सम्पूर्ण ऊर्जा, शक्ति र सामर्थ्य वादविवादमै खर्चिंदै

|

राजनैतिक बजारमा नेकपा फुटको सँघारमा रहेको र फुटको औपचारिक घोषणा गर्न मात्र गर्न बाँकी भएको चर्चाले फेरि एकपटक नेपाली राजनीति तरंगित बनेको छ।। गुटका भेला तथा बैठकहरूले तीव्रता पाउँदै गर्दा अनेक खाले आशंका र अनुमान गर्न थालिएका छन्।

के साँच्चिकै नेकपा फुट्ला त?  विवादका कारणहरु के होलान् ? नेकपाको भविष्य के होला ? यो लेख यसकै सेरोफेरोमा केन्द्रित छ।

जोगी र भैँसी बनेका अनि ओली–प्रचण्ड

यतिखेर ओली र प्रचण्ड दुबै तर्सिएको अवस्था छ, जोगी र भैँसीजस्तो। जोगीको पहिरन देखेर भैँसी तर्सिने, तर्सिएर भाग्दै गरेको भैँसी देखेर जोगी तर्सिने गरेजस्तो परिस्थिति नेकपामा सिर्जना भएको छ।

सरकारको कामबारे छिसिक्क केही भन्यो कि ओलीले आफ्नो गद्दी प्रचण्डले ताकेको ठान्छन्। प्रधानमन्त्री पद हत्याउन खोजेको रुपमा बुझ्छन्। अध्यक्ष पद खोस्न खोजेको सोचेर झस्किन्छन्। प्रचण्ड र माधवले चिया पिउँदै भलाकुसारी गरे भने पनि ओलीले षडयन्त्रका तानाबाना बुनेको ठान्छन्।

उता प्रचण्डको पनि ओलीलाई देखेर नै सातो पुत्लो उड्ने गरेको छ। प्रचण्ड आउँदो महाधिवेशनबाट अध्यक्ष बन्न पाइँदैन कि भन्ने सम्झेर विचलित हुन थालेका छन्। ओलीले आफूलाई भित्तामा पुर्‍याएकोजस्तो लागेर प्रचण्डमा छट्पटी हुने गरेको छ। प्रधानमन्त्री पद फेरि आफ्नो पोल्टामा नपर्ने देखेर प्रचण्डमा बेचैनी बढ्न थालेको छ।

ओलीले आफुलाई सडकमा ल्याउन प्रचण्डले षड्यन्त्र गरिरहेको ठानिरहेका छन् भने प्रचण्डले ओलीले संसद विघटन गर्नेछन्, पार्टी फुटाउने अध्यादेश ल्याउनेछन् भनेर तर्सेका छन्।

यहाँ ओली र प्रचण्ड दुबैलाई मनको बाघले खाएको छ। एक अर्काप्रति अविश्वास र आंशका चुलिएको छ। उनीहरु दुवै अस्थिर र गैरजिम्मेवार देखिएका छन्। जसले सिंगो पार्टी, सरकार र देशकै वर्तमान र भविष्य चौपट बन्ने दिशामा अगाडि बढेको छ।

खास पार्टी फुटाउने पात्रहरू

अकबर र बिरबलबारे अनेकन किस्सा सुन्न पाइन्छ। गाउँको माझमा एउटा मन्दिर रहेछ। मन्दिरमा देवताको शिरमा सुन लगाएको रहेछ। एकदिन त्यही सुनको ढक्कन चोरी भएछ। दरबारले सुन चोरिएको थाहा पाएर सबैतिर छानबिन गर्न लगायो। तर चोर पत्ता लागेन।

बीरबलले मन्दिर वरपरका सबैलाई दरबारमा बोलाए। अनि सबैलाई खुट्टा तेर्स्याएर बस्न लगाए। त्यहाँ सिपाहीहरूलाई तरबार लिएर उभिन लगाइएछ। सबै खुट्टा पसारेर बसेको बेला बीरबलले एक्कासि चोरको खुट्टा काट् भनेर कराएछन्। एउटाले हत्त न पत्त खुट्टा तानेछ। अनि चोर पनि पत्ता लाग्यो र सुन पनि फिर्ता आयो।

