|

धनकुटा : झिलिमिलीको चाडको रुपमा चिनिने तिहार आउन केही दिन मात्र बाँकी छ। तिहारको आगमनसँगै धनकुटाका गाउँघर ढकमक्क फूलले सजिएका छन्।

दशैंलगत्तै गाउँघर फुलेको फूलहरुले गाउँघर ढकमक्क छ। अर्थात् गाउँशहर नै बेहुली झैं सिँंगारिएका छन्। घरघरमा भएका फूलबारी, बारीका कान्ला, खेतका आली, घरको आँगनमा सयपत्री फूल ढकमक्क छ। 

तिहारको लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस् या पसल, कार्यालय, व्यावसायिक स्थल सिंगार्न फूलको माग उच्च हुने गर्दछ। त्यस्तै, भाइटिकाका दिन दिदीबहीनीले आफ्ना दाजुभाइलाई टिका लगाइदिएर गलाभरिको सयपत्री र मखमलीको माला लगाइदिनुको पनि छुट्टै महत्त्व रहेको छ।

लाखौँ आम्दानी 

तिहारमा पूर्वका अधिकांश ठूला शहरमा फूलको मागलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै आएका धनकुटाका किसानले यसपटक पनि लाखौं मूल्यको फूल बिक्रीका लागि तयारी गरेका छन्। धनकुटा नगरपालिकाको १, २, ३, ४ र १० नम्बर वडामा फूलको व्यावसायिक खेती गरिन्छ। उक्त क्षेत्रका करिब १०० किसानले सयपत्री फूलको व्यावसायिक गर्दछन्।

मखमली र सयपत्रीबाट यथेष्ट आम्दानी हुने भएपछि अधिकांश किसान अहिले यसतर्फ आकर्षित भएका छन्। यहाँका किसानले धानखेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि खेतको आली, डिलमा र मकैसँगै बारीमा फूलखेती गरेका छन्। पाखो बारीमा रोपिने सयपत्रीलाई अन्य बालीजस्तै मेहनत गर्न नपर्ने भएपछि यसतर्फ किसान आकर्षित भएका हुन्।

जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ। फूल बिग्रिएन भने एक याममा प्रति रोपनी जग्गाबाट रु ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिन्छ। तर पछिल्लो समयमा किसानले धेरै उत्पादन गर्ने लोभमा विषादीको प्रयोग गर्न थालेपछि फूल उत्पादन घट्दै गएको किसानहरु बताउँछन्। पाँच वर्षदेखि सयपत्री खेती गर्दै आएकी अनिता राईले सयपत्री बिक्री गर्न बोकेर बजार धाउनु नपर्ने बताउँछिन्। व्यापारीहरु बारीमा नै आएर अग्रिम बुकिङ गर्दै रकम दिने गर्दछन्। धनकुटमा उत्पादित फूल धनकुटासहित धरान, इटहरी, विराटनगर, सप्तरी, सिरहालगायतका बजारमा पुग्ने गरेको छ।

तिहारका लागि फूलको व्यावसायिक खेती गर्दै आएका धनकुटाका किसानहरुले यस वर्ष भने सोचेजस्तो फूल उत्पादन गर्न सकेका छैनन्। कोरोना महामारीका कारणले सरकारले गरेको लकडाउनले समयमै पर्याप्त मात्रामा मल बिउ नपाएपछि उत्पादनमा कमी भएको धनकुटा नगरपालिका–३ सिप्तिङका रेशबहादुर राई बताउँछन्। विगतका वर्षहरुमा तिहारको समयमा फूल बिक्री गरेर ६ महिनाका लागि परिवारको सबै खर्च जुटाउँदै आए पनि वर्ष भने लकडाउनका कारणले समयमै मल बिउ नपाएपछि र अत्याधिक वर्षाका कारण उत्पादनमा कमी भइ एक महिनाको खर्च समेत नपुग्ने अवस्था आएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.