प्रचण्ड कारबाही अगाडि बढाउन सक्दैनन्, ओली पार्टी विभाजनमा लान सक्दैनन्

|

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अहिले विवादका कारण संकटबाट गुज्रिरहेको छ। पछिल्लो विवादले पार्टी विभाजन नै हुने विश्लेषण गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढेको दूरी पार्टी विभाजनमा पुग्ने हो कि भन्ने चिन्ता नेकपा भित्र मात्र होइन राजनीतिक वृत्तमा देखा परेको छ । यसअघि विभाजनको खतराबाट टरेको आँकलन गरिएको नेकपा दुई महिना नपुग्दै फेरि संकट तिर धकेलिनुको कारण के हो? झण्डै दुई तिहाइको बहुमत नजिकको जनमतका साथ सत्तासिन पार्टीभित्र यस खालको किचलो किन? जनताका आशा अपेक्षा र आफुले गरेका प्रतिबद्धता भुलेर नेताहरु आफ्नो निहित स्वार्थका लागि किन यसरी विभाजित हुन्छन् ? यी र यस्तै प्रश्नको जवाफ थाहाकर्मी जगत भण्डारीले राजनीतिक विश्लेषक हरी रोकासंग खोजेका छन्।  

अहिले नेकपामा दुई अध्यक्ष बीचको मनमुटाब नै मुख्य कारणको रुपमा देखा परेको छ, दुई अध्यक्ष एकले अर्कालाई देखाइदिन्छु भन्ने दम्भबाट अघि बढेको भनिन्छ, पछिल्ला घटनाक्रमले, आफैले घाँटी जोडेर एकता गरेका ओली–दाहाल यस्तो स्थितीमा  किन पुगे ? 

घाँटी त उहाँहरुले जोडेकै हो। अहिले जोडेको घाँटीमा अहिले अलिकति असजिलो भएको छ। यसको कारण शक्ति सन्तुलन नमिलेकाले भएको हुनसक्छ। तर यसलाई अस्वाभाविक मान्नु हुदैँन किन कि यो राजनीतिमा पनि हुन्छ। ब्यापारमा पनि हुन्छ।

जसरी एउटा राजनीतिक दल हुनका लागि जस्तो प्रकारको पार्टी संरचना चाहिन्छ, त्यसो गरी नेकपा चल्न नसक्नुमा तपाईको बुझाई के छ?

लामो समयदेखि नेपाली राजनीतिमा सिद्धान्त र बिचारको खडेरी छ। सिद्धान्त र बिचारले नै राजनीतिक पार्टीहरुलाई त्याग तपस्या र बलिदान गर्न सिकाउने हो। त्यसैगरी नैतिकता र शक्तिको दुरुपयोग नगर्न सिकाउने हो। जब सिद्धान्त र बिचार हुदैन, तब राजनीतिक ब्यापार हुन पुग्छ, त्यसपछि घाटा फाइदाको हिसाब सुरु हुन्छ अहिले नेकपामा भएको यही हो। एउटाले घाटा मात्र खाइरहने अर्कोलाई फाइदा भइरहने भयो भने शक्ति सन्तुलन मिल्दैन। अहिले ओली र प्रचण्ड बीचमा देखिएको अन्तरबिरोधका कारण यही हो ।

त्यसो भए तपाईको बिचारमा अहिलेको नेकपासंग सिद्धान्त र बिचार छैन?

छैन, अहिलेको नेकपासंग सांगठनिक संरचना कस्तो बनाउने भन्ने कुनै खाका छैन। समाजलाई कहाँ लैजाने भन्ने कुनै जिम्मेवारी छैन।  त्यस्तो भइसकेपछि नाफाघाटाकै कुरा भयो नि। सिद्धान्तको जति बाक्लो लेप लगाए पनि खाली ओली सत्तामा बसेर खाने अनि प्रचण्ड बाहिरै बसेर हेर्ने भन्ने त नसुहाँउदो कुरा नै भयो भन्ने नै समस्याको जड हो ।

अहिलेको अवस्था आउनुमा पार्टी एकता गर्दा सिद्धान्त र बिचारमा एकरुपता नल्याएरै एकता गर्नु समस्याको बिउ हो भन्न सकिन्छ उसो भए?