अहिले सत्ताधारी नेकपाको हाल पनि यस्तै छ। यहाँ नेकपा फुट्दैछ भनेर हल्ला चलाइएको छ। तर नेकपाका नेताहरुलाई पार्टी कसले फुटाउन लागेको हो भनेर सोध्यो भने ओली, प्रचण्ड, माधव, झलनाथ, वामदेव सबैले मैले होइन है भनेर हत्त न पत्त खुट्टा उचालिरहेका छन्।

पार्टी फुटाउने गतिविधिमा ज्यान फालेर जो लागेका छन्, तर उनीहरु साधु बन्ने कोसिस पनि गरिरहेका छन्। खासमा कसले पार्टी फुटाउन लागेको छ, कसले जुटाउन लागेको छ भनेर पहिचान गर्न कठिन भएको छ।

साँच्चिकै पार्टी फुटे कसले जोगाउला ?

एउटा नीति कथा छ, एउटा गोठालाले सधैँ कराएर बाघ आयो, बाघ आयो भन्दो रहेछ। गाउँका मान्छेहरु कुदेर लाठी, भाला, तरबार लिएर जाँदा रहेछन्। गोठालो गाउँलेलाई झुक्याउन पाएकोमा दंग पर्दो रहेछ। एक दिन साँच्चिकै बाघ आएछ। तर गोठालाले अरु दिन जस्तै मजाक गरेको होला भनेर कोही पनि सहयोग गर्न गएनन्, सबै बाख्रा बाघले खाइदिएछ।

केही समय देखि सत्तारुढ नेकपामा पनि यही श्रृङ्खला चलिरहेको छ। ओली, प्रचण्ड लगायतका नेताहरु लौ अब पार्टी फुट्न थाल्यो है भनेर हल्ला फिजाउँछन् अनि पार्टी फुट्न नदिन मान्छेहरु जुर्मुराउछन्।

दुई तिहाई नजिकको कम्युनिष्ट पार्टी फुट्नै थालेको हल्ला चल्दा दुनियाँको ध्यान भंग हुन्छ। एकता पक्षधरहरुको ओठ मुख सुक्छ। दोस्रो तहका नेताहरुको सक्रियता बढ्छ, शुभचिन्तकहरु चलमलाउन थाल्छन्। पाखा लगाइसकिएका प्रदीप नेपालहरुको पनि खोजी हुन्छ।

यसै गरी ओली प्रचण्डले झुक्याउदै जाने हो भने कुनै दिन साँच्चिकै पार्टी फुट्दा समेत जोगाउन कोही आउने छैन्। पटक पटक झुक्याएपछि भोली मध्यस्थकर्ता कोही बन्ने छैन र साँच्चिकै पार्टी फुट्नेछ।

पात्र प्रवृत्ति

पानीलाई जतिसुकै उमाले पनि केही समयपछि आफ्नो मुल स्वभावमा फर्किन्छ र चिसो हुन्छ। आफु बाहेक अरु कोही नदेख्ने ओली प्रचण्ड दुवैको मुल प्रवृत्ति हो। मोहन वैद्यहरुले छोडे, बाबुरामहरु निस्किए, विप्लवहरु बाटो लागे तर प्रचण्ड सत्ता र शक्तिको सिंहासनबाट ओर्लन परेन। अँध्यारोमा आफ्नै छायाँले पनि साथ छोड्ने बुझेका प्रचण्डले हतारहतार माओवादी केन्द्रलाई नेकपा एमालेमा विलय गराए र सुरक्षित बने।

महाधिवेशन पछिको एकल अध्यक्ष, अढाई वर्ष प्रधानमन्त्री हुने लालसामा जब ओली  बाधक बने, समस्या त्यहीबाट शुरु भयो। जब प्रधानमन्त्रीको कुर्सीमाथि प्रचण्डले धावा बोले, तब केपी ओलीले जवाफी फायर खोल्न थाले।

अष्ट्रेलियन विद्वान् आल्फ्रेट आडलरको प्रसिद्ध भनाई छ, “कुनै पनि व्यक्तिलाई सिद्धान्तका लागि लड्नुभन्दा त्यो सिद्धान्त परिपालना गर्न निकै कठिन हुन्छ।”

