देवकोटासँग सिकेको र पढेको पहिलो पाठको सम्झना

|

मथुरा श्रेष्ठ 

२००५ सालको कुरा जस्तो लाग्छ मलाई। दरबार हाई स्कुलमा फिफ्ट् क्लासमा (त्यो बेला क्लास उल्टो बाट गनिन्थ्यो। १० क्लास लाई फस्ट, ९ लाई सेकेण्ड र यस्तै) पढ्थ्यौं।

हरेक शुक्रबार एक्ट्राक्युरिकुलम सेसन भनी छुट्याएको भए पनि कहिल्यै आयोजना गरिँदैन थियो। म र मेरो भाइ, द्वारिका सेकेण्ड क्लास भइरहेको यस्तै सेसनमा सहभागी हुन जान्थ्यौं। तर, जुनियर भनेर  हामीलाई छिर्न पाइने सम्भावना भने कम हुने गर्थ्यो।

हामी मर्माहत हुन्थ्यौं। त्यसपश्चात् हामीले नेपाली पढाउने गुरुसँग हाम्रो क्लासमा पनि त्यस्तै कार्यक्रम चलाउन आग्रह गर्यौं। पहिला वादविवादको सेसनमा कसैले भाग नलिने भएर खाली छाडने गरेको रहेछ। क्लासका सहभागीको संख्या हुने हो भने क्लास संचालन हुन सक्ने भन्दै हामीले सहभागी व्यक्ती बढाउन जिम्मा हामी दुई भाइलाई नै दिने निर्णय भयो।

 क्लासका सबै सहपाठीहरूसँग हामीलाई सिनियर क्लासमा हुने कार्यक्रममा छिर्न नदिएको कुरा राख्यौं। हामी पनि  हाम्रो क्लासमा सेसन सुरु गर्न सकिने यसका लागि कोही पनि विद्यार्थी क्लास नछोड्ने सहमती भयो। त्यस पश्चात् गुरुसँग संयोजन गरि गुरुले तय गरेको विषयमा कहिले वादविवाद, कहिले कविता वाचन गोष्ठी, कहिले निबन्ध प्रतियोगिता, कहिले कथा लेखी वाचन गर्ने प्रतियोगिता आदि आदि सुरु गरियो।

 स्काउट माष्टर नीरमर्दन बस्नेतले हामीलाई कसरी आयोजना गर्ने र व्यवस्थापन गर्ने भनी निक्कै चासो दिएर मदत गर्नुभयो। यो हामीलाई सहज हुने विषय थियो। गुरु बाहेक हाम्रा क्लासको सेसनमा बस्नेत पनि आएर बस्नुहुन्थ्यो। हाम्रा लागि यो हौसलाको विषय हुन्थ्यो।

विस्तारै उपस्थिति फेरि पातलिँदै गयो। यो हाम्रा लागि सेसन चलाउन थप अन्योल पर्दै गयो। बस्नेत साहेबले एउटा नाम चलेको कवि बा लेखक को प्रवचन आयोजना गर्न सकियो भने सेसन पुन संचालन हुन सहज हुने उपाय दिनु भयो। त्यो बेला राणा शाषण भए पनि हामी मध्ये केही कुनाटोलबासी बासुदेवानन्द वैद्य, विद्याहर्ष बज्राचार्य र असन निवासी गौरी भक्त प्रधानसँग गोप्य रुपमा मार्क्सवादी दर्शन र राजनीति शिक्षा पनि लिने गरेकोले हामीले विषय तोक्यौं। विषय थियो, 'मानव विकाश र भाषा, साहित्य र सभ्यताको विकास' र प्रवचन दिन लक्ष्मीप्रसाद देवकोटा छान्यौं।

क्लास टिचर गुरु र नीरमर्दन साहेब पनि विषय वस्तु र लक्ष्मीप्रसाद देवकोटा छानेकोमा खुसी नहुने कुरै भएन।

