|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयहरू खोल्ने तयारी थालिएको छ। कोरोना भाइरस (कोभिड–१९)को कारण विगत ८ महिनादेखि बन्द भएका बेनी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालय खोल्ने प्रक्रिया शुरू भएको हो।

बिहीबार नगरभित्रका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित बसेको बैठकमा जनस्वास्थ्यको मापदण्डको प्रयोग गरी विद्यालय सञ्चालन गर्ने तयारी थाल्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख हरिकुमार श्रेष्ठसहित वडा अध्यक्ष, प्रअ र शिक्षा शाखाका प्रतिनिधिको सहभागितामा भएको छलफलमा विद्यालय सञ्चालनको ढाँचा तयार गरी खोल्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए। ‘अब कोरोनाबाट जोगिन आवश्यक मापदण्डको तयारी पहिलो प्राथमिकतामा राखेर विद्यालय सञ्चालन गरिन्छ, सबै तयारी पुरा भएपछि विद्यालय सञ्चालन हुन्छ,’ उनले भने।

विद्यालय खोलेर नियमित रूपमा पठनपाठन थाल्न प्रअ सहितको टोलीले गरेको अनुरोधलाई सकारात्मक रूपमा लिँदै नगरपालिकाले सदरमुकाम बेनीसहित ग्रामिण क्षेत्रमा सबै विद्यालय एकसाथ खोल्ने गरी तयारीमा जुट्न समेत शिक्षा शाखालाई निर्देशन दिएको छ।

झण्डै ८ महिनादेखि शैक्षिक संस्थाहरू बन्द हुँदा चालु शैक्षिकसत्र नै प्रभावित बन्ने अवस्था आएको र विद्यार्थीहरूको पठनपाठनमा समेत असर पुगेको छ। विद्यालय व्यवस्थापन समिति र शिक्षकको सहकार्यमा मास्क र सेनिटाइजर प्रयोग गरी भौतिक दुरी कायम गरेर मात्रै विद्यालय सञ्चालन गरिनेछ।

त्यस्तै, कोरोनाको लक्षणसँग मिल्ने समस्या भएका विद्यार्थीलाई समेत वैकल्पिक व्यवस्था गरी पठनपाठनमा सहभागी गराउने नगरपालिकाले जनाएको छ। विद्यालयका भौतिक पूर्वाधारको अवस्था हेरेर एकैपटक सबै कक्षा संचालन गर्ने वा विहान, दिउँसो र साँझ गरेर सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.