नेपालमा स्वतन्त्रताको लामो लडाइ लडेका प्रचण्ड र ओली समेत विधि, प्रक्रियाको परिधिभित्र रहन तयार भएका छैनन्। उनीहरुमा लोकतन्त्रको आस्था र विश्वास गुम्दै गएको छ। उनीहरुमा व्यक्तिवाद र अवसरवादको भुत सवार भएको छ।

साधु देखिने प्रतिस्पर्धा

दुई जना चोरहरूले दरबारबाट सुनको थाली चोर्ने योजना बनाएछन्। योजना अनुसार थाल चोर्न पनि सफल भएछन्। फर्किदै गर्दा रात परिसकेको थियो। दुबै चोरले कतै बास बस्ने सहमति गरेछन्।

तर उनीहरुमा एक अर्कामा शंका शुरु भएछ, एउटा सुतेको बेला अर्कोले थाल लिएर टाप कस्छ भन्ने तनाव भएछ।

पहिलो चोरले जुक्ति निकालेछ, जो सुत्छ, उसको छातीमा टन्न पानी भरिएको सुनको थाल राख्ने। दोस्रो चोरले आफु पहिले सुत्ने शर्तमा सहमति जनाएछ।

पहिले दोस्रो चोर सुतेछ। दोस्रो चोर निदाएर घुर्न थालेछ, पहिलोले यसो खल्तीमा छामेछ। हुक्काको नली साथमै रहेछ। उसले त्यो नली थालको पानीमा डुबाएछ। जब दोस्रो चोर घुर्दै जान्छ, तब पानी पाइपबाट पिउँदै जान थालेछ। त्यसपछि पहिलो चोर थाल टिपेर टाप ठोकेछ, दोस्रो चोर निदाएको निदायै भएछ।

नेकपामा पनि भएको यही हो। प्रधानमन्त्रीको कुर्सी एउटा थियो। त्यो कुर्सीमा पुग्न प्रचण्ड र ओली दुबै लालायित थिए। एक्लै बहुमत आउने थिएन। अनि पार्टी एकता नामको नाटक मञ्चन गरियो। राजनैतिक अस्थिरताले जनता निराश भएका थिए, पटकपटक सरकार बनाउने र ढाल्ने खेलले गर्दा जनता वाक्क भइसकेका थिए। जनताले पत्याए र भोट दिए।

प्रचण्ड र ओलीले प्रधानमन्त्री पद आधा-आधा कार्यकाल सम्हाल्ने तमसुक गरे। दुई वटा अध्यक्षको व्यवस्था गरियो। हरेक निर्णय सहमतिमा गर्ने भनियो, सहमतिमै नेतृत्व छनौट गर्ने भनियो। प्रचण्ड यसैमा मख्ख परे।

दुनियाँलाई बेवकुफ बनाउदै आएका प्रचण्डलाई ओलीले थाङ्नोमा सुताइदिए। प्रचण्डलाई कार्यकारी अध्यक्ष दिए जस्तो गरेर आफैँ पाँच वर्ष प्रधानमन्त्री बन्ने निर्णय गराए। जब प्रचण्ड निद्राबाट बिउँझिए, तब निहुँ खोज्न शुरु गरे। उम्केको माछो ठुलो भनेझैं प्रचण्ड अहिले प्रधानमन्त्रीको आसनमा पुग्न मरिहत्ते गरिरहेका छन्।

मोही माग्ने, ढुंग्रो लुकाउने भने जस्तै विवादको मुख्य जड भनेकै प्रधानमन्त्रीको कुर्सी हो। ओली खाइ पाइ आएको कुर्सी नगुमोस् भनेर लडिरहेका छन् भने प्रचण्ड ओलीको हातबाट कुर्सी फुत्काउन संघर्ष गरिरहेका छन्। 

अन्त्यहीन वार्ता र सिसिफसको कथा

नोबेल पुरस्कार विजेता साहित्यकार अल्बर्ट कामुद्वारा लिखित कृति द मिथ अफ सिसिफसमा सिसफसको कथा चर्चित छ। उक्त कथाका पात्र सिसिफसलाई एउटा श्राप दिइएको हुन्छ।

