|

म्याग्दी : मध्य शरद ऋतुको याम। सयपत्री र मखमली फूलको बहारलाई नियाल्दै घोडेपानी, पुनहिल, टोड्के, झाँक्रीपानी लगायतका स्थानबाट हात फैलाउँदा हिमाल नै पो छुन सकिन्छ कि जस्तो आभाष हुन्छ। म्याग्दीका पर्यटकीय स्थलहरूबाट देखिने हिमालहरू अहिले शारदीय मुस्कानसहित पर्यटकहरूको प्रतिक्षामा ठडिएजस्ता देखिन्छन्‌।

​बाटोमा पदयात्री, गाडी, घोडा र खच्चडहरूको ठेलमठेल ! खुलेको नीलो आकाशमा टल्किरहेका सेता हिमाल ! क्यामरा तेर्स्याइरहेका विदेशी पर्यटक ! उत्तरी म्याग्दीको जुनसुकै ठाउँबाट माथितिर उक्लँदा घोडेपानी नपुगुन्जेलसम्म देखिने दृश्य यस्तै हुन्थे। यसपटक पनि हिमाल टल्किएका छन्। तर, हेरिदिने पर्यटक नहुँदा हिमाली मुस्कान त्यत्तिकै खेर गइरहेको छ।

कोभिड–१९ को महामारीका कारण विश्वप्रशिद्ध अन्नपूर्ण पदमार्ग लगायतका अन्य पर्यटकीय स्थलहरूमा विदेशी पर्यटकहरू आएनन्। बरु आन्तरिक पर्यटक (जिल्लावासी)हरूले पर्यटकीय स्थललाई शुन्य हुन दिएका छैनन्।

यसअघि वर्षमा दुई सिजन : चैत र वैशाख तथा असोज र कात्तिकमा यहाँका होटल व्यवसायीलाई भ्याइनभ्याइ हुन्थ्यो। विदेशी पर्यटकका कारण नेपालीलाई बास पाउनै मुस्किल पर्दथ्यो। पथ प्रदर्शकहरूको आम्दानी हुने समय पनि यही थियो। भरिया र घोडा व्यवसायी पनि व्यस्त हुन्थे। तर, यी सबै चर्या यसपटक रोकिए।

यसपटक हिमाल हेर्न मौसम साह्रै राम्रो भएको पर्यटन व्यवसायीहरूको भनाई छ। ‘मौसम खुल्यो, तर हिमाल हेर्न कोही विदेशी आइ पुगेनन्,' होटल याकका संचालक तथा पर्यटन व्यवसायी ताराप्रसाद आचार्य (बाबुराम) भन्छन्।

प्राकृतिक सम्पदा, भौगोलिक विविधता, साँस्कृतिक विचित्रता र हिमाली सुन्दरताका कारण म्याग्दी जिल्ला पर्यटकीय जिल्लाका रुपमा चर्चित छ। प्रकृतिले सिँगारेको म्याग्दी जिल्लामा विश्वकै सातौं अग्लो धौलागिरि, अन्नपूर्ण हिमालका साथै निलगिरि, गुर्जा, पुथा, चुरेन, मानामाथी लगायत साना ठूला गरी दुई दर्जन बढी हिमालहरू रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.