|

इलाम : मानिस स्वभावैले भावुक हुन्छ। इच्छाएको पाउँदा जति खुशी मिल्छ : त्यसलाई गुमाउँदा पनि जीवनभर पीडा रहिरहन्छ।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा सर्वाधिक गोलकर्ता हरि खड्का ४५ वर्ष पुगे। तर, उनले २६ वर्ष अघि गुमाएको त्यो एडिडास जुत्ता र पुरस्कार पाएको त्यो माउन्टेन बाइक अझै बिर्सन सकेका छैनन्।


भृकुटीमण्डपमा किनेको एडिडास जुत्तामा ठाँटिएका हरि खड्का ।

थाहाखबरसँगको कुराकानीमा फूटबल खेलमा लाग्ने एउटा प्रेरणाको रुपमा जर्मनमा भोगेको त्यो पीडा र उत्कृष्ट बन्दै पाएको त्यो माउन्टेन बाइक रहेको सुनाए। ‘जर्मनमा फूटबल प्रशिक्षण गर्न पाउनु आफैँमा गर्वको कुरा थियो, किशोरावयमै युरोपमा फूटबल सिक्न पाएँ, सो अवसरले यही क्षेत्रमा लाग्ने हौसला मिल्यो। आफ्नै मेहनतले किनेको जुत्ता गुमाएँ, तर पीडालाई पुरस्कार स्वरुप पाएको माउन्टेन बाइकले मल्हम लगायो।’

त्यहाँबाट उनको त्यो एडिडास जुत्ता र माउन्टेन कति यादगार थियो भनेर अनुमान लगाउन सक्छौं। हरिको जुत्ता स्मरण त छँदैछ, त्यसअघि उनी टिएनजमै जर्मन कसरी पुगे र खेलयात्रा कसरी अघि बढ्यो ? त्यसबारे पढौंँ। 

जर्मन प्रोजेक्टअन्तर्गत फूटबल प्रशिक्षण दिन अन्तराष्ट्रिय फूटबल महासंघ (फिफा) को टेक्निकल डाइरेक्टर होल्गर ओभरम्यान नेपाल आएका थिए। महेश्वर मुल्मी नेपाली टीमको प्रशिक्षक रहँदा ओभरम्यानलाई (प्राविधिक निर्देशक) टेक्निकल डाइरेक्टरको रुपमा एन्फाले ल्याएको थियो।। सोही समयमा उनले नेपालमा जर्मन फूटबल प्रोजेक्ट संचालन गरेका थिए।

ओभरम्यानले नै झापा कलबलगुडीका किशोरलाई जर्मन प्रशिक्षणका लागि छनोट गरेका थिए। ‘ओभरम्यान नभएको भए म छनोट हुन्न थिएँ होला,’ हरि भन्छन्‌, ‘हामी गाउँको मान्छे, काठमाडौंमा रहेका र शक्ति भएका मान्छेलाई मात्र छनोट गर्छन्‌ भन्ने हल्ला थियो हाम्रोतिर। तर, त्यस्तो हैन रहेछ। छनौट भइसकेपछि गणेश दाई (गणेश थापा) ले मेरो अडानका कारण छनौट भएका हौ भन्नुभएको थियो। त्यसका लागि गणेश दाइलाई धन्यवाद!’

सन्‌ १९९३ को ताका सानमिगेल लिग कप यु–१६ मा झापा जिल्लाको अग्रपंक्ति सम्हाल्दै हरि प्रतियोगिताको लागी काठमाडौं गएका थिए। हालका झापा जिल्ला फूटबल संघका अध्यक्ष भगीरथ आले मामाको प्रशिक्षणमा गएको टोलीले उपाधि मात्र जितेन, हरिले उत्कृष्ट खेलाडी हुँदै जर्मनको पोटास स्कुलमा डेढ महिना फूटबल सिक्ने अवसर पाए। त्यो अवसर जुटाइदिएका थिए ओभरम्यानले।


