|

बैतडी : दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएका नौ जनाको शव आफन्तलाई बुझाइएको छ। दुर्घटनामा बैतडीका तीन, दार्चुला,कञ्चनपुर र कैलालीका दुई/दुई जनाको ज्यान गएको थियो। 

शुक्रबार साँझ पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

बिहीबार राती भएको यात्रुबाहक बस दुर्घटनामा बैतडीको दोगडाकेदार‍-६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार-६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका-४ का तर्कराज गिरीको मृत्यु भएको थियो।

यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका-४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका-१८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको थियो। मृतक सबैको शव आफन्तलाई बुझाइएको हो।

सो दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनाको धनगढी र २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको थियो।

साहुसमेत रहेका चालक वीरेन्द्र कार्की घाइते रहेकाले दुर्घटनाको कारण अझै खुल्न नसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.