श्राप स्वरुप सिसिफसले एउटा ढुंगालाई बोकेर पहाडको चुचुरोमा पुर्याउँछ। त्यो ढुंगो फेरी फेदीमा खस्छ र उसले फेरी घचेट्दै टुप्पोमा पुर्याउँछ। उसले यो कष्टकर र निरर्थक कार्य हरेक दिन गरिरहन्छ।

नेकपाका नेताहरु पनि हरेक दिन यस्ता औचित्यहीन, व्यर्थ र निरर्थक कार्य गर्न विवश छन्। कहिले बालुवाटार पुग्छन्, कहिले खुमलटार र कहिले धुम्बाराहीमा पुगेर यिनै कचिङ्गलका कुरा गरेर दिन बिताउँछन्। आफ्नो सम्पुर्ण उर्जा, शक्ति र सामर्थ्य वादविवादमै खर्चिरहेका छन्

हरेक दिन उनीहरु आफ्नै सहकर्मीको उछितो काटेर समय बिताउँछन्, कहिलेकाही वार्ताको तमासा पनि देखाउँछन्। कसरी अरुलाई समाप्त पार्ने भनेर योजना बनाउँछन्, मिठा कथाहरु तयार पारेर सञ्चार माध्यमबाट छताछुल्ल बनाउँछन्। सिफिफसले जस्तै उपलब्धी विहीन कामहरु गरेर नेकपा नेताहरुको दैनिकी बितिरहेको छ।

विधिमा टेक्ने हो भने समस्याको समाधान निकै सरल र सहज छ। ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको हो भने संसदीय दलमा बहुमत पुर्याउने र अविश्वासको प्रस्ताव ल्याएर हटाउने बाटोमा जान सकिन्छ। अध्यक्षबाट हटाउन चाहेको हो भने निर्धारित समयमा नै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिन्छ।

अनन्त कालसम्म पार्टीमा विवाद राखेर पार्टी चल्न सक्दैन्। यसले कुनै उपलब्धि हासिल हुन सक्दैन। अहिलेको सन्दर्भमा सहमति नभएको खण्डमा विवाद हल गर्ने सर्वोच्च निकाय भनेका महाधिवेशन र संसदीय दल मात्र हुन्। मागेर, धम्काएर होइन, विधिसम्मत तरिकाले अवसर खोज्ने परिपाटीको विकास गर्नु नै नेकपाको एक मात्र विकल्प हो।

समस्याको जड

प्रधानमन्त्री ओलीमा सत्ता र शक्तिको अचाक्ली उन्माद छ, थामि नसक्नु अहंकार छ। प्रचण्डमा शक्तिहीन हुनु पर्दाको कुण्ठा छ, पिडा छ। सतहमा जे जस्ता कुरा आएको भएपनि प्रधानमन्त्रीको कुर्सी नै समस्याको जड हो। 

न यहाँ प्रधानमन्त्री ओलीले कार्यकारी प्रधानमन्त्रीको अधिकार प्रयोग गर्न पाएका छन्, न त प्रचण्डले नै कार्यकारी अध्यक्षको अभ्यास गर्न पाएका छन्। ओलीले पार्टी काममा भाँजो हाल्ने गरेका छन् भने प्रचण्डले सरकारका काम कारबाहीमा अत्तो थाप्ने गरेका छन्। समग्रमा दुबैले हलो अड्काएर गोरु चुट्ने काम गरेका छन्। प्रचण्ड र ओली मिल्दा किनारामा पारिएको महसुस गरेका माधव नेपाल चेपुवामा परेका छन्। उनी दुबै पक्षसँग बार्गेनिङ गरिरहेका छन्।

नेता नेपाल प्रचण्डसँग मिलेर प्रधानमन्त्री पाउन सकिन्छ कि ओलीसँग मिलेर अध्यक्ष बन्न सकिन्छ भनेर हिसाबकिताब गरेर बसेका छन्। पटकपटक धोका पाएर रन्थनिएको वामदेव गौतम यता र उता दौडिरहेका छन्।

