|

दाङ : पूर्व-पश्चिम राजमार्ग नबन्दा नुनदेखि सुनसम्म ल्याउन दाङ लगायत पहाडी जिल्लाका नागरिकहरू कोइलावास हुँदै भारतसम्म जाने गर्दथे। त्यसताका नेपालको दोस्रो भन्सार भनि चिनिएको कोइलावास नामको मात्र थियो।

पूर्व-पश्चिम राजमार्ग बनेपछि गाडी आवत जावत गर्न थाल्यो। कृष्णनगर बाँकेको जमुनाह भन्सारमा चहलपहल बढ्न थाल्यो। तर, पक्की बाटो नहुँदा कोइलावास सुनसान नै रह्यो।

नेपालबाट नेपालकै भूमिमा पुग्न पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। लमहीबाट ८० किलोमिटर टाढा रहेको कृष्णनगरबाट भारतको बाटो हुँदै कोइलावास पुग्ने गरेका नागरिकहरू अहिले लमहीबाट ४५ मिनेटमै त्यहाँ पुग्ने गर्छन्‌।

सधैँ भारतको बाटो हिँड्नुपर्ने बाध्यता भोगेका गढवा गाउँपालिका-८ कोइलावासका नागरिकको आधा दुःख पक्की सडक बनेपछि सकिएको छ। बाटो बनेपछि भारतको बाटो हिँड्नु परेको छैन।

लमही–कोइलावासको सम्बन्ध पनि नजिक बनेको गढवा गाँउपालिका-८ का वडाध्यक्ष सद्दाम सिद्धिकीले बताए। ‘सडक बनेपछि यहाँका नागरिकहरूलाई धेरै सुविधा भयो, हिजो बाटो नहुँदा भारतको बाटो हुँदै ५/६ घण्टा लगाएर गढवा र लमही पुग्‍नुपर्थ्यो। अहिले २५ मिनेटमै गढवा पुगिन्छ,’ उनले भने।

आफ्नै जिल्ला जान २/३ वटा जिल्ला घुमेर आउनुपर्ने बाध्यता सडक बनेपछि अन्त्य भएको छ। गुमनाम रहेको कोइलावासमा बाटो बनेसँगै चहलपहल पनि बढिरहेको छ। अहिले दैनिक एक हजारभन्दा बढी आन्तरिक पर्यटकहरू बाउबाजेले नुन बोक्ने ठाउँ हेर्ने आउने गरेको वडाध्यक्ष सिद्धिकी बताउँछन्‌। ‘हिजोका दिनमा यहाँका बालबालिकाहरूले गाडी आउँदा यो के हो भनी सोध्ने गर्थे, कोइलावास खण्डहरमा परिणत भएको थियो, अहिले सडक बनेपछि मुहार फेरिन लागको छ,’ सिद्धिकीले भने।

नेपाल–भारत जोड्ने लमही कोइलावास हुलाकी सडकको निर्माण कार्य सम्पन्न भएको छ। सडक बनेपछि कोइलावाससम्मको यात्रा सहज भएको हो। झण्डै ४ वर्षअघि सुरू भएको सडक निर्माण कार्य डेढ महिनाअघि सम्पन्न भयो। बाटो बनेपछि लमहीबाट कोइलावास नाकासम्मको दूरी साढे ३३ किलोमिटरमा छोट्टिएको छ।

सडक कालोपत्रे भएपछि लमहीबाट ४५ मिनेटमा कोइलावास सजिलै पुग्न सकिने भएको छ। हुलाकी सडकअन्तर्गत पर्ने गढवा बजारको मुहार समेत यही सडकका कारण फेरिएको छ। पेटी र रेलिङसहितको फराकिलो सडकले यहाँको सुन्दरता बढाएको छ।

७० करोड रुपैयाँ लागतमा सडक निर्माण कार्य सकिएको निर्माण कम्पनी कुमार कालिका जेभिका कन्ट्रयाक्ट म्यानेजर मुकेशकुमार शाहले जानकारी दिए। अहिले बाटो सरसफाइसँगै पहाडी क्षेत्रमा पुरिएका नाला निर्माण कार्य भैरहेको पनि उनले बताए। शाहका अनुसार लकडाउन र मुआब्जा विवादका कारण काममा ढिलाइ हुँदा सम्झौताभन्दा एक वर्ष ढिला काम सकिएको हो।

‘शुरूमा सर्भे गर्दा बाटो बन्छ भनेर कसैले विश्वास गरेका थिएनन्,’ उनले भने, ‘स्थानीयले धेरैबाट आश्वासन पाएपनि बाटो नबनेको र अब पनि नबन्ने बताउने गर्थे, ट्र्याकमा ढुंगैढुंगा भएको एक लेनको सडक थियो, हामीलाई काम गर्ने ठाउँसम्म पुग्न पनि ३/४ घण्टा लाग्थ्यो, गाडी बाटोमै छोडेर जानुपर्थ्यो, अहिले सडक बनेपछि सबै खुशी छन्।’ कोइलावास जान राम्रो सडक नहुँदा यसअघि भारतीय नागरिकहरू मात्र घुम्न आउने गरेका थिए। तर नेपालतर्फ सडक निर्माण सम्पन्न भएपछि देशकै विभिन्न जिल्लाका मानिसहरू हेर्न आउने गरेको समेत उनले बताए।

