|

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका हाटमा रहेको इलाका प्रशासन कार्यालय तीन महिनादेखि बन्द रहेको छ। कर्मचारी अभाव हुँदा इलाका प्रशासनका सम्पूर्ण सेवाहरू ठप्प भएका हुन्‌। 

गत भदौमा निमित्त कार्यालय प्रमुखको सरुवा भएदेखि सम्पूर्ण सेवाहरू रोकिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। हाल हाटस्थित इलाका प्रशासन कार्यालयमा दुईजना कर्मचारी रहेका छन्। एकजना नायव सुब्बा र एकजना कार्यालय सहयोगी मात्रै कार्यरत रहेका छन्।

उक्त कार्यालयमा एकजना शाखा अधिकृत, दुईजना नायव सुब्बा, एकजना सह-लेखापाल, एकजना कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

जानकारी बिनै निमित्त प्रमुखको सरुवा गरेपछि सेवा दिन नसकिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। उनले भने, ‘प्रमुख नहुँदा निमित्तको भरमा सञ्चालनमा रहेको इलाका प्रशासनमा निमित्तको पनि सरुवा गरिँदा समस्या भएको छ।’

कर्मचारी नहुँदा सेवा लिन नसकिएको स्थानीय अनिरुद्र जोशीले जानकारी दिए। उनले भने, ‘नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीबासीहरूले सदरमुकाम धाउनु परेको छ।’ 

दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा नागरिकताको प्रमाणपत्र, सिफारिश लगायतका कामका लागि फेरी सदरमुकाम नै पुग्नुपर्ने बाध्यता भएको छ। 

वि.स. २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटक पटक कर्मचारीको अभावले सेवा प्रभावित हुँदै आएको छ। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना खुलेकाले जिल्ला प्रशासनमा हाल नेपाली नागरिकताको प्रमाणपत्र लिनेको संख्या बढ्दै गएको छ। 

इलाका प्रशासन कार्यालयमा कर्मचारीको पदपूर्तिका लागि गृहमन्त्रालयलाई पत्राचार गरेको भएपनि अहिलेसम्म कर्मचारी नआएका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । उनले भने, ‘इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव भएको विषयमा गृहमन्त्रालयमा पत्राचार गरिसकेका छौं। तर,अहिलेसम्म कर्मचारी पठाएको छैन। ’ 

साविकका एक दर्जन गाविसका झण्डै ६० हजार नागरिकका लागि २०७३ सालमा पुर्चौडीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.