ओली र प्रचण्ड अहिले न सकिन्छ गरि खान, न सकिन्छ मरि जानको अवस्थामा पुगेका छन्। न उनीहरु राम्रोसँग घरजम घेरेर बस्न सक्छन्, न त सम्बन्ध विच्छेद गरेर आ – आफ्नो बाटो नै लाग्न सक्छन्।

गाउँघरमा अझै पनि रप्फु भर्ने चलन छ। फेसनको दुनियाँमा च्यातिएको, प्वाल परेको, भ्वाँङ्ग देखिने ठाँउमा कहिले धागोको आडमा त कहिले कपडाको अर्को टुक्रा राखेर वस्त्रमा रप्फु भर्ने गरिन्छ।

च्यातिएको कपडामा टालो हालेर लाज ढाक्ने प्रचलन अन्त्य भएको छैन्। नेकपा नेताहरुले कपडामा टालो हालेर जतिसुकै लाज ढाक्न कोसिस गरेपनि नेपाली जनताले झगडाको विउ कुर्सी नै हो भनेर थाहा पाइसके। विधि, प्रक्रिया र पद्धतिको लडाइको जलप लगाउन खोजे पनि कोही पत्याउन तयार छैनन्। यसमा धेरै अल्मलिनु नेकपा पार्टी र नेता दुवैका लागि घातक हुनेछ।

नपचेको बहुमत

नेपालका राजनैतिक पार्टीहरूलाई पनि पटकपटक बहुमत पचेको छैन्। के कांग्रेस, के कम्युनिष्ट ! सत्ता र शक्तिको चुचुरोमा बसेर रजगज गरेका प्रचण्ड, माधव र झलनाथलाई अहिले नाम्चे बजारको फेदमा बसेर ओलीले सत्ताको रसास्वादन गरेको हेरेर थुक निल्दै बस्न निकै गाह्रो भएको छ।

फल झर्ला र खाउँला भनेर मुख मिठ्याउँदै बसेका प्रचण्डलाई ओलीले भित्तामा  पुर्‍याईदिए पछि प्रचण्डको बेचैनी ह्वात्तै बढेको छ। उनी फेरि नेपाली राजनीतिमा अस्थिरताको बीजारोपण गर्न लागिरहेका छन्। तीन थान मन्त्री र दुईवटा राजदूतको कारणलाई लिएर ओली र प्रचण्डको भान्सा अलग–अलग हुने हो भने त्यस्तो पार्टी जुट्नु भन्दा फुट्नु नै ठिक हुन्छ।

माधव कमरेडको विधि र पद्धतिको लडाइको आवरण पनि कर्णाली प्रदेशमा उदांगो भएको छ। मौका पाए कोही भन्दा कोही कम छैनन् भन्ने प्रमाणित भएको छ।

माधव कमरेडको म पदका लागि तमासा गर्ने मान्छे होइन भन्ने दावी हास्यास्पद छ। दुई ठाउँबाट पराजित हुँदा पनि प्रधानमन्त्रीको कुर्सीमा हाँसीखुसी गएकै हुन्, प्रधानमन्त्रीकै लागि तत्कालिन राजा समक्ष विन्ती पत्र हालेकै हुन्, दाम राखेर ढोगेकै हुन्। उहाँको पनि कथनी र करणीमा मेल खाएको छैन।

सौताको रिसले लोग्नेको ओछयानमा पिसाब फेर्ने प्रवृत्ति नेकपाका लागि शोभनीय हुन सक्दैन्। अत्याधिक बहुमत प्राप्त पार्टी आपसी द्वन्द्वमा अल्झेर जनताका बिचमा गरिएका वाचा बन्धनलाई अलपत्र छोड्ने हो भने भोली फेरि जनताको माझमा मत माग्ने नैतिक धरातल र साहस गुम्नेछ।

बेरोजगार नेता कार्यकर्ता, पतनको बाटोमा नेकपा

महाभारतमा भनिएको छ, ‘नश्यन्ति बहुनायक’ अर्थात् धेरै नायक भए नाश हुन्छ। गाउँघरतिर पनि एउटा उखान छ धेरै बिराला भए भने मुसा मार्दैनन्।