लमहीबाट कोइलावासको दूरी साढे ३३ किलोमिटर मात्रै हो। लमहीबाट कृष्णनगर ८० किलोमिटर टाढा पर्छ। लमहीबाट नेपालगञ्जको दूरी १२५ किलोमिटर छ। लुम्बिनी प्रदेशको स्थायी राजधानीबाट सबैभन्दा कम दूरीमा कोइलावास रहेकाले कोइलावास सडक र नाका दुवैको महत्व बढेको र यसले गर्दा व्यवसायीहरूलाई समेत फाइदा पुगेको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्यले बताए।

‘पहिले यो भन्सारलाई साविकका राप्तीवासीहरूले लाइफ लाइनका रूपमा लिएका थियौँ,’ उनले भने, ‘यहाँ भएका उत्पादन भारत पठाउने र भारतबाट आफूलाई आवश्यक पर्ने बस्तु ल्याउने गरिन्थ्यो। सडकको पहुँच नहुँदा कोइलावास भन्सार खण्डहर भएपछि सबै कुरा बन्द भयो। कृष्णनगर र रुपैडिहा भन्सार प्रयोग गर्न बाध्य भयौँ।’ अहिले पक्की सडक बनेपछि फेरी कोइलावासको भविष्य देखिन थालेको उनको भनाइ छ। दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटकहरू कोइलावास हेर्न आउने गरेको समेत उनले बताए।

पर्यटकीय क्षेत्र मात्र नभई आर्थिक हिसाबले पनि यसको महत्व उत्तिकै रहेको अध्यक्ष आचार्यले बताउँछन्‌। ‘दाङमा भएका ठूला उद्योगहरूलाई चाहिने कच्चा पदार्थहरू समेत भारतबाट यही भन्सार हुँदै ल्याउन सकिन्छ,’ उनले थपे, ‘अहिले कृष्णनगर र नेपालगन्जबाट ल्याइने गरिन्छ। दूरीको हिसाबले छोटो पर्ने भएकाले पनि अब कोइलावास भन्सार प्रयोग गर्न सकिन्छ।’ उनले यो भन्सारलाई व्यापारिक रूपमा प्रयोग गर्नु पर्ने बताए।

यो भन्सारलाई व्यापारिक रूपमा प्रयोग नगर्ने हो भने राज्यले सडकको लागि गरेको लगानीको कुनै अर्थ नहुने समेत उनको भनाई छ। कोइलावास भन्सारलाई जतिसक्दो चाँडो संचालन गर्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने जिल्लाका व्यवसायीहरू बताउँछन्‌।

​​बाउबाजेले नुन बोकेको गोरेटो भएको ठाउँमा बाटो बनेकाले हेर्न आउने गरेको पर्यटकहरू बताउँछन्‌। बाग्लुङबाट आएका जीत गुरुङले सडक निकै राम्रो बनेको बताए। ‘नेपाल कै दोस्रो भन्सारको रूपमा चिनिएको कोइलावासको अवस्था कस्तो रहेछ भनेर हेर्न आएको हुँ,’ उनले भने, ‘पहिला सडक नहुँदा यहाँ आउन सकिएको थिएन। तर अहिले सडक भएपछि आउन सहज भएको छ। कोरोनाको कारणले अहिले भारत जान बन्द रहेछ। भविष्यमा यस ठाउँले मुहार फेर्ने देखिन्छ।’

यस्तै, कोइलावासका नागरिकहरूले काम गर्न दैनिक ३/४ घण्टा हिँडेर जानुपर्ने बाध्यता रहेकोमा अब त्यो अन्त्य भएको बताएका छन्। अहिले सडक बनेपछि आधा घण्टामै आउन-जान सकिने अवस्था रहेको अब्दुल अकिन सिद्धिकीले बताए।

बाटो बनेपछि चालु आर्थिक वर्षमा १२ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ। यद्यपि, लकडाउन भएपछि कोइलावास भन्सारबाट राजश्व संकलन हुन सकेको छैन। साउन र भदौमा मासिक ५–५ हजार गरी १० हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो।

लुम्बिनी प्रदेशको राजधानी दाङमा तोकिएपछि कोइलावास भन्सारको चर्चा भारतमा पनि सुरू भएको छ। यो नाका बृहत रुपमा सञ्‍चालन गर्न नेपाल र भारत सरकार दुबैले ध्यान दिन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.