भक्तपुर : तिहार नजिकिएसँगै बजारमा माटोको दियो ‘पाला’को माग दिनानुदिन बढ्दो छ। यही माग धान्न भक्तपुरका कुमाल समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ छ।
पालाको माग धान्न कुमााले परिवारका महिला तथा पुरुष मात्र होइन केटाकेटीहरु समेत पाला निर्माणको तयारीमा जुटेका छन्। यस वर्ष कोरोना भाइरसको महामारीका कारण विद्यालय नखुलेका कारण फुर्सदमा रहेका बालबालिकाहरु बुबा आमाको काममा सहयोग गरिरहेका छन्।
तिहारमा पालाको माग उच्च हुने भएपछि यतिखेर कुमालहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाँती राखेका छन्। तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ।
अहिले भक्तपुरका तालक्वका प्रजापतिहरु मात्र होइन सूर्यमढी, लिवाली, तुमुचो, च्याम्हासिंह र सूर्यविनायकका कुमालहरु अन्य भाँडा बनाउने कार्यलाई थाती राख्दै पाला बनाउने कार्यमा व्यस्त छन्। केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारीहरु बताउँछन्।
कुमालहरुले तयार भएको पाला होलसेल व्यापारीहरुलाई बिक्री गर्छन्। होलसेल व्यापारीले खुद्रा बिक्रेतालाई बिक्री गर्छन। भक्तपुरको पाला काभ्रेको बनेपा, धुलीखेल, पनौती, नुवाकोटको त्रिशुलीका साथै पोखरा, हेटौंडा, चितवनका व्यापारीहरुले पनि लिन आउने गरेको कुमालहरु बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।