|

सर्लाही : सर्लाहीको बाग्मती नगरपालिका–५, राजघाट बिहानी चौकका एक युवाले बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्।

स्थानीय दिपेन्द्र मैनालीले २०७० सालदेखि करिब साढे एक कठ्ठा जग्गामा चारवटा टनेल बनाएर व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती गर्दै आइरहेका छन्। टनेल खेतीबाट सबै खर्च कटाएर वार्षिक न्यूनतम तीन लाख रुपैयाँ आम्दानी गर्दै आएको मैनालीले बताए।

टनेलभित्र थोपा सिँचाइको माध्यमबाट दशैँ, तिहार र छठ पर्वमा अर्गानिक काक्रो फलाएर  मैनालीले लोभलाग्दो आम्दानी गर्न सफल भए। यस सिजनमा उनले १० क्विन्टल काक्रो प्रतिकिलो एकसय देखि एकसय पचास रुपैयाँसम्म बिक्री गरेको बताए। सबै खर्च कटाएर एकलाख अम्दानी गरेको बताए। ‘उत्पादित काक्रो व्‍यापारीहरुले घरबाटै किनेर लान्छन्। बजारको खासै समस्या छैन’ उनले सुनाए।

यसपछि उनी करेला रोप्ने तयारीमा छन्। हप्ता दिनभित्र ब्याड तयारी हुन्छ। अहिले रोपेको करेला फागुन चैतमा तयार हुन्छ, त्यो समयमा महंगोमा बिक्री हुने मैनाली बताउँछ।

केही समय पहिले काठमाडौंमा साथीहरुसँगै मिलेर थोपा सिँचाईमार्फत अर्गानिक खेती गर्न सिकेर गाउँ फर्किएका मैनालीले गरेको काक्रोलगायत बेमौसमी तरकारी खेती अहिले यस क्षेत्रमा नमुना बनेको छ।

टनेलमा काक्रो, करेला, गोलभेंडा लगायतको अन्य बेमौसमी तरकारी खेती गर्दै आइरहेका मैनालीले थप पाँच कठ्ठामा ग्रीन हाउस बनाएर खेती गर्ने तयारीमा रहेको बताए। आफूले स्थानीय सरकारसँग समन्वय गरी सर्लाहीकै विभिन्न पालिका र छिमेकी जिल्लामा समेत पुगी किसानलाई प्राविधिक सरसल्लाह र प्रविधि फैलाउँदै हिँड्ने गरेको छ। त्यसबाट पनि केही पारश्रमिक पाउने गरेको उनी बताउँछन्।

उनका अनुसार बेरोजगार युवाहरुले आफ्नै माटोमा सिप र जाँगर लगाउन सके तरकारी किन्नकै लागि बजार र पसलमा झोला बोकेर हिड्नु पर्ने बाध्यताको अन्त्य हुने मैनाली दाबी गर्छन्।

यसमा सरकारले पनि बेमौसमी तरकारी गर्ने किसानका लागि प्रविधि, सिप तालिम र अनुदानमा वीउविजन र उपकरण अनुदानमा उपलब्ध गराइ तरकारी खेतीमा युवाहरूलाई आकर्षित गर्न सकिन्छ।

बाहिरी रासायनिक मलखाद र औषधि प्रयोग नगरी आफैँले घरमा बनाएको जैविक विषादीको प्रयोग गरेर काक्रोलगायत अन्य तरकारी खेती गर्दै आएको दीपेन्द्रका बुवा प्रेमप्रसाद मैनालीले बताए। उनका अनुसार थोपा सिँचाई मार्फत खेती गर्न एउटा टनेल निर्माण गर्दा २० हजार रुपैयाँ लागत लाग्ने गरेको छ ।

आफूले आठ वर्षअघि २०७० सालमा बनाएको टनेलभित्र फागुनमा लगाएर नयाँ वर्षका लागि बैशाखमा, असारमा लगाएर तीजका लागि भदौमा र भदौ अन्तिममा लगाएर दशैँ तीहारका लागि काक्रो फलाउँदै आएको मैनालीले बताए। मैनालीको टनेलमा अहिले तयारी अवस्थामा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.