आठौं साफ गेममा हरि खड्का सम्मिलित नेपाली राष्ट्रिय टोली ।

प्रोजेक्टले आयोजना गर्ने सानमिगेल कपको उत्कृष्ट खेलाडीले जर्मनमा करिव डेढ महिना छात्रवृत्तिमा फूटबल सिक्न पाउँथ्यो। विभिन्न देशबाट शुल्क तिरेर त्यहाँ फूटबल सिक्न आउँथे। गरीब मुलुक भएकाले नेपालले चाहिँ छात्रवृत्ति पाएको थियो। हरिभन्दा अगाडी त्यो अवसर नेपाली टीमका गोलरक्षक उपेन्द्रमान सिंह र मिडफिल्डर राजीब नेपालीले पाएका थिए।

भारतसँग सीमा जोडिएको झापाको कलबलगुडीका बासिन्दा भएकाले हरि प्राय: भारत आउजाउ त गरिरहन्थे। तर, युरोपेली मुलुक जाने अवसरले उनका उर्जा थपिएको थियो। जर्मन जानुअघि नेपाली २५० रुपैयाँमा भृकुटीमण्डपमा रातो स्ट्रीप भएको सेतो एडिडास ब्रान्डको जुत्ता किनेका थिए। त्यो समयमा १६/१७ वर्षको उमेर एडिडासको जुत्ता लगाउँदा अरुले हेर्ने दृष्टिकोण नै फरक थियो। 

हरि सम्झन्छन्, ‘त्यसबेला एडिडास ब्रान्डले नेपालसहित विश्वभर नै आफनो राज गरेको थियो, त्यसैले चाइनिज मार्केटमा ब्रान्डेड जुत्ता किनेको थिए।’ प्रशिक्षण दौरान युरोपेली युवाहरू माझ त्यो एडिडासको जुत्ता लगाउँदा हरिले निकै गर्व महसुस गरे। तर एक दिन इन्डोर प्रशिक्षण दौरान उनको त्यो जुत्ता फाट्यो।

‘निक्कै लयमा खेलिरहेको थिएँ, सबैको ध्यान मेरो जुत्तामा नै थियो, एक्कासी जुत्ता फाट्यो, रुनँ मात्र सकिन। अब यहाँ जस्तो सिलाएर लगाउने कुरा पनि भएन, मन नलागि नलागि त्यो जुत्ता गुमाउनुपर्‍यो।’ त्यसपछि उनलाई प्रशिक्षकले अर्को जुत्ताको व्यवस्था त गरिदिए, तर हरिलाई सधैँ त्यही जुत्ताको याद आइरह्यो। 

केही दिनपछि त्यहाँ सहभागी खेलाडीहरूबीच लिग गेमको आयोजना गरिएको थियो। त्यहाँ फ्रान्सका बार्थेस सर्वाधिक गोलकर्ता र हरि उत्कृष्ट खेलाडी घोषित भए। पुरस्कार स्वरुप उनलाई १८ गियर भएको माउन्टेन बाइक दिइएको थियो। जुन उनले करिव पाँच वर्ष चलाए।

शहीद स्मारक लिगमा उत्कृष्ट प्रदर्शन र अन्तराष्ट्रिय प्रतियोगितामा उल्लेखनीय योगदान दिएकोमा उपेन्द्रमान सिंहपछि उनले कार पाएका थिए। तर, अझै पनि जर्मनमा पाएको त्यो साइकललाई हरि मिस गरिरहन्छन्।

‘पहिलो पटक पाएको यादगार पुरस्कार थियो, बिर्सन सक्दिनँ। त्यो माउन्टेन बाइक हेर्न मात्र मेची क्याम्पसमा भीड लाग्ने गर्थ्यो,’ सन् १९९३ को कुरा सम्झन्छन् हरि, ‘त्यसमाथी पनि जर्मनबाट आएको भनेपछि महत्व नै बेग्लै थियो, जर्मनबाट पार्सल गरेर पठाइदिएका थिए त्यो बेला आयोजकले।’


