|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ४ असैनास्थित पिपलाडी स्वास्थ्य चौकी अस्पतालका रूपमा रुपान्तरण हुने भएको छ। १० शैय्याको अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय विशेष निर्णयअनुसार देशका १० वटा स्वास्थ्य चौकीलाई अस्पतालका रूपमा रूपान्तरण गर्ने निर्णयअनुसार अस्पताल बनाइन लागेको हो।

 पिपलाडी स्वास्थ्य चौकीलाई अस्पताल निर्माणका लागि मन्त्रालयले रु ७० लाख बजेट निकासा पठाएको छ। मन्त्रालयले पठाएको रकमले अस्पतालका भौतिक संरचना निर्माण गर्नका लागि अपुग हुने भएपछि सुदूरपश्चिम प्रदेश सरकारको समपुरक कोषबाट रु १४ लाख र नगरपालिकाले रु २५ लाख रकम खर्चिने भएको छ।

 ‘अस्पताल निर्माणकार्यलाई नगर गौरवको योजनाअन्तर्गत राखेर बजेट विनियोजन गरेका छौ’ नगर प्रमुख दिलबहादुर ऐरले भने,‘अस्पतालका भौतिक संरचना निर्माणका लागि तत्कालै ठेक्का प्रक्रिया अगाडि बढाउन लागेका छौं।’ उनका  अनुसार संघ, प्रदेश र नगरको संयुक्त साझेदारीमा अस्पताल निर्माणको कार्य हुनेछ।

डिपिआरको काम सकियो

अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी मन्त्रालयमा पठाइसकिएको छ। डिपिआरमा अस्पतालका भौतिक संरचना निर्माणका लागि रु ३२ करोड रकम लाग्ने अनुमान गरिएको छ। अस्पतालका भौतिक संरचना निर्माणका लागि मंसिर १५ गते शिलान्यासको कार्यक्रम राखिएको छ। भिडियो कन्फ्रेन्समार्फत स्वास्थ्यमन्त्रीले अस्पतालको भवनको शिलान्यास गर्ने कार्य तय गरिएको छ।

पहिलो चरणको स्वास्थ्य चौकी स्तरोन्नति गर्ने कार्यमा पिपलाडी स्वास्थ्य चौकी छुटेपछि निवर्तमान संविधानसभा सदस्य कृपाराम रानाको पहलमा मन्त्रालयमा गएको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई भेटेर स्वास्थ्य चौकी स्तरोन्नति गर्नबाट छुटेको कुरा जानकारी गराइएपछि मन्त्रालयले विशेष निर्णय गरी देशका १० स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्ने निर्णयमा यस स्वास्थ्य चौकीलाई समावेश गरेको हो।

विशेष निर्णयमार्फत स्तरोन्नती गरी अस्पताल बनाइन लागेका स्वास्थ्य चौकीका लागि मन्त्रालयले रु सात करोड ५० लाख रकम रकमान्तर गरेको छ। १५ शैय्याका लागि रु ८५ लाख, १० शैय्याका लागि रु ७५ लाख र पाँच शैय्याका लागि रु ६० लाखका दरले बजेटको व्यवस्था गरिएको छ।

‘भौतिक पूर्वाधार विकासका लागि मन्त्रालयले सघाउछ’ निवर्तमान संविधानसभा सदस्य कृपाराम रानाले भने,‘सुर, ताल र लय मिलेका बेला विकासका कार्यलाई अगाडि बढाउनमा कन्जुस्याइँ गर्नु हुँदैन।'

पिपलाडी स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी विष्णुदत्त जोशीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीले दुर्गमको स्वास्थ्य चौकीमै पुगेर २५ शैय्याको अस्पताल बनाउने घोषणा गरेको बताए।

आफैँले घोषणा गरेर अस्पताल बनाउने कार्यलाई १० शैय्यामा झारे पनि आगामी वर्षमा यसलाई १५ शैय्यामा स्तरोन्नति गरी २५ शैय्याको पुर्‍याउनुपर्ने उनले बताए।  

 वडा नं ४ का वडा अध्यक्ष ज्ञान बहादुर विष्टले चालु आवमा अस्पतालका भौतिक संरचना निर्माणका लागि रु दुई करोड बराबरको ठेक्का सम्झौतामा जाने बताए।

अर्का वडा नं ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले सबै क्षेत्रको पायक पर्ने ठाउँमा अस्पताल निर्माण हुन लागेकोमा नगरपालिकाका १२ वटै वडाका बासिन्दाले सहज रुपमा उपचार पाउने बताए।

मन्त्रालयबाट स्वीकृत आधारभूत अस्पताल भवनसम्बन्धी निर्देशिका २०७७ स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका २०७३ र भवनको लागत अनुमान तयार गरी सम्बन्धित स्तरोन्नति गरिएका स्वास्थ्य चौकीमा पठाइएको छ। प्रचलित कानुन, स्वीकृत मापदण्ड निर्देशिका र राष्ट्रिय भवन संहिताबमोजिम अस्पताल निर्माणको कार्य गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.