|

हेटौंडा : वि.सं. २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर १५ जना राजबन्दी भागे। तत्कालीन पञ्चायत विरुद्धमा लागेको भन्दै देशद्रोहको मुद्दा खेपेर नख्खु जेलमा परेकामध्ये एक थिए : तत्कालिन क्रान्तिकारी नेता वीरबहादुर लामा।

लामाको नाम देशैभरी चर्चित थियो, उनी सर्वहाराको मुद्दामा जहिल्यै अगाडी बढ्थे। राजनीतिक हुण्डरीबीच लामो संघर्षपूर्ण यात्रा गरेका लामाका लागि अहिले जिन्दगीको बाँकी हिस्सा निकै कष्टप्रद भइरहेको छ। 

२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका वीरबहादुरका दुवै मिर्गौलाले काम गर्न छाडेका दुई वर्ष अगाडी थाहा लागेको थियो। पूर्व सांसद रहेका तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामा यतिखेर पाटन अस्पतालको आइसीयूमा उपचाररत छन्‌।

​उनी विगत चार दिनदेखि बेहोस अवस्थामा रहेको उनकी छोरी श्रमिक लामाले बताइन्। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि लामालाई बिहीबारदेखि भेन्टिलेटरमा राखिएको छोरी श्रमिकले जानकारी दिएकी छिन्‌। पारिवारिक स्रोतका अनुसार लामाले नियमित डायलासिस गर्दै आएका थिए। तर, कोरोनाका कारण पछिल्लोपटक समयमै डायलाइसिस हुन पाएको थिएन। त्यसकारण पनि उनको स्वास्थ्य अवस्था बिग्रिएको छ।

निमोनिया र ज्वरो आएपनि कोरोना संक्रमण भए/नभएको थाहा पाउन चौथोपटक परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि मात्रै अस्पतालमा भर्ना गरिएको श्रमिकले बताइन्।

लामाले २०५६ सालमा मकवानपुर-३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका थिए। २०६२–०६३ सालको जनआन्दोलनपछि पुन:स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभा चुनावमा पराजित भएका थिए। लामा जिविसका सभापति हुँदा नै काठमाडौंलाई तराईसँग जोड्ने मकवानपुरको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो।

मकवानपुर फाखेलका स्थानीय बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र भएको विवादपछि अशोक राईको नेतृत्वमा लामासहितका नेताहरूले पार्टी छाडेका थिए।

गाउँपालिका र पार्टीको ध्यानाकर्षण

वीरबहादुर लामाको उपचारमा सहयोग गर्न बागमती प्रदेश सरकारलाई इन्द्रसरोवर गाउँपालिका र नेकपा मकवानपुरले ध्यानाकर्षण गराएको छ।

ढिलो जानकारी आएको भन्दै अध्यक्ष मुनु सिग्देलले सकेसम्म आर्थिक सहयोग जुटाउनेतर्फ पनि पार्टी लागेको बताइन्। बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति समेत रहेका माधव पौडेलको विशेष चासोमा प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने काम भइरहेको उनले जानकारी दिएकी छिन्‌। माधव पौडेल लामासँगै नख्खु जेल तोड्ने राजबन्दी हुन्।

यस्तै, इन्द्र सरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले उपचाररत लामाको उपचारमा सहयोग गर्न प्रदेश सरकारलाई चिठी लेखेर अनुरोध गरेका छन्।


नख्खु जेल तोड्न खेलेको भूमिकाबारे नख्खु जेल विद्रोह संस्मरण संगालोमा गरिएको चर्चा। तस्वीर : उपचाररत वीरबहादुर लामा । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.