 नीरमर्दनले सभ्यताको विकासको सट्टा समाजको उत्थान बनाउने सल्लाह दिनु भो। विषय वस्तुबारे देवकोटासँग छलफल गरि निधो गर्नु भन्नू भयो।  नीरमर्दनले यो पनि भन्नू भो कि तेत्रो ठूलो कवि बलोउँदा पारिश्रमिक दिने व्यवस्था स्कूलमा नभएकोले कम से कम क्लासमा प्रवचनपछि  खुवाउने व्यवस्था गर्न जरुरी छ। क्लासमा छलफल गर्दा सबैले ४\४ पैसा सहयोग गर्ने निर्णय भयो। (जुन् आधी भन्दा बढी साथीले दिन्छु भने पनि कहिलै दिनुभएन)।

जब आफैँले लेखेको निम्ता पत्र लिई देवकोटाजीलाई चिन्ने र घर पनि थाहा पाउने सहपाठी केशर अर्याल जी सँग देवकोटाको घर जाने कुरा भयो। अर्याल जी पनि खुशी नहुने कुरा भएन्। हामीले देवकोटासँग क्लासमा आएर प्रवचन दिन आग्रह गर्‍यौं। देवकोटाले हाम्रो कुरा सुनेपछि भन्नुभयो, 'बाबुहरूले चुनेको विषय अत्यन्तै घत लागेकोले म जरुर स्विकार गर्छु।'

आश्विन महिनाको शुक्रबार देवकोटाको प्रवचनको आयोजना गरियो। देवकोटा आफैँ पनि यति मग्न भई प्रस्तुति गर्नु भएको थियो  कि मानैौँ उहाँ आफैँलाई आफ्नो प्रस्तुतिसँग एकाकार हुनुभएको थियो। उहाँले दिएको प्रवचनको केही वाक्यको केही अंश अहिले पनि बिर्सेको छैन मैले।

उहाँले दिएको प्रवचनको केही अंश यस्तो थियो-

'पहिला मान्छे एक दुई उच्चारण गर्नबाहेक बोल्न जान्दैन थिए। उँ, आं उच्चारण गरी इसारै इसाराले काम चलाउँथे। पछी प्रकृतिसँग संघर्ष र गर्दा गर्दै बोल्न सिके। जस्तै जब पानी पर्छ पानी पर्दा पट् पट् आवाज सुन्दै नक्कल गर्दै प,प, पा, पा भन्दै पानी भन्न सिके। तेस्तै प्रकृतिमा सुन्दरीजलका जस्तै  धेरै झरनासँग साक्षात्कार गर्नु पर्थ्यो, आदिम मानवले। झरनाको आवाज झर् झर् नक्कल गर्दै झरना भन्न सिके। जङ्गलमा पहिले आगो पनि लाग्ने र आगोले पोल्दा आत्थु भन्न जाने र आगो शब्द निकाले। जब हावा हुरी र आंधी आए तिनिहरूले निकाल्ने र मान्छेले सुने अनुसार नक्कल गर्दा गर्दै हावा चलेको बाट ह.. ह.. ह.. सिक्दै हावा, र हावाको गति तेज भएर हुरी हु हु गर्दा हुरी भन्न सिके। अझ तेजले चल्दा आउने आं आं आवाज नक्कल गर्दा गर्दै आँधी शब्द उच्चारण गर्न जाने।

एवं रीतले बोली बोल्ने किसिम र दायरा बिस्तृत र फराकिलो हुँदै गए। मानिसले एकापस त्यही उपयोग गर्ने र त्यही नै बुझ्न मेत गरे। बोलीका समूह र प्रकार सबैले एकै किसिमले बोल्ने र बुझ्ने गर्दा गर्दा भाषाको विकास भयो र मानव विकासले छलाङ्ग लगाउँदै गर्‍यो। आपसमा अन्तक्रिया गर्दै, सहकार्य गर्दै काम गराईमा सामन्जस्यता ल्याउन जानी मानव जनावर भन्दा धेरै माथी पुग्न सफल भए। प्रकृति र प्रकृतिका घटना नियमलाई झन झन बुझन थाले। 

मानव भाषाको कारण शक्तिशाली हुँदै आए। यही विकासको क्रममा मानिसले आफ्ना सुझबुझ, ज्ञान, भावना र कल्पनाका आयाम हरू बढाउँदै आफुले बोल्ने भाषालाई निश्चित, भरपर्दो र सबैले त्यहि किसिमले बोल्ने र बुझ्ने गरि व्याकरणीकृत, र सुसंस्कृत गर्दै लान सिके।  तदनुरुप प्रयोग गर्दै लगे।

