समयसँगै चाडवाड पनि व्यावसायिक बन्दै गए

|

काठमाडौं : रंगीचंगी प्रकाशको पर्व हो तिहार। दशैंको उमंग जस्तै तिहार पनि मेरा लागि उस्तै उमंग लाग्ने चाड हो। दाजुभाइ तथा दिदीबैहिनीको आत्मिक र सुमधुर सम्बन्धको प्रतीक पनि तिहार नै हो भन्ने परम्परागत मान्यता र महत्व छ। जिन्दगीको भागदौडमा बालापन जस्तै उस्तै उमंग विस्तारै सेलाउँदै जाने रहेछ। यद्यपि, जब तिहार आउँछ, मन उडेर उही बालापनकै रमाइलो सम्झन पुग्छ।

 जब तिहार आउँछ, सिन्धुपाल्चोकको जमेरी गाउँमा रातभर देउसी भैलो खेलेको याद उर्लेर आउँछ। पालामा बल्ने बत्तीले हामी उज्यालिन्थ्यौँ। बत्तीले झलमल मलाई मेरो घर कुनै दरबारभन्दा कम लाग्दैनथ्यो। रंग र प्रकाशको पर्व तिहारमा देउसी अर्को रमाइलो पाटो हो। अचेल पनि कलाकारहरू मिलेर देउसी भैलो खेलिन्छ। यो कुनै समाजसेवाका लागि केन्द्रित हुन्छ।

विशेष गरेर दशैंको उल्लास नसकिँदै तिहार हाम्रो आँगनमा आइपुग्छ। मखमलीका फूलले परैबाट आफूलाई स्वागत गर्न तयार रहन्छ। काठमाडौं बसाइपछि गाउँको याद आए पनि समय र परिस्थितिले सधैँझैँ चाड पर्व गाउँमा मान्न पनि पाइँदैन। पहिले पहिले त झन चाडपर्व आउँदा स्टेज प्रोग्रामले आफ्ना चाडहरू खल्लो हुन्थ्यो। दुनियाँ हसाउन हिँडेको मान्छे आफूभित्र एक किसिमको परिवारको न्यास्रो लाग्ने गर्थ्यो। यसपालि कोरोनाले गर्दा बाहिर जाने माहोल छैन।

उस्तै परे आफ्नै गाउँ जाने माहोल पनि छैन। अहिले काठमाडौंमा नै तिहार मानिएला। यद्यपि, जामिरेमा 'साइकलको घन्टी, ढिलो भयो अन्टी' भन्दै देउसी खेलेका ती दिन साच्चै बहुमूल्य लाग्छन्। बालापनताका हामीले देउसी खेल्ने भन्ने नै हुँदैनथ्यो। बुबा, अंकलहरूको समूहमा मिस्सिएर देउसी खेले पनि त्यो आफ्नो लागि रोचक हुँदैनथ्यो। जब म ९ कक्षातिर पढ्न लागेँ, तब बुबाहरू देउसी खेल्न छोड्नुभयो।

हाम्रो पालो सुरु भयो। देउसीमा भट्नेयाउने म हुन्थेँ। गाउँले यसले राम्रो भट्याउँछ भन्दै फुर्क्याउथे। फुर्किंदै र मच्चिँदै भाका हालेर देउँसी खेलिन्थ्यो। अहिले दिनमा पनि देउसी खेलिन्छ। हामी भने भाइटीकाको दिन बेशीदेखि माथि लेकसम्मका घरमा रातको समयमा देउसी खेलिन्थ्यो।

रातभर चिच्याउँदा भोलिपल्ट स्वर सुकेर अर्को आपत। तर, स्वर सुके पनि पैसा पाउँदा आउने खुसी कुनै अडिटरले हिसाब निकाल्न सक्ला जस्तो मलाई लाग्दैन। रातमा देउसी खेल्न जाँदा कति घरका मान्छे उठ्दै नउठ्ने। हामी दक्षिणा नलिई अर्को घर नजाने। चिच्याएर पनि दक्षिणा झार्ने हाम्रो काम हुन्थ्यो। कतिपयका घरमा थोरै पैसा दिए भने आमा, बुबा, दाइ, भाउजूको प्रशंसा गर्थ्यौं।

उनीहरू त्यो प्रशंसामा चिप्लन्थे। दक्षिणा दिन्थे। जति दक्षिणा झर्थ्यो। हाम्रो आवाज झन् बढ्दै जान्थ्यो। देउसीमा पैसाको हिसाब राख्नलाई कलम र कापी साथमा नहुने कुरा भएन। पैसा गन्दा तलमाथि भएको खण्डमा भोलिपल्ट हुने हाम्रो तमाशा सम्झन लायकको हुन्थ्यो। ती पल आज सम्झँदा खुबै आनन्द र रमाइलो लाग्छ। त्यो बेला रमाइलो के हुन्थ्यो भने भट्ट्याउनेलाई देउसीमा उठेको पैसा बाड्दा केही बढी पाइन्थ्यो। त्यो पैसा पाउँदा समूहमा आफू भयंकर धनी महसुस पनि हुने गर्थ्यो।

अर्को रमाइलो पक्ष के हो भने दशैंमा हामी छोराहरुलाई खास्सै दक्षिणा दिँदैनथे। यसकारण मामाघर पैसा कमाउने मुख्य केन्द्र थियो। म मामाघर दौडन्थें। दक्षिणास्वरूप कमाएको केही रकम तिहारका लागि सुरक्षित राख्थें। तिहारमा पटका पड्काउनका लागि पैसा सुरक्षित राख्नु आवश्यक थियो।

पटका किन्नलाई घरमा पैसा दिन्छन् भन्ने कुरा कल्पना बाहिरको थियो।। म दशैंमा सुरक्षित राखेको पैसा पटका किन्न खर्च गर्थें। [पटका पडकाउनु राम्रो काम होइन] हाम्रा ग्रुपका कयौं साथीले पटका कहाँ बाट ल्याउँथे थाहा छैन। हामी पटका पनि बढो फारु गरेर पड्काउथ्यौँ। ती दिन अविस्मरणीय छन्।

 विस्तारै हाम्रा मौलिक चाडबाडको महत्व हट्दै गएको अनुभव हुन्छ। चाडबाड पनि व्यावसायिक हुँदै गए। समयसँगै ती चाडबाडको महत्व घट्दै गएको हो कि भन्ने महसुस भएको छ। सायद उमेरको बदलावले यस्तो पनि भयो होला। तर, अहिलेका बच्चाहरूमा पहिलेका बच्चाहरुमा जस्तो चाडबाडलाई लिएर उत्साहित भएको देखिँदैन। जे जस्तो भए पनि चाडबाड आउँदा हाम्रा मनका क्यानभासहरू खुसीले रंगिन्थे। अझै पनि रंगिन्छन्।

नेपालसँग गरिएको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.