भत्ता नपाएपछि विरोधस्वरुप र्‍याली नै निकाले

|

बारा : बाराको सदरमुकाममा रहेको कलैया उपममहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा चाडबाड मनाउने योजनामा रहेका ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिला निराश बनेका छन्।

तराईको मुख्य चाडमा समेत सरकारले दिएको भत्ता रकम उपमहानगरले नबाडेको भन्दै लाभग्राही रुष्ट भएका छन्। छठमा अनिवार्य नयाँ कपडा लगाउने चलन  छ। जाडोलाई समेत जोहो हुने आशा गरेका उनीहरु निराश भएका छन्। भत्तामा आश्रित परिवारलाई छठ पर्व मनाउन साहुसँग ऋण लिनुपर्ने अवस्था आएको कलैया– १४ का धुपा हजाराले गुनासो गरे।

उपमहानगरले भत्ता वितरण नगरेको भन्दै नेकपा कलैया उपमहानगर कमिटीका सचिव मुकेश साहले आपत्ति जनाएका छन्। उनले चाडको मुखमा समेत संघीय सरकारले उपलब्ध गराएको भत्ता बाँड्न नसक्नु निकम्मापन प्रमाणित गरेको टिप्पणी गरेका छन्। 

सिम्रौनगढमा विरोध प्रदर्शन

​कलैयाजस्तै बाराको सिम्रौनगढ नगरपालिका कार्यालयले पनि समाजिक सुरक्षा भत्ता वितरण गरेको छैन। भत्ता वितरण नगरेको भन्दै विरोध सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिम्रौनगढ नगर कमिटीले र्‍यालीसमेत निकालेर विरोध जनाएको छ।

चाडबाडमा समेत संघीय सरकारले दिएको सामाजिक सुरक्षा भत्ताबापतको रकम नगरपालिकले वितरण नगरेकोमा खेद प्रकट गर्दै स्थानीय सरकारले आफ्नो रबैया सुधार गरी तत्काल समाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने नेकपा सिम्रौनगढका अध्यक्ष श्यामकिशोर यादवको बताए। 

कर्मचारी अभावका कारण समाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालले बताए।

‘पहिला वडासचिवको नाममा पेस्की दिएर वितरण गरिने व्यवस्था थियो,’ जयसवालले भने, ‘अहिले अनलाइनबाट गर्न जिन्सी शाखामा कर्मचारीहरुले डाटा कलेक्सन गरी इन्ट्री गरेपश्चात् बैंकबाट रकम लाभग्राहीको खातामा रकम जम्मा हुनेछ।’ 

त्यस्तै बाराको महागढीमाई नगरपालिकाले पनि चाडपर्वमा समाजिक सुरक्षा भत्ता र बालबालिकाको बालपोषण भत्ता वितरण नगरेको पाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.