|

सिमरा : बारामा वन्यजन्तुले खाद्यन्य र तरकारी बालीमा नोक्सान पुर्‍याएपछि कृषकहरुले बाली जोगाउन रातभर वन्यजन्तु लखेट्न बाध्य भएका छन्।

पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रबाट निलगाँई, घोडगाई, बँदेल, हरिण, खरायो दुस्मी लगायतका वन्यजन्तुले गहुँ, मकै र तरकारी बालीमा नोक्सान पुर्‍याएपछि कृषकहरुले रातभर वन्यजन्तु लखेट्ने गरेका छन्।

जितपुरसिमरा वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले वन्यजन्तुले हिउँदे बाली मध्ये सबैभन्दा धेरै मकै, गहुँ र तरकारीमा नोक्सान पुर्‍याएको बताए।

बाराको वन क्षेत्र चारैतिरबाट बस्तीले घेरिएको छ भने केही बस्तीहरु जंगलको बीचमा रहेका छन्। वडाध्यक्ष लामिछानेले वन र बस्ती क्षेत्र  जोडिएका कारण कलिलो घाँस, बाली खान आहारा खोज्दै वन्यजन्तुहरु  बस्ती छिर्न थालेको बताए। ‘गाँउलेहरुले बाली जोगाउन रातभर बत्ती बालेर वन्यजन्तु लखेट्ने गरेका छन्’ उनले भने  विगतमा छिटफुट रुपमा वस्ती छिर्ने वन्यजन्तुहरु पछिल्लो हुल बाधेर आउने गरेको कृषकहरुले गुनासो गरेका छन्।

वन्यजन्तुले हैरान गरेर अव त खेति गर्नै मन छैन कृषक सलिम बारा जितपुरसीमरा वडा नं २०  कञ्चनपुरका कृषक सलिम हवारीले २ बिगाहामा जग्गामा गोलभेडा, काउली खुसार्नी र भण्डा लगाएका छन्। जग्गा भाडामा लिएर लाखौँ रुपयाँ  खर्चेर तरकारी खेति गरेका सलिम वन्यजन्तुबाट तरकारी जोगाउन रातभर खेतमै बस्छन्।

‘साँझ ७/८ बजेदेखि बिहान ५ बजेसम्म हुलका हुल निलगाई आउँछ, डराई डराई रातभर एक्लै लखेट्छु’कृषक सलिमले भने, ‘एकैठाउँमा बसेपछि सबै तरकारी बाली खाइहाल्छ, रातभर कराउँदै हिँडडुल गर्छु’ खेतमै बस्न उनले सानो टहरासमेत बनाएका छन्। ‘वन्यजन्तुले हैरान गरेर अब त खेती गर्नै मन छैन, रोईरोई गरिरहेको छु।’

सबै उपाय गरियो, केही काम गरेन

कृषकहरुले रातभर वन्यजन्तु लखेट्न ठूलो ठूलो आवाजमा घन्टा बजाउने, ठाउँ-ठाउँमा फिनेलको गोली राख्ने, विषादी छर्ने, बाँस गाडेर तारसमेत लगाउने गरेका छन्। ‘सबै उपायले गर्‍यो तर केही काम गरेन बिउ,मल, विषादी सबै महँगो छ जग्गाको भाडा तिरेर तरकारी खेति गरेका छौँ वन्यजन्तुले नोक्सान पुर्यापछि ऋण कसरी तिर्ने’

सलिम जस्तै सोही टोलका अर्का कृषक सुमदिन मियाँ मन्सुरले वन्यजन्तुले काउली र लौका खाएर  हैरान बनाएको गुनासो गरेका छन्।

‘वन्यजन्तुलाई मार्यो भने प्रशासनले हामीलाई जेल हाल्छ, के गर्ने हामी दिनभर खेतमा काम गर्ने, रातभर निलगाई, बदेल धपाउने काम गर्छौ’ उनले भने। पछिल्लो समय वन्यजन्तुले बाली नोक्सान पुर्‍याएको भन्दै बाराका कृषकहरुले राष्ट्रिय निकुञ्जसँग क्षतिपूर्तिसमेत माग गरेका छन् । तर निकुञ्जले भने बाघ र चितुवा बाहेकका अन्य वन्यजन्तुले बालीमा क्षति पुर्‍याए क्षतिपूर्तिको व्यवस्था नभएको बताए।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले चितुवा र बाघ बाहेकका अन्य वन्यजन्तुको हकमा क्षतिपुर्तीको व्यवस्था नभएपनि त्यसका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

‘वन्यजन्तुले बालीमा नोक्सान पुर्याएको विषयमा क्षतिपूर्तिको लागि कृषकहरुले पनि आवाज बुलन्द बनाउनुपर्यो, हामीले पनि आफ्नो तर्फबाट निरन्तर दवाव दिन्छौ’प्रमुख संरक्षण अधिकृत साहले भने ‘बिगतमा कृषकहरुले क्षतिपूर्तिको मूल्याकंन यर्थाथपरक नगर्दा समस्या हुने गरेको थियो’।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.