|
फाइल फोटो

काठमाडौं : कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन्।

‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोट माग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रोकथामका लागि स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताएका हुन्।  

यस्तै राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठन हरुलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्ने बताएका छन्।

यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविष्यमाथि समेत बलियो आधार तयार हुने उनको  भनाई छ। कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलो मै पुगेर सचेतना जगाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए। 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिएपनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताए। तर, पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशत सम्म संक्रमण हुने अनुमान सरकारले गरेको पनि मन्त्री ढकालले बताए।

अवको चार महिनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान पनि सरकारले गरेको उहाँले बताए। सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दावी गर्नुभयो। सामर्थ्य अनुसार संक्रमण रोकथामका लागि सरकार युद्ध स्तरमा लागिरहेको उनको भनाई छ। 

कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए। अहिले पनि कुल सक्रिय संक्रमितहरु मध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको उनले प्रस्ट पारे।

सरकारले अस्पतालहरुमा अक्सिजन सहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्ध स्तरमा काम गरिराखेको उनको भनाई छ। यस्तै विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरुलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्ने तर्फ सरकारले ध्यान केन्द्रीत गरी काम गरिरहेको पनि मन्त्री ढकालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.