|

काठमाडा‌ैं : दक्षिण अमेरिकी राष्ट्रबाट विश्वकप २०२२ छनोटअन्तगर्त आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई इक्वेडरले आधा दर्जन गोल गरेको छ। ८० मिनेटमा गोन्जालो प्लाटा रेड कार्ड खाँदै मैदान बाहिरिँदा पनि इक्वेडरले घरेलु मैदानमा ६–१ को शानदार जित निकालेको हो।  

उसका लागि ६ जनाले नै गोल गरेका थिए। इक्वेडरका रोबर्ड अर्बोलेडाले खेलको सातौं मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसको २ मिनेटमै एन्जेल मेनाले गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए। त्यस्तै मिचेल स्टर्डाले खेलको ३२ औं मिनेटमा र जाभियर एरेजाले ३९ औं मिनेटमा गोल गर्दै इक्वेडरलाई ४–० को बलियो अवस्थामा राखेका थिए। 

तर कोलम्बियाका जेम्स रोड्रिग्वेजले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै गोल अन्तर कम गर्ने प्रयास गरेका थिए। पहिलो हाफमा ४–१ को लज्जास्पद अवस्था भोगेको कोलम्बियाले दोस्रो हाफमा थप दुई गोल खाएको थियो। ७८ मिनेटमा प्लाटाले गोल गर्दा इक्वेडर ५–१ को बलियो अवस्थामा छँदै थियो। निर्धारित समयपछि थपिएको पहिलो मिनेटमै पेरभिस इस्तुपिनाले थप एक गोल गरेपछि कोलम्बियाा फराकिलो गोलअन्तर सहितको हार बेहोर्न बाध्य भयो। ​इक्वेडरसामु निकै कमजोर प्रदर्शन गरेको कोल्म्बियाले इक्वेडरको पोस्टमा  केवल २ सट प्रहार गरेको थियो। 

त्यस्तै आज बिहान भएको आआफ्नो खेलमा ब्राजिल र अर्जेन्टिनाले पनि सहज जित निकालेका छन्। पेरुको घरेलु मैदानमा अर्जेन्टिनाले २–० को जित निकाल्न सफल भयो भने ब्राजिलले उरुग्वेलाई उसकै मैदानमा समान २–० ले नै हराउन सफल भयो। 

अर्जेन्टिनाको जितमा निकोलस गोन्जालेसले १७ औं मिनेटमा गोलको खाता खोलेका थिए भने लौटेरो मार्टिनेजले २८ औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा लिएको २–० को अग्रताले नै अर्जेन्टिना विजयी भयो। 

पिएसजीबाट हालै म्यानचेस्टर युनाइटेड पुगेका स्ट्राइकर इडिसन काभानीले ७१ औं मिनेटमा रेड कार्ड खाए पनि त्यसअघि नै २–० ले पछि परेको उरुग्वेले ब्राजिलसँग घरेलु मैदानमा हार बेहोरेको हो। आर्थुर मेलोले ३४ र रिचार्जलेसनले ४५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई जित दिलाए। दोस्रो हाफमा दुवै पक्षबाट गोल गर्ने केही अवसर सिर्जना भए पनि दुवै पक्ष निराश भएका थिए। 

त्यस्तै अन्य खेलमा पाराग्वेले बोलिभियासँग २–२ को बराबरी खेल्दा भेनेजुएलाले चिलीलाई २–१ ले हरायो। 

४ खेलपछि ब्राजिल शतप्रतिशत जित निकाल्दै १२ अंकसहित शीर्ष स्थानमा छ भने उति नै खेलपछि अर्जेन्टिना १० अंक भएको छ। अर्जेन्टिनाले अघिल्लो खेलमा पाराग्वेसँग १–१ को बराबरी खेलेको थियो। 

त्यस्तै ४ खेलमा उरुग्वेले २ जित तथा दुई हार गर्दा पेरु र बोलिभियाले हालसम्म जित निकाल्न सकेका छैनन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.