यतिखेर नेकपाको नेतृत्वमा सरकार छ। तीन जना प्रधानमन्त्री भइसकेका नेता छन्, सभामुख देखि राष्ट्रिय सभाका अध्यक्ष समेत नेकपाकै छन्। राष्ट्रपति, उपराष्ट्रपति पनि नेकपाबाट नै प्रतिनिधित्व गरेका व्यक्तिहरु छन्। संघीय संसदमा ताजा बहुमत छ।

छ वटा प्रदेशमा नेकपाकै एकलौटी सरकार छ। स्थानीय तहमा समेत नेकपाकै वर्चश्व छ।  ७५३ मध्य करिब ४०३ वटा स्थानीय सरकार नेकपाकै हातमा छ। दुई जना अध्यक्ष छन्, एक जना उपाध्यक्ष र एक जना महासचिव छन्। बडेमानका नेता भएको नौ सदस्यीय सचिवालय छ, चार दर्जन स्थायी सदस्य र साढे चार सयको हाराहारीमा केन्द्रीय सदस्य छन्। प्रदेश, जिल्ला देखि टोल कमिटीहरु छन्, लाखौँ सदस्यहरु पनि छन्। तर यी संरचनाहरूले काम गर्न सकेका छैनन्।

देश असामान्य अवस्थामा छ। कोराना महामारीले सिंगो विश्व आक्रान्त भएको छ। सयौँ नेपालीहरु संक्रमित भएका छन्, पन्ध्र सयको हाराहारीमा मुत्यु भइसकेको छ। मुलुकको अर्थतन्त्र चौपट अवस्थामा छ, जनताको चुल्हो बल्न छाडेको छ। नागरिकहरु उपचार पाउन नसक्ने अवस्थामा छन्, उद्योग धन्दा, व्यापार व्यवसाय जीवन र मरणको दोसाँधमा छन्। यस्तो परिस्थितिमा न त सरकारले प्रभावकारी काम गर्न सकेको छ, न त पार्टीले नै कुनै भुमिका निर्वाह गर्न सकिरहेको छ।

अन्त्यमा,

नेकपा भित्रको विवाद सिद्धान्तको होइन, नीति कार्यक्रमको होइन्, विचारको होइन्, विधि र पद्धतिको होइन्। नेकपा भित्रको लडाई केवल सत्ता र शक्तिको हो, पदको हो, अस्तित्वको हो, नेताहरुको व्यवस्थापनको हो। यो संघर्ष देश र जनताको हितको लागि गरिएको होइन, समाजको रुपान्तरणको लागि गरिएको होइन्, पार्टीको पुनर्जीवनका लागि गरिएको होइन्, निजी लाभ प्राप्तिको लागि गरिएको हो।

गौतम बुद्धले पहिचान गरेका चारवटा सत्यहरु छन्। संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःखको निवारणसम्म पुग्ने बाटो छ। नेकपा भित्रको विवादको समाधान पनि त्यति जटिल छैन्। हरेक समस्याको समाधान छ, हरेक  चुनौतीले अवसर पनि बोकेर आएको हुन्छ। निर्धारित समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीमा देखिएका समस्याहरु समाधान गर्नु नै सर्वोत्तम उपाय हो।

चाणक्यले भनेका छन्, “जीवनमा तीन मन्त्र सधैँ याद राख। आनन्दको बेला वचन नदेउ, क्रोधको बेला जवाफ नदेउ, दुखको बेला निर्णय नलेउ।” पदको भागबन्डाको कारणले भएको विवादलाई सैद्धान्तिक आवरण दिएर पार्टी फुटाउने निर्णयमा नेकपामा नेताहरु पुगेको खण्डमा यो समग्र मुलुक र कम्युनिष्ट आन्दोलनप्रति नै धोका हुनेछ। आवेगमा, आक्रोशमा नेताहरुले कुनै अप्रिय निर्णय नगरुन्, पार्टी नफुटोस्, शुभकामना !

(लेखक अधिवक्ता हुन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.