|

कञ्चनपुर : महाकाली नदीपारिको राजनीतिमा स्थानीय सरकार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्वमा छ। त्यहीँ सुदूरपश्चिम प्रदेशसभा  सदस्य सत्तारूढ नेकपाको हातमा छ। महाकाली नगरपालिकाको राजनीति  नगर प्रमुख वीरबहादुर सुनार र प्रदेशसभा सदस्य मानबहादुर सुनारले सम्हालेका छन्।

दलीय रुपमा फरक भए पनि स्थानीय तह र प्रदेशसभा सदस्य दुवै एकै सुनार परिवारका छन्। उनीहरू दुवै काका भतिजा हुन्। कांग्रेसका वीरबहादुर सुनारले महाकाली नगरपालिका हाँकिरहेका छन् भने नेकपाका मानबहादुर प्रदेशसभा सदस्य छन्।

७२ वर्षीय सुनार प्रदेश सभा सदस्य मानबहादुरभन्दा उमेरमा धेरै पछाडि छैनन्। उनी नगर प्रमुख वीर बहादुरभन्दा ८ वर्ष मात्रै कान्छा छन्। उनीहरू दुवै साक्खै काका भतिजा हुन्।

संघीय शासन व्यवस्था लागू भएपछि काका भतिजा शासन सत्ता एकसाथ नदेखिएर उनीहरू बालककालेखि एकसाथ आएका हुन्। राजनीति र व्यवसायमा सबैमा दुवैजना एकसाथ आएर यहाँसम्म पुगेका छन्।

सुदूरपश्चिम प्रदेशसभा सदस्य सुनारलाई मेयर वीरबहादुर सुनारले आफूसँगै राखेर हुर्काएका हुन्। मानबहादुर मेयरका जेठा दाइका छोरा हुन्। मान बहादुरका आमा बितेपछि मेयर वीर बहादुरले नै उनलाई हुर्काएका हुन्।

मेयरको हालको चाँदनीस्थित घरमा बस्दै आएका मानबहादुर पछि मात्रै दोधारा सरेका हुन्।

पञ्चायतदेखि नै राजनीतिमा सक्रिय

पञ्चायतदेखि राजनीतिमा सक्रिय दुवैले २०५१ सम्म एकै पार्टीमा राजनीति सुरु गरे। २०४६ मा पञ्चायत ढलेपछि उनी दुवैजना कांग्रेस राजनीतिमा लागे। २०४९ को स्थानीय निकाय निर्वाचनमा प्रदेशसभा सदस्य सुनार तत्कालीन दोधारा गाविसको अध्यक्ष निर्वाचित भए। मेयर सुनार भने चाँदनीमा अध्यक्षमा पराजित भए।

२०४९ को स्थानीय तह निर्वाचनसम्म दोधारा चाँदनीमा काका भतिजा राजनीतिक शक्ति केन्द्रका रुपमा स्थापित भइसकेका थिए।

मेयर सुनार त २०३६ देखि राजनीतिमा संलग्न भएर २०४३ मा पञ्चायत निर्वाचन लडेर प्रधानपञ्च भइ सकेका थिए। बहुदल आएपछि भने उनी २०४९ को निर्वाचनमा पछि परे। पञ्चायत निर्वाचनमा उनी ११ जनालाई पराजित गरी निर्वाचित भएका थिए।

२०५१ को मध्यावधि निर्वाचनपछि काका भतिजा दुवै राजनीतिक सम्बन्धमा चिसोपना देखिन थाल्यो। २०४९ मा दोधारा गाविस अध्यक्ष निर्वाचित सुनारले कांग्रेससँग संसदको टिकट मागे। कांग्रेसले उनलाई उनलाई टिकट नदिएर सुनार बागी उम्मेदवार भएर लडे। मानबहादुर बागी उम्मेदवार भएपछि काका भतिजा राजनीतिक रुपमा आ–आफ्नो लाइनमा उभिए।

मेयर वीरबहादुर सुनार भन्छन्, ‘उसले संसदमै लड्न खोज्यो, पार्टीले टिकट दिएन, मैले त कांग्रेसकै उम्मेवारको पछि लागे, राजनीतिक रुपमा केही अलग भए जस्तो भयौँ, पारिवारिक रुपमा त त्यस्तो सम्बन्धमा असर परेन।’

कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट नदिएर कांग्रेसका युवा नेता एनपी साउदलाई उम्मेदवार बनाएपछि मानबहादुर कांग्रेससित असन्तुष्ट भए। उनले राष्ट्रिय सभा सदस्य बनाउने माग पनि कांग्रेसले नमानेपछि उनी बागी भए। माछा चुनाव चिह्‍न लिएर उनी चुनावी मैदानमा होमिए।

०५१ मा कांग्रेससित बिग्रिएको सम्बन्ध सुधार नभएपछि प्रदेशसभा सदस्य सुनारले अन्ततः औपचारिक रुपमा कांग्रेस राजनीति छाडे। उनी तत्कालीन नेकपा माओवादी प्रवेश गरी कम्युनिष्ट राजनीतिमा होमिए। सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नै उनलाई पार्टी प्रवेश गराएका थिए।

मान बहादुर माओवादी प्रवेश गरेपछि काकासित उनको औपचारिक रुपमा राजनीतिक सम्बन्ध टुट्यो। घरायशीबाहेक उनीहरू आ–आफ्नो राजनीतिक आस्था अनुसार राजनीतिमा सक्रिय भए।

नयाँ संविधानअनुसार २०७४ मा निर्वाचन भएपछि फेरि काका भतिजा दुवै  राजनीतिक शक्ति केन्द्रमा रुपमा देखिए। फरक पार्टीबाट चुनाव लडेर पनि दुवैले आ–आफ्नो वर्चश्व कायम गरे। कांग्रेसले मेयर सुनारलाई अन्तिम अवस्थामा उम्मेदवार बनाएको थियो। सत्तारूढ नेकपाले पनि दोधारा चाँदनीको राजनीति समीकरणलाई हेरी सुनारलाई प्रदेश सभा सदस्य उम्मेदवार बनाएको थियो। उनी बाम गठबन्धनबाट उम्मेदवार भएका थिए।

‘मैले अन्तिमसम्म पनि उम्मेदवार हुँदैन भनेको थिएँ, शेर बहादुरजीले मान्नु नै भएन, कति त छोरालाई म हुँदैन भन भनेर पठाए, हुनैपर्छ भनेपछि टिकट लिए’ मेयर सुनार भन्छन्,‘ उमेरले पनि मलाई टिकट लिने मन थिएन।’

विकासका काममा एकसाथ

दुवैजना फरक पार्टीका भए पनि दोधारा चाँदनीको विकासका लागि आफूहरू मिलेर अघि बढेको मेयर बताउँछन्। ‘विचारधाराका रुपमा फरक पार्टीमा छौँ, गर्नुपर्ने त सबैले दोधारा चाँदनीको विकासका लागि नै हो, उनी भन्छन्,‘ त्यसमा हामी दुवै एक छौँ।’

दोधारा चाँदनीमा अघि सारिएको सुक्खा बन्दरगाह, महाकाली नदीमा चार लेनको पक्की पुल, नगर चक्रपथ, प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति लगायतका ठूला  योजनामा काका भतिजा एक साथ देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.