|

अंकिता त्रिपाठी 

त्यो दिन 
तिम्रो  विवेकशून्य एकाग्रताले 
घामको जटाभित्रै उदाङ्ग पारेको 
मेरो लाज 
म निहत्था कालीले
भंग गर्न सकिनँ 

तिमी त
दैत्य हौ 
मानवताशून्य  दैत्य
कुनै मेरै रूपको
मेरै हातको आशीर्वाद 
'भाग्यमानी भएस्!'
मखमलीमा उनिएको माया र आदरभाव 
'मृत्यु तसँग डराएस्!'

हो, तिमी किन डराउँछौ र !
डर त मलाई लाग्छ
आफ्नै डरदेखि
तिम्रो स्पर्शले लज्जावती निदाएजस्तै 
निदाइदिए पर्दाभित्र तिम्रो 
हुर्काइका त्रुटिहरू 

हुन्छ, हस सबै ठीक 
सबै बेठीक ठीक
मर्दले चाहेको गर्न सक्छ 
तिमी गर, नगर  

सदियौंदेखि
तिमी शक्तिशाली थियौ 
सदियौंदेखि
म शक्तिहीन काली थिएँ
चिनारीमा मात्र सीमित
मेरो शक्ति समाजले नै चिनाएन
खाली ढाँटिरह्यो
मलाई उल्लु बनायो

मेरो कपडा र चरित्रको 
ठूलो पर्खालभित्र 
दैत्यहरू दाउ पार्दै छन् 
सल्बलाइरहेछन् विश्राम नलिने हिंस्रक कीराहरू 

म पुन: मारिँदै छु
कठघरामा 
समाजको वचनमा 
सन्जालमा 
म त बाँच्दा बाँच्दै 
समयकै गतिमा
मर्दै छु

आऊ अब सम्झौता गरौं
बासनाको भोकले जकडिएको
तिम्रो मानसिकताको उपज 
सास छँदाछँदै 
मैले भोगेको मरण हो

तिमी पनि  मर
मेरो पाइला छातिमा थामेर हैन
फ्याट्ट एकै क्षणमा हैन 
तिमी तड्पिऊ 
तिमी बेहिसाब तड्पेको हेर्न
म कति कति तड्पेको छु

घामको जटामा लमतन्न 
तिमी पसारिँदा 
न्यायले तिम्रो सास लुट्दा 
सत्यले हल्लामा तिमीलाई छोड्दा 
म जस्तै बाँच्नु र मर्नुको तराजुमा
तिमी जोखिँदा
म प्रत्येक पल बाँचेको हुन्छु 
मलाई महसुस गर्नु छ 
मारिएको म अब नमर्ने गरी
बाँचिरहँदा कस्तो हुन्छ 
मलाइ हेर्नु छ​ :
रक्तरन्जित मुकुटमा रमाउने
कालीको स्वरुप

(त्रिपाठी कानुनकी विद्यार्थी हुन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.