|

विराटनगर : तराईको साझा सांस्कृतिक पहिचान बोकेको छठ पर्व यस वर्ष घर-आँगनमै सीमित हुँदैछ।

कोरोना महामारीका कारण व्रतालुहरू यसपटक तालतलैया न नदीमा पूजा गर्न जानुको साटो घरमै विधि सम्पन्न गर्न लागेका हुन्‌। आज अर्थात मङसिर ४ गतेदेखि सूर्य उपासनाको महानपर्व छठ शुरू हुँदैछ। यसवर्ष मङ्सिर ४ गते नहाय खाय, ५ गते अस्ताउँदो र ६ गते उदाउँदो सूर्यलाई अर्घ दिने कार्यक्रम परेको छ।

विराटनगरमा छठको चहलपहल त बढेको छ, तर सूर्य उपासनाको महान पर्वमा अघिल्ला वर्ष झैं यसपटक जमघट र रमझम भने हुँदैछैन। कोरोना महामारीका कारण जलाशयमा गएर छठपर्व मनाउन सुरक्षित नभएपछि स्थानीयले यसवर्ष घरघरमै छठ मनाउने तयारी थालेका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङले भीडभाड रहित छठपर्व मनाउन आग्रह गरेपछि स्थानीयले यसवर्ष घरमै छठ मनाउने तयारी थालेका हुन्। उनीहरूले घरघरमै कृत्रिम पोखरीको निमार्ण गरि छठ पर्व मनाउँदैछन्‌।

​घर छेउमा रहेको खाली जग्गामा कृत्रिम पोखरीको निमार्ण गरि पूर्ण आस्था र विश्वासका साथ छठ मनाउने तयारीमा व्रतालु जुटेका विराटनगरका अजय मण्डलले बताए। उनले कोरोनाका कारण विगतका वर्षमा झैं जलाशयमा गएर छठी माताको पूजा-आराधना गर्ने अवस्था नरहेकाले आफूहरूले घर-आँगनमा नै विधि सम्पन्न गर्ने गरी तयारी थालेको बताए।

कात्तिक २७ गते एक सूचना जारी गर्दै मोरङ प्रशासनले आवश्यक स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्दै छठ पर्व मनाउन सम्पुर्ण मोरङवासीलाई आग्रह गरेको थियो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले छठ पर्वमा नदी तलाउमा मानिसको धेरै भीडभाड हुँदा भएकाले कोरोना संक्रमण फैलन सक्ने भएकाले नदी, ताल तलाउ, पोखरीमा छठ मनाउन प्रतिबन्ध लगाएको जानकारी दिए। स्थानीय प्रशासनको आग्रहअनुसार व्रतालुहरूले नदी तलाउमा छठ पर्वको तयारी नगरेको उनको भनाई छ।

विराटनगरमा यसपटक अन्य वर्षहरू झैं छठ पर्व मनाउन रोक लगाइएपछि विराटनगर भएर बग्ने सिंघिया खोला, केशलिया खोला र मोरङ सुनसरी सिँचाई आयोजना अन्तर्गतको नहर क्षेत्र पनि सुनसान देखिएको छ।

भाइटीकाको भोलिपल्ट सम्बन्धित जलाशयहरूमा घाट बनाउने क्रियाकलापमा होमिने गरेका स्थानीयहरूले यसवर्ष घरमै छठ मनाउने निधो गरेपछि जलाशयहरूको रौनकका समेत गुमेको छ।

कोरोना महामारीको फैलिदो संक्रमण र बढ्दो जोखिमले गर्दा यसवर्ष जलाशयहरूमा अन्य वर्षहरू झैं जमिन सुम्सुम्याउने, केराको थम्बा गाड्ने, सजावट गर्ने, टेन्ट तथा पाल लगाउने र भीडभाड गर्ने लगायतका क्रियाकलापहरू गर्न रोक लगाएको छ।

यद्यपि घरमै छठ पर्व मनाउन नसक्नेहरूका लागी बढी भीडभाड नगरी आवश्यक सुरक्षा मापदण्ड अपनाएर मात्र सम्बन्धित जलाशयमा गएर अर्घ दिन पाउने व्यवस्था मिलाइएको मोरङका प्रहरी उपरिक्षक सन्तोष खड्काले जानकारी दिए।

छठका दिन व्रत बस्नेले प्रसादका रूपमा ठेकुवा, भुसवा, कसार लगायतका मिष्ठान्नहरू तयार पारी नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ दिइन्छ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन साँझ र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा श्रद्धालु भक्तजनको भीड लाग्नेगर्छ। सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख, समृद्धि हुने धार्मिक विश्वास रहिआएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.