्तै, दश लिम्बुवान छुट्टिँदा बनाएको ऐतिहासिक साँगुरीगढी पर्यटकहरुका लागि अर्को गन्तव्य हो। होमस्टे गाउँको रुपमा परिचित नाम्जे गाउँ पनि भेडेटारको प्रमुख पर्यटकीय गन्तव्य हो। यो गाउँलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले सन २०१२ मा विश्वको १२ औँ पर्यटकीय गन्तव्यमा सुचिकृत गरेको थियो। 

भेडेटार बजार देखि केही तल रहेको अर्को गन्तव्य नमस्ते झरना भेडेटारको मुख्य पर्यटकीय गन्तव्य हो। जंगलबीचमा रहेको यो झरनासम्म पुग्ने पूर्वाधार निर्माण भएसँगै पर्यटकलाई सहज भएको छ। देशमा भएको लकडाउनअघि नमस्ते झरनामा क्यानोनिङ जस्ता सहासिक खेल सञ्चालन हुने गरेको थियो।

समुन्द्री सतहदेखि करिव १४ सय २६ सय मिटर उचाइमा रहेको भेडेटारबाट जुनसुकै मौसममा पनि पूर्वी तराईका सुन्दर फाँट, सप्तकोशी नदीको फाँटसहित कञ्चनजंघा, कुम्भकर्ण र मकालुजस्ता हिमाल स्पष्ट देख्न सकिन्छ। लकडाउनका कारण वायु प्रदूषण कम भएपछि भेडेटारबाट वरपरका चम्किला हिमाल स्पष्ट देखिन थालेका छन्‌। अझ मनसुन सकिएसँगै यतिखेर आकाशबाट बादल पनि हट्दा कञ्चनजंघा, कुम्भकर्ण र मकालु हिमालको मनमोहक दृश्यले देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.