व्यापारी माग्छन् २२ सयमा, २८ सय पाउने आसमा पर्खिए ठूला किसान

|

सिमरा : धान रोप्ने बेला मल, बिउको ठूलो समस्या झेलेका बारा  डुमरवानामा कृषक भरतबहादुर खड्काले घरमा धान भित्र्याएको २ साता भयो। सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा बजार मूल्य  अत्यन्त कम भएपछि  उचित मूल्य पाउने आशाले खड्काले धान घरमै राखेका  छन्।

‘यसवर्ष  धानमा रोग धेरै लागेकोले  खर्चको कुनै सीमा नै रहेन, उत्पादन पनि स्वाभाविक रुपले घट्यो’ कृषक खड्काले भने ‘अहिलेको बजार मूल्यका आधारमा हाम्रो खर्च पनि नउठ्ने अवस्था भएकोले राज्यले तोकेको समर्थन मूल्य पाउने आसले हामीले धान गोदामै राखेका छौँ’ खड्का बारा डुमरवानामा ठूला कृषकहरूमध्ये पर्दछन् उनले यसवर्ष २ बिघा खेतमा उत्पादन गरेको ७० क्विटल धान बिक्रीका लागि घरमै राखेका छन्।  सरकारले यसवर्ष धानको समर्थन मूल्य मोटा धानको प्रतिक्विटल २७ सय ३५ र मसिना धानको प्रतिक्विटल २८ सय ८५ रुपयाँ निर्धारण गरेको छ भने बजारमा धानको मूल्य प्रतिक्विटल २२ देखि २३ सय मात्रै रहेको  कृषक खड्काले जनाएका छन्।

ग्रामीण भेगमा केही सीमित ठूला कृषकबाहेक अधिकांश साना किसानहरुले व्यवसायीलाई सस्तो मूल्यमा धान बिक्री गरिसकेको जितपुरसीमरा वडा नं १४ का वडाध्यक्ष रामशरण बर्तौलाले जनाएका छन्। ‘किसानहरू घरमा धान भण्डारणको व्यवस्था पनि हुँदैन, मल, बिउ, खेत जोताई सबै उधारोमा गरेका हुन्छन्, उधारो ऋण तिर्नलाई अधिकांश साना किसानहरूले सस्तोमा धान बिक्री गरिसके’वडाध्यक्ष बर्तौलाले भने।

सरकारी मूल्यमा धान खरिद गर्न कृषि सहकारी अनिच्छुक

सरकारले निर्धारण गरेको मूल्यभन्दा बजारमा धानको मूल्यमा प्रतिक्विटल ५ देखि ६ सय रुपयाँ अन्तर भएपछि कृषि सहकारीहरुले किसानको धान खरिद गर्न अनिच्छुक देखिएका छन्। बारा जिल्लामा रहेका २४ वटा कृषि सहकारीमध्ये हालसम्म कुनै सहकारीले कृषकको धान खरिद गर्ने इच्छा नराखेको  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइले जनाएको छ। ‘यो बडा गाह्रो छ,सरकारले तोकेको मूल्यमा धान खरिद गर्न हालसम्म कुनै संस्थाले चासो देखाएका छैनन्’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइका जिल्ला अध्यक्ष सुरेन्द्र यादवले भने ‘सरकारले धानको मूल्य तोके पनि कृषि सहकारीहरुले बजार मूल्यभन्दा ५/६ सय  बढी तिरेर किन्न इच्छुक छैनन्’ सरकारले धान खरिद गर्ने कृषि सहकारीहरुलाई प्रतिक्विटल १ सय १२ रुपयाँ अनुदान दिने जनाए पनि त्यो रकम अत्यन्त न्युन भएको सहकारीहरुले जनाएका छन्।

सानाकिसान कृषि सहकारी संस्था डुमरवाना सञ्चालक समिति सदस्य प्रदीप बरालले सरकारले तोकेको र बजारमा व्यापारीले खरिद गरेको मूल्यमा ठूलो अन्तर भएकोले धान खरिद अन्योल भएको बताए।

‘व्यापारिले बजारमा २२ सयमा धान किनेको छन् हामीले त्यही धान कृषकसँग २८ सय ८५ रुपयाँ प्रतिक्विटलमा किनेर कहाँ लगेर बेच्ने, व्यापारीसँग कसरी प्रतिष्पर्धा गर्ने अन्योलता भएकोले हामीले धान खरिद प्रक्रिया शुरु गरेका छैनौँ’ उनले भने।

सरकारले तोकेको मुल्यमा कृषकको धान के कसरी खरिद गर्ने भन्ने विषयमा हालसम्म सरकारी सयन्त्र तथा सो साग सम्बन्धित कार्यविधिसमेत हालसम्म बनेको छैन्। ‘सरकारी संयन्त्र बन्दा सम्म कृषको धान सबै व्यापारिको हातमा पुग्ने देखिन्छ ’ बरालले भने।

कालोबजारीमा महँगो मूल्यमा  गुणस्तरहीन रसायनिक मल र विषादी प्रयोग गर्न बाध्य भएका कृषकहरुले सरकारले  बिना अध्ययन/अनुसन्धान हचुवाको भरमा धानको मूल्य तोकेको गुनासो गरेका छन्।

यसवर्ष धानमा खैरे, फड्के कालो पोके  लगायतका रोगका कारण धानको उत्पादनसमेत घट्ने जिल्ला कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जनाएका छन्। ‘स्थानिय तहहरुबाट पूरै तथ्यांक आएको छैन् तर, यसवर्ष धानमा रोग धेरै लागेकोले उत्पादन धेरै घट्ने निश्चित छ’ यादवले भने। बारामा कुल भूभागको ५६ प्रतिशत अर्थात ६९ हजार ५ सय १६ हेक्टर कृषिभूमिमध्ये ६० हजार हेक्टरमा धान खेति हुने गर्दछ।

‘गत वर्ष बारामा ३ लाख ४० हजार मेट्रिक टन धान उत्पादन भएको थिया,यसवर्ष घट्ने निश्चित छ’ उनले भने। तराईका केही जिल्लाबाहेक उपत्यका र पहाडी जिल्लाहरुमा भारतीय  सस्तो धान,चामलले पकड जमाएको छ। उत्पादन खर्च अत्यन्तै कम लाग्ने भएकाले  व्यवसायीहरुले नेपाली कृषक धान खरिद गर्नुभन्दा भारतबट धान चामल आयात गर्न ईच्छुक हुने जितपुरसीमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सजय साहले जनाए।

‘तत्काल भारतीय धान चामल रोक्दा भोकमरी लाग्नसक्छ,सरकारले भारतीय धान चामल रोक्न नेपाली कृषकहरूलाई उत्पादनमा प्रोत्साहन गर्नुपर्‍यो’ अध्यक्ष साहले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.