त्यही नै हो। पुरानो हिसाबकिताबबाट कुरा गर्ने हो भने, पहिले बिचार हुनुपर्छ। बिचारले सिद्धान्त बन्ने हो। सिद्धान्तबाट कार्यक्रम बन्ने हो। अनि कार्यक्रमलाई कसरी सञ्चालन गर्ने भन्ने भएपछि पार्टी बन्ने हो र पार्टीले कार्यक्रम सञ्चालन गर्ने हो। अनि यी जम्मै कुरा नभएपछि, यसलाई ब्यवस्थित बनाएर जाने कुरा नगरेपछि यो झमेला आइपरेको हो।

तपाईले त नेकपामा बिचार र सिद्धान्त छैन भन्नुभयो तर नेपाली राजनीतिमा नजिककै इतिहासलाई हेर्ने हो भने पनि तत्कालिन माओबादी र एमालेमा पनि यस्तो समस्या त आउथ्यो नि हैन र बेलाबेलामा?

बिबाद थियो, असन्तुष्टि हुन्थ्यो। तर उनीहरु कम्तिमा यस्तो अवस्थासम्म आइपुगेका थिएनन्। उनीहरु सत्तामा त पुग्थे। तर अरुको बैशाखी टेकेर पुग्थे। तर यतिखेर बैशाखी टेकेर सरकारमा पुगेको होइन। हामी कम्युनिष्ट पार्टी हौ, बामपन्थी बिचारधाराको टेको राखेर अघि बढ्छौ भन्ने नारा राखेर चुनाब जिते। तर चुनाब जितिसके पछि बिचार, सिद्धान्त, कार्यक्रम र संस्थागत ढङ्गले सञ्चालन गर्नबाट चुके। चुक्नुको कारण कम्युनिष्ट पार्टी भनेको देखाउने दाँत मात्र थियो, चपाउने दाँत होइन, त्यसकारण अहिलेको अवस्था आइपुग्यो। 

दुई पार्टी एक हुँदादेखि नै प्रधानमन्त्री आलोपालो गर्नेदेखि मन्त्रिमण्डल, राजनीतिक, संवैधानिक नियुक्तीलगायतमा भागभण्डा गरेरै अघि बढ्ने प्रयासहरु गरियो। यीनै सहमति र सहकार्यका साथ आगामि एकता महाधिवेसनसम्म अघि वढ्नुपर्ने होइन र?

त्यो सम्भावना देखिदैन। किनभने सबभन्दा पहिले हामीले हेनुपर्ने एउटा सहमति सम्झौ। ४ जनाबीच एउटा सहमति भएको थियो प्रचण्ड ओलीसहित जर्नादन शर्मा र बिष्णु पौडेलसमेत सहभागि रहेको त्यसमा भनिएको थियो प्रधानमन्त्री आलोपालो बन्ने भनेर। त्यो त बिचबाटो मै हरायो नि। 

त्यो त अध्यक्ष प्रचण्डले आफैले ओलीलाई पाँचै बर्ष चलाउनुस भन्नुभएको हो नि?

हो हुन त तर प्रचण्डले कार्यकारी अध्यक्ष चलाउने र ओलीले प्रधानमन्त्री चलाउने भन्नेमा भएको हो। र त्यसबीचमा २–३ महिनामै पार्टी एकताको काम सिध्याउने र सबै कुराको ब्यवस्थापन गर्ने भन्ने थियो । तर ती कुनै पनि कुरा भएन, किनभने पावर ब्यालेन्सको हिसाबले तत्कालिन एमाले बलियो थियो, प्रधानमन्त्रीले ह्याकुलाले मिच्ने प्रयास गर्नुभयो होला भन्छु म त ।  किनभने कार्यकारी अध्यक्षले बैठकसमेत बोलाउन र सञ्चालन गर्न नपाएको गुनासो त सुनिएकै हो नि।

यसले के बुझिन्छ भने, उहाँ (ओली) आफ्ना कुरामा इमान्दार हुनुहुन्नथ्यो। अनि शक्तिको हिसाबकिताबले प्रधानमन्त्रीको लागि मैले ओलीसंग धेरै किचकिच गर्नुहुन्न भनेर प्रचण्डले प्रधानमन्त्री तपाइनै चलाउनुस भनेको देखिन्छ। तर पावर छाडिदिने बित्तिकै धरै कुरा छोड्नुपरेको महशुस उहाँ –प्रचण्ड)मा भयो होला। त्यसपछि तपाइ हामीलाई थाहै छ, दिनमा एकपटक वा दुइपटक उनी बालुवाटार ढुक्न जान्छन्। त्यहाँ गएर कुराकानी गर्छन्, छलफल गर्छन, के गर्छन् फर्कन्छन्। उनको दिनै पिच्छे प्रधानमन्त्री कार्यालयमा हाजिर गर्ने बाहेक केही काम गर्न सकेको देखिएन।