हरि खड्कासँग भारतीय राष्ट्रिय टोलीका खेलाडी निर्मल क्षेत्री ।

ओभरम्यानसँगै झापाका ‘हिरो होन्डा’का रुपमा परिचित गणेशराज भण्डारीलाई पनि आफ्नो सफलताको गुरु मान्छन् हरि। उनै भण्डारीले सिलगढीमा फूटबल खेलेपछि प्राप्त पारिश्रमिक दामासाहीले बाँड्दा उनको भागमा परेको थियो भारतीय सात रुपैयाँ। सात रुपैयाँ पाएपछि फूटबलमा अझै लागिरहन हौसला पाएका हरि पछि सफल व्यवसायीक खेलाडी पनि बने र सफल प्रशिक्षक पनि।

हरिको अर्को बुटको किस्सा पनि रोमाञ्चक छ। राष्ट्रिय खेलाडी भएको हिसाबले उनले नेपालमा पाउने जुनसुकै ब्रान्डको फूटबल बुट किन्न सक्थे। तर, उनले सिलाएर लगाएको एउटा थोत्रो बुट लक्की सावित बन्यो। ‘मसँग एउटा बुट थियो, खेल्दा खेल्दै च्यातियो। जावलाखेलमा एकजना बुट बनाउने मान्छे थिए।’ खड्काले सम्झिए, ‘त्यो बुट मैले उनलाई मर्मत गर्न लगाएको थिएँ, त्यही बुटले मलाई धेरै महत्वपूर्ण गोलहरू गर्न सहयोग गर्‍यो। लक्की बुट थियो मेरो त्यो।’

भारत तथा बंगलादेशका विभिन्न क्लबमा आफ्नो क्षमता प्रस्तुत गरेका हरिले एक सिजन बंगलादेशको क्लबमा मासिक दुई हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाएका थिए।


बंगलादेशी क्लब ।

नेपालमा फूटबल र हरि खड्का पर्यायवाची शब्द हुन्। फूटबलबाट हरि यति प्रभावित छन् कि उनले आफ्नो छोराको नाम नै आफ्नो प्रिय फ्रेन्च खेलाडी थियरी हेनरी को नामबाट राखेका छन्। ‘मलाई मनपर्ने खेलाडी थिएरी हेनरी, अनि मेरो हरि र श्रीमतीको नाम रिनालाई जोड्दा पनि मिल्ने भएकाले हेनरी राखेको !’ छोराको नाम राख्नुको कारण उनले सुनाए।


छोरा हेनरी खड्कासँग ।

आफू फूटबल खेलाडी भएकाले छोरालाई पनि बनाउने इच्छा राखेका उनले व्यक्तिगत स्वतन्त्रतामा भने हस्तक्षेप नगरेको बताउँछन्। ‘म फूटबल खेलाडी भएकाले छोरालाई त्यस्तै बनाउने इच्छा थियो,तर उसले चाहेन,’ अहिले कलेज पढ्दै गरेको छोराको बारेमा हरिले भने। 

नेपाली महिला राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक खड्का अहिले महिला फूटबलकै डिपार्टमेन्ट प्रमुख छन्। उनको प्रशिक्षणमा नेपाली महिला टोली ४ वटा प्रतियोगिताको उपविजेता बन्न सफल भयो।


राष्ट्रिय महिला टोलीको प्रशिक्षण दौरान ।

भारतको सम्पन्न हिरो कप, बिराटनगरमा सम्पन्न पाँचौ महिला साफ च्याम्पियनसिप, र्किगिस्तानमा नायज्दा कप र पोखरामा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा महिला टीम उपबिजेता बनेको हो।

हरिकै प्रशिक्षणमा ओलम्पिक छनौटमा पनि महिला टोली दोस्रो चरणसम्म पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.