|

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको घटनाले पार्टीभित्रको विवाद उत्कर्षमा पुग्नसक्ने बताएका छन्। 

गृहजिल्ला चितवनमा शनिबार विकास आयोजनाहरूको अनुगमन गर्न र  पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा पुगेका नेता पाण्डेविरुद्ध पार्टीका कार्यकर्ताले नाराबाजी गरेका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आन्तरिक विवादको कारणले पार्टी विभाजनको डिलमा पुगेको छ। आन्तरिक विवादको क्रममा वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष दाहाललाई सघाएका छन्।

चितवनमा वरिष्ठ नेता नेपाल समूहका पाण्डेलाई प्रधानमन्त्री ओली निकटका कार्यकर्ताले नाराबाजी गरेका थिए। 

'विकास आयोजनाहरूको अनुगमन गर्न र  पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका  पार्टी स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क. सुरेन्द्र पाण्डे आज राप्ती नगरको  पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ' उनले भनेका छन्। 

'कार्यक्रममा आफ्ना भनाईहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले स गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ', उनले भनेका छन्, 'यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु।' 

कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराएका छन्। 

'पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा  घट्ने यस्ता घटनाहरूले स्थितिलाई  झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता कार्यकर्तालाई विनम्र अनुरोध छ', उनले भनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.