|

कपिलवस्तु : नेपालमा प्राय धन कमाउन श्रीमान विदेश गएपछि त्यसै कमाइमा परिवार आश्रित हुने गर्छन्। तर कपिलवस्तु वाणगंगा नगरपालिका–२ नन्दनगरकी उषा अर्यालको हकमा भने यो अवस्था ठ्याक्कै विपरीत छ।

पति बिदेसिएपछि उनी स्वरोजगार भएकी छन्। ३ वर्षअघि कृषिमा सामान्य लगानी गरे पछि उषाको आर्थिक अवस्थामा सुधार भएको थियो। नियमित आम्दानी हुन लागेपछि उनी अहिले बिदेसिएका पतिलाई फर्काउने सुरमा छिन्। पतिले पठाएको रकमले पशुपालन व्यवसाय थालेकी उनी अहिले सक्षम भइसकिन्। व्यवसायी कृषक नै भएकी छन् उनी। 

अर्यालले तीन वर्षअघि एउटा भैँसीबाट पशुपालन व्यवसाय थालेकी थिइन्। ३ वर्षभित्र नै उनका गोठमा गाई र भैँसी गरी २८ वटा पुगिसके। डेढ लाखको लगानीबाट सुरु भएको व्यवसाय अहिले २५ लाख बढीको छ। दैनिक ७० लिटर दूध बेच्छिन् उनी।

​स्थानीय बजारमा दूधको माग बढ्दै गएपछि उनलाई दूध बिक्री गर्न कुनै समस्या छैन। सहकारीमार्फत दूध बिक्री गर्दा मासिक ७० हजार आम्दानी हुने उनी बताउँछिन्। सुरुमा एक्लै गरे पनि अहिले स्थानीय एक जना महिलालाई पनि उनले सहयोगीको रूपमा राखेका छन्। 

डेढ बिघामा घाँस लगाएकी छन्। सँगै उनले यसै वर्षदेखि १ कट्ठा जग्गामा सयपत्री फूलको खेती पनि गरेकी छन्। भन्छिन्, 'अघिल्लो वर्ष परीक्षणका लागि पाँच हजारको लगानीमा सयपत्री फूल लगाएको थिएँ, ५० हजार रुपैयाँ कमाएँ।'

मुनाफा भएपछि फूल व्यवसायतिर पनि उनको चासो बढेको छ। यस वर्ष ४५ हजारको लगानीमा गरिएको खेतीबाट करिब डेढ लाखको फूलको कारोबार गर्ने लक्ष्य उनको छ। भन्छिन्, 'यस वर्ष कोरोनाले असर गर्ने हो कि भन्ने डर लागेको थियो, तर फूल खरिद गर्ने मान्छेले फूल चाहियो भनेर सम्पर्क गरेकाले बिक्री हुने सम्भावना देखेको छु।'

विदेशको कमाइले मात्र केही नहुने उनलाई लागेको छ। अर्याल थप्छिन्, 'घर व्यवहार चलाउन ठिकै हुन्छ। म पनि खाली बसेर के गर्नु? समय कटाउने मेसो पनि भयो। सुरुमा घरमै दूध दही र घ्युको लागि भैँसी पाल्ने सोच बनाएँ, तर पछि भैँसीपालन व्यवसाय गर्ने सोच बन्दै गयो।'

विदेश गएका श्रीमानलाई स्वदेशमा नै पसिना बगाए सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिँदै स्वदेश फर्काउने सपना छिट्टै पूरा हुनेमा अर्याल ढुक्क छिन्। 

व्यवसायका लागि लिएको कर्जा दुवै जनाको आम्दानीले तिरेपछि पतिलाई स्वदेश फर्किने तयारी उनको छ। 'लकडाउनले असहज भयो अब पुससम्ममा उहाँलाई फर्काउँछु,' उनले दृढसाथ भनिन्।

सरकारको नजर नपुगेको गुनासो

गत वर्ष बाणगंगा नगरपालिकाबाट गोठ सुधारका लागि अनुदान पाएपछि भने केही उत्साहित भएकी उनी वास्तविक किसानको हकमा भने सरकारको ध्यान नपुगेको अर्यालले गुनासो छ।

'सरकारको आस गरेर मात्र हुँदैन, तर पनि सहयोगले थप जाँगर मिल्छ। श्रीमान् विदेशबाट फर्कनासाथ स्थानीयस्तरमा डेरी उद्योग सञ्चालन गर्ने तयारीमा छु,' उनले आगामी योजनासमेत सुनाइन्। उत्पादित दूधलाई आफ्नै डेरीबाट बिक्री गर्दा उपभोक्ताले समेत शुद्ध दूध पाउने उनको विश्वास छ। भन्छिन्, 'फाइदासमेत बढ्छ।

उनका पति केशव १० वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा ओमानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.