|

काठमाडौं :  गत मंसिर १ गते चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका वरिष्ठ प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा सुनिलचन्द्र झाको कोरोना संक्रमणबाट निधन भयो।

कार्तिकको दोस्रो सातादेखि कोरोना संक्रमणमा परेका उनमा कडा लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो। झाको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनमा प्लाज्मा थेरापी र रेमडिसिभिर