आदिमकालमा मानवले सिक्दै प्रयोग गर्दै पहिले चट्टानहरूमा पेण्टिङ्ग गरि चित्र बनाउँदै आधुनिक चित्रकलाको विकास गरे जस्तै। यसरी भाषालाई व्यवहार, कल्पना र भाबनाले विभिन्न किसिमले प्रयोग र परिष्कृत गर्दै गद्य, पद्य वा कबिता, गीत र गीत सँगसँगै संगित र अनेकन बिदाका विकास सँगसँगै साहित्यको विकास हुँदै आयो।

वाद्य बादन र कला पनि सँगसँगै विकास भए। साहित्य सँगसँगै मानिस को बढ्दो आयु, जनसंख्या, समूह समूहमा र समूहभित्र पनि एकापसमा हुने द्वन्द्व, अन्तरद्वन्द्वलाई झगडा, युद्ध र घात अन्तर्घात गर्दै बचाउको लागि आ-आफ्ना नीति नियम बाँधेर समाज र पछि कबिला बन्दै राज्य बने।

राज्यहरू पछि विभिन्न किसिमको राष्ट्र, साम्राज्य आदि बन्दै अहिलेको विश्व का विभिन्न संस्कृति, सभ्यता बन्दै गए। समाजको गति र समाज भित्र बाहिरको बनोट गतिशील परिवर्तनशील भएकोले मानव विकास र मानव समाज निरन्तर परिवर्तनशील र विकसित हुँदै जाने प्रकृया हो। आदि आदि।'

मथुरा श्रेष्ठ

प्रवचन टुङ्ग्याएपछि विद्यार्थीहरूलाई नबुझेको वा थप जान्न प्रश्न सोध्ने कार्यक्रम सुरु भयो। दोहोर्‍याएर विद्यार्थीलाई आग्रह गर्दा पनि गुरु र नीरमर्दन माष्टरसाहेबले पश्न गरभन्दा पनि कोही बोल्ने हिम्मत गरेनन्। म पनि सोध्न डराई रहे पनि केही त सोध्ने हिम्मत गरें। 'कवि बन्न के गर्नुपर्छ?' मेरो प्रश्नमा देवकोटाले भन्नू भो, 'कवि बन्न प्रथम त आफूले भावना र कल्पनाको निस्फिक्री छाडेर साधना गर्नुका साथसाथै प्रकृति, समाज र आफ्नै मन, मस्तिष्क र आत्माभित्र गई, जान सकी र अझ सके पूरा आत्मसात वा समाहित भई सिर्जना गर्न प्रकृति, मानव र समाजसँग भिजेर अन्तरक्रिया गर्न सक्नुपर्छ।

चाहे भने तपाईं हामी सबै कवि बन्न सक्छ। यो हुने वा उ नहुने केही बन्देज वा मापन हुँदैन। जन्मैले कवि बन्छ भन्ने कुरा मलाई लाग्दैन। तर जे मा पनि पोख्त हुन लगाव र कृयाशील भइरहनुपर्छ। यो प्राकृतिक नियम हो। कवि बन्ने प्रकृया त्यही नै हो। कवि बन्न लगनशील भई प्रकृति लगायत सबै विधामा क्रियाअन्तर्गत  गर्दै भावना र कल्पनाले परिष्कृत गर्न प्रयत्नशील हुनु पर्छ।  त्याग र तपस्या पनि गर्नु पर्ने हुन्छ। परे साधनाको लागि दुख कष्ट खुसी खिसी बेहोर्न तयार हुनुपर्छ।

प्रवचनपछि भोटाहिटी तिरको ढोका अगाडिको मिठाई पसलमा कविज्यूलाई खाजाको व्यवस्था गरेका थियौं। उहाँ लगनशील भएर लाग्न जरुरी छ भन्ने भनाइ हामी दुइभाईका लागि जीवन भरको लागि सिकेको पहिलो पाठ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.