लिग सञ्चालन नहुँदा क्लबहरू चिन्तित

|

काठमाडाैं : सधैंजस्तै समय रहन्थ्यो भने अहिले क्लबहरूले मोफसलका नकआउट प्रतियोगिता खेलेर सहिद स्मारक 'ए' डिभिजनको तयारी तीव्र बनाइरहेका हुन्थे। 

तर अहिले क्लबहरू खेलाडी रिलिज गरेर बसेका छन् भने नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले पनि अगाडि बढ्ने ठोस  कार्ययोजना तयार गर्न सकेको छैन।
कोरोना कहरबीच राष्ट्रिय टिम अभ्यास सुरु गर्दै अहिले मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा छ।

अन्य केही नभए पनि राष्ट्रिय टिमलाई भने नियमित प्रशिक्षण गराउने लक्ष्यमा एन्फा छ। तर फुटबल विकासको मेरुदण्ड मानिएको लिग अन्योल भने कायमै छ।यसले दीर्घकालीन फुटबल विकासमा असर पार्ने निश्चित छ। 

बाँकी लिग सिध्याउने लक्ष्य

अखिल नेपाल फुटबल संघ एन्फाले बी र सी डिभिजनको खेल सकाएर मात्र ए डिभिजनबारे निर्णय गर्न सकिने जनाएको छ। एन्फा महासचिव इन्द्रमान तुलाधार बी डिभिजनको बाँकी खेलहरू र सी डिभिजन सिध्याएपछि मात्र ए डिभिजन कहिले हुने भन्ने निश्चित गर्न सकिने बताउँछन्।

तुलाधार भन्छन्, 'ए डिभिजन सकिएर रेलिगेसनमा पुग्ने टिमको टुंगो भएको छ। तर बी डिभिजनबाट बढुवा हुने टिम तय छैन। यस्तोमा हाम्रो तत्कालीन प्राथमिकता बी र सी डिभिजन लिग सिध्याउने हो।

तिहारलगत्तै क्लबहरूसँग बसेर लिगबारे निर्णय लिने पनि उनले जानकारी दिए। 'कोरोनाका कारण अहिले पनि जटिल छ। तर हामीले सबै स्वास्थ्य मापदण्ड अपनाएर बाँकी लिग सकाउन सकिने विषयमा क्लबसँग तिहारलगत्तै छलफल गर्दै छौं,' उनले भने। 

अहिले स्वास्थ्य मापदण्ड पूरा गर्न पनि क्लबहरूका लागि निकै खर्चिलो हुन सक्ने भएकाले क्लबसँगको छलफलपछिमात्रै थप निर्णयमा पुग्न सकिने उनी बताउँछन्। 'खेलाडीहरूको कोरोना टेस्ट, आइसोलेसन, क्वारेन्टाइनलगायत सबै व्यवस्था गर्नुपर्ने अवस्था छ। त्यसैले यी सबै खर्चका विषयमा पनि छलफल गर्नुपर्ने हुन्छ,' तुलाधर बताउँछन्। 

ए डिभिजन अनिश्चित

सरकारले औपचारिक रुपमा खेलकुद गतिविधि फुकुवा गरेको छैन। तर शून्य प्रायः रहेको घरेलु खेलकुद गतिविधि सञ्चालन गर्न दिने तयारी भने गरेको छ। दबाब बढेपछि राष्ट्रिय फुटबल टिमले भने तयारी गर्न पाएको छ।

यो बीचमा राष्ट्रिय टिमका धेरै सदस्यमा कोरोना पोजेटिभ देखियो तर पनि प्रशिक्षण भने जारी छ। तर ए डिभिजन क्लबहरू भने खेलाडी रिलिज गरेर बसेका छन्। प्रतियोगिता टुंगो नभएसम्म उनीहरूले खेलाडी अनुबन्ध गर्ने सम्भावना नरहेको मनाङ मर्स्याङ्दीका टिम म्यानेजर कुमार भट्टराई बताउँछन्।

भट्टराई लिगको अन्योलताप्रति दु:ख गरेर ल्याएका स्पोन्सरहरू र क्लबको स्थायित्वमाथि प्रश्न उठ्न सक्ने बताउँछन्। भने, 'दुख गरेर क्लबले एउटा सेट तयार गरेको हुन्छ, तर लामो समय फुटबल नहुँदा स्पोन्सर र क्लबको गतिविधिमा स्वाभाविक असर पर्छ। तर हामीले अहिले गर्न सक्ने केही छैन,' उनले अहिले खेलाडी अनुबन्धन गर्ने अवस्था नरहेको बताए।

भट्टराई थप्छन्, 'हामीले केही महत्वपूर्ण खेलाडीलाई पछि तलबबाट काटिने गरी अहिले आवश्यक आर्थिक सहयोग गरिरहेका छौं, तर खेलाडी अनुबन्धमै राखेका भने छैनौं। जुन क्लबले सक्ने अवस्था पनि छैन।'

थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशी पनि पर्ख र हेरको अवस्थामा क्लब रहेको बताउँछन्। 'हामीले अहिले लिगबारे ​केही सोचेका छैनौं। अब प्रतियोगिता हुने भएपछि खेलाडी अनुबन्धको काम हुन्छ। यस्तो अवस्थामा त खेलाडी अनुबन्धको सम्भावना रहँदैन। क्लबहरूलाई धान्न पनि मुस्किल भइरहेको छ,' जोशी बताउँछन्। 

 उनले लिगको भविष्य अन्योल हुँदा स्वाभाविक रुपमा क्लब र खेलाडीलाई मुस्किल पर्ने जोशीको पनि भनाइ छ। स्वाभाविक रुपमा कोरोना महामारीमा सबै पक्ष अहिले चुपचाप छ। हामीले मात्रै केही गर्न सक्ने अवस्था पनि छैन। तर यो अवस्था जारी रहे क्लब र खेलाडीका लागि थप मुस्किल समय आउँछ। तत्काल भने हामी पर्ख र हेरको अवस्थामै छौं।'

एन्फा महासचिव तुलाधार भने बी र सी डिभिजन सिध्याएपछि चैत अन्तिम या वैशाख सुरुमा ए डिभिजन गर्न सकिने सम्भावना रहेको बताउँछन्। तर अवस्था सहज नभएकाले बैठकपछि मात्रै के गर्ने भन्ने निर्णय हुने उनले बताए।

राष्ट्रिय टिमलाई उच्च प्राथमिकता

एन्फाले तत्काल राष्ट्रिय टिमलाई प्राथमिकतामा राखेको छ। महासचिव तुलाधर भन्छन्, 'राष्ट्रिय टिमलाई अब नियमित अभ्यास गराउने छौं। अन्तर्राष्ट्रिय प्रतियोगिता नभए पनि मैत्रीपूर्ण खेलहरू खेलाएर टिमलाई तयार गर्ने छौं।' उनले केही देशबाट काठमाडाैंमा मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आइरहेको, तर टुंगो लाग्न बाँकी रहेको बताए।

अब तिहार पछिबाट महिला राष्ट्रिय खेलाडीको प्रशिक्षण पनि सुरु गरिने उनले जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.