त्यससंगै अहिले त धेरै समस्या एकैपटक आए। त्यो भनेको अर्थतन्त्र धरासायी भएको तथ्याङ्क सार्वजनिक भयो। त्यसले आमजनताको पक्षमा सरकारले काम गरेन भन्ने प्रमाणित भयो। त्यो भनेको १० प्रतिशत बजेट घटाउनु, ७ प्रतिशतले आयआर्जन (राजश्व( घटेको तथ्य बाहिरियो। त्यसको लगत्तै कोरोना महामारी फैलियो। त्यसलाई पनि सरकारले नियन्त्रण गर्न सकेन।

त्यसमाथि झनै आर्थिक अनियमितता, भ्रष्टाचार तथा कालोबजारी बढ्यो। वाइडबडीदेखि स्वास्थ्य सामग्री खरिदमा भएका काण्डहरु भए। यस्ता कुराहरु फैलदै जादा मानिसहरुमा बितृष्णा जाग्दै गयो। त्यसले पार्टीमा लाग्नेहरु र पार्टीबाट भावि प्रधानमन्त्री हुन्छु भन्नेहरुलाई त अहिलेको सरकाले गरेको कामको प्रभाव पर्छ। अनि सरकारले त्यस्तो राम्रो काम गर्न सकने भन्ने मानिसहरुलाई लाग्न थालेपछि पार्टीलाई पनि लाग्यो। त्यसको हिसाबकिताब त पार्टीले खोज्नुपथ्र्यो। त्यो हिसाब खोज्दा पावर खोजेको जस्तो देखिएको हो। अहिलेको बिवाद यही हो ।

हिसाब खोज्दा आफ्ना मान्छेलाई मन्त्रि बनाउन खोज्ने, राजनीतिक र संवैधानिक निकायमा गरिने नियुक्तीमा पनि कोटा खोज्ने कि सरकारले गरेका गलत निर्णय सच्याउने तागत राख्ने?

तपाईंले भनेकै कुरा ठिक हो। जसले अधिकार खोज्छ, जसले यो भएन यो गर्नुपर्छ भन्छ त्यो भन्नेहरुसंग कार्यक्रम नै हुनुपर्यो। सरकारले यो कार्यक्रम गर्न सकेन बैकल्पिक कार्यक्रम यो हुन सक्छ भन्न सक्नुपर्यो। जस्तो अहिले त नयाँ कुराहरु आए। पहिलेको पुरानो कुरा त संरचनागत ढाँचामा परिर्बतन गर्नुपर्छ भन्ने कुरा थियो । त्यो न ओलीले गरे न पार्टीले झक्झकायो।

अढाइबर्षसम्म त पार्टी कानमा तेल हालेर बस्यो। प्रधानमन्त्रीले अर्थमन्त्रीले वा अरु कोहि जिम्मेवार ब्यक्तिले यो काम यसरी गर्न सकेन भनेर कार्यक्रम सहित बाहिर ल्याउन सकेन। अथवा सच्याउने प्रयास पनि गरेनन्। अहिले आउदा पनि कोरोना नियन्त्रणमा सरकारी प्रयास जसरी भइरहेको छ,बैशाखसम्म ८ जना संक्रमित थिए भने अहिले २ लाख नाघिसकेको छ। यस्तोबेला बैकल्पिकरुपमा मानिसहरुको रोजगारी दिनेलगायतका बिभिन्न कार्यक्रमहरु प्रचण्डलगायका ५ जनाले ल्याउनुपथ्र्यो। तर त्यस्ता कार्यक्रम नल्याउदा पदमा मात्र बार्गेनिङ गरेका हुन् कि भन्ने परेको हुनसक्छ।

तपाइले सचिबालयका ५ जनाको कुरा गरिहाल्नुभयो बुधबार मात्रै सर्वोच्चले राष्ट्रियसभामा मनोनित बामदेव गौतमविरुद्ध परेको रिटउपर अन्तरिम आदेश दिन नपर्ने भनेको छ, यसले नेकपाको हालको समिकरण बदल्ने सम्भावना छ हुन्छ कि हुदैन? 

बामदेब गौतमको बारेमा मेरो रिडिङ अलग्गै छ। अहिले आएर फेरी ओलीको झोलीमा पर्छन भन्ने मलाई लाग्दैन। अहिले ठुलो समस्या देखिएर उनीहरु यसरी उत्रिएका हुन। किनभने उनलाई राष्ट्रियसभामा लैजान ओलीले जति आनाकानी गरे। अथवा ओलीले यसबीचमा जुन रचनाहरु रचे, राष्ट्रियसभामा लैजानै नचाहने, लगेपनि अदालतसम्म लैजाने र यसरी अड्काउने जुन कटुतापुर्ण, अप्ठेरो र खुला रुपमा भएका आक्षेपहरु हेर्दा सरकारकै इसारामा यी सब गतिबिधि भएका हुनसक्छन भन्ने अनुमान गर्न सकिन्छ ।

यो कतै वकिलहरुलाई प्रयोग गरेर यतिसम्म गरिएको हो कि त्यसैले उनी मन्त्री हुने बाटो अदालतले खोलिदिए पनि ओली प्रधानमन्त्री हुन्जेलसम्म त्यो सम्भावना छैन भन्ने उनीहरुले राम्ररी बुझेको हुनुपर्छ।  

भनेपछि यसपटकको लडाई वार कि पारको हो ?

त्यो त क्षमतामा भर पर्छ। बहुमतमा रहेकाहरुले बारम्बार गएर अल्पमतमा रहेका प्रधानमन्त्री तथा अध्यक्षलाई बैठक बोलाउन वा बैठकमा बसिदिनुपर्यो भनेर बिन्तीभाउ चढाउनुपर्ने कमजोरी उनीहरुले देखाइरहेका छन्। सचिबालयमा, स्थायी कमिटीमा र केन्द्रिय समितीमा पनि बहुमतमा रहेकाहरुले ओलीमाथि यसरी भर पर्नुपर्ने, निबेदन हाल्नुपर्ने जुन अवस्था छ। यसले वार कि पार गर्छन भन्ने शंका छ। 

तपाइले भनेको जस्तै प्रचण्ड नेपालसमुहको बहुमत भएको भए त यसअघि नै ओलीलाई पार लगाउथे होला नि?

अहिले को कता छन्? को बिक्रि भए, त्यो त मलाई थाहा छैन। तर हिजोको समुहगत हिसाबकिताबलाई हेर्ने हो र नेताहरुकै दाबीलाई हेर्ने हो भने ओली अल्पमतमा रहेको देखिन्छ। 

 प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समुहलाई तपाइहरुले बहुमतले निर्णय गरे वा एक्सन लिए म महाएक्सन लिन्छु भन्नुभयो भनिन्छ, यसको सन्देश के हो? 

उहाँको महाएक्सन के हुन सक्छ भनेर अनुमान मात्र गर्न सकिन्छ। जुन संविधान टेकेर उहाँ प्रधानमन्त्री हुनुभएको छ, त्यही संविधान म मान्दिन भन्न यो संबिधानले दिदैन। यति भएपछि उनीसग यो भन्दा धेरै ठाउँ छ भन्ने मलाई लाग्दैन। दोस्रो कु्रा कुनै अध्यादेशमार्फत संसद विगठन गरे भने पनि एक महिनाभित्रै बहुमत–अल्पमत यही संसदबाट अनुमोदन गराउनुपर्छ। तेस्रो कुरा उनीसंग पार्टी फुटाएर जानको लागि केन्द्रिय कमिटी, संसदीय समितीमा ४० प्रतिशत पुग्दैन भन्ने आएको छ। जो उनीसंग छैन भन्ने लाग्छ मलाई। त्यो हिसाबकिताब गरेकै दिन थाहा होला। त्यसको लागि सबैतिर बहुमत हुनुपर्ने हुन्छ। त्यो प्रम ओलीको छ भन्ने मलाई लाग्दैन। त्यसैले ओलीले यो सब गर्छन भन्ने मलाई लाग्दैन। अर्को कुरा राष्ट्रपतिलाई हातमा लिएर केहि गर्न सकिन्छ भन्ने पनि मलाई लाग्दैन किनभने यसले झन अराजकता बाहेक केहि परिणाम दिन्छ भन्ने मलाई लाग्दैन। 

तपाईले भनेअनुसार नै प्रचण्ड नेपाल समुहले बहुमतकै आधारमा अघि बढ्यो भने पार्टी मात्रै विभाजन हुन्छ कि देशलाई पनि अप्ठेरो स्थितीमा लैजान्छ त?
ओलीजी जबसम्म सरकारमा रहनुहुन्छ,उहाँ त टेष्टेट भइसक्नुभयो।  मैले अघि पनि भने, उहाँ धेरै कुरामा फेलिअर भइसक्नुभएको छ। अर्थतन्त्रमा, सामाजिक सुरक्षा दिने कुरामा, स्वास्थ्य, शिक्षालगायतका सबै क्षेत्रमा उहाँ फेलिअर हुनुभयो, डेलिभरी हुने कुरा सबैमा उहाँ फेलिअर भइसक्नुभयो। उहाँ अझै पनि पदमा रहिरहनु भनेको मुलुकलाई सबभन्दा धेरै दुर्बल बनाउनु, सबैभन्दा अप्ठेरामा धकेल्नु हो र राष्ट्रिय राज्य रहिरहन नसक्ने बातावरण बनाउनु हो।

तर उहाँले हालै एउटा सार्वजनिक कार्यक्रममा यस्तो बेला मैले प्रधानमन्त्री पदबाट राजीनामा दिए देश डुब्छ भनेर भन्नुभयो, यो अभिब्यक्तिलाई कसरी हेर्नुभएको छ?

यो त तानाशाहले भन्ने कुरा भयो । उहाँ सम्पुर्ण रुपबाट असफल हुनुभएको सम्पुर्ण तथ्याङ्कले नै भनेका छन्। उहाँप्रति मेरो लिनुदिनु केहि पनि छैन। अर्को कोहि आउँदा मैले पाउनु पनि केहि छैन। तर म जस्ता धेरै मान्छेले के भन्छन् भने उहाँले जे काम गरिरहनुभएको छ। आँकडाहरुले तथ्यहरुले उहाँ गलत हुनुहुन्छ, उहाँको प्रशासन गलत छ भन्ने नै देखिन्छ । अर्थतन्त्रको हिसाबले, सामाजिक सुरक्षा, अन्तराष्ट्रिय सम्बन्ध, ब्यवहारिक वा रेस्क्यु गर्ने हिसाबले वा अहिलेको स्वास्थ्य समस्या हल गर्ने हिसाबले उहाँ फेलियर देखिनुभएको छ। यस्तो अबस्थामा पदमा रहनु भनेको पार्टी आफै पनि भासमा डुब्नु हो र मुलुकको भविष्य पनि बर्बाद हुनु हो । 

पार्टी फुटिहाल्यो भने त्यसपछिको अवस्था के हुन्छ?

पार्टी त विभाजन हुने होइन। ओली चोइटिएर जाने मात्र हुन्। प्रधानमन्त्रीसंग पार्टी फुटाएर जाने तागत                देखिदैन। हामीले त एमालेबाट माले भएको पनि देखेकै हौ नि। ४० प्रतिशत पु¥याएर संसद च्योइट्याएर जादा पनि माले टिक्न सकेन। ओलीको हालत पनि त्यही हुने वाला छ। जब उहाँ छुट्टिएर जाने हो भने, प्रधानमन्त्री पनि बाँकी रहदैन पार्टी पनि बाँकी रहदैन। यस्तो अबस्थामा आँट नगर्ने र चोइटिएर गइहाल्छन् भन्ने चिन्ता मात्र गरिरहने हो भने नेकपा कहि पनि पुग्दैन।

त्यसले पार्टी तर एउटा स्थितीमा पुग्ला तर राज्यलाई केहि नोक्सानी हुन्छ कि कोरोना जस्तो महामारीका बेला सरकार परिबर्तनसम्मको गतिविधिले?

त्यसले नयाँ नेतृत्व निर्माण गर्नको लागि वा अति जिर्ण भएका यो मुलुकलाई चिन्न नसकेका र यो मुलुकले धान्न नसकेका मान्छेहरुबाट मुक्ति प्राप्त हुन्छ भन्छु म त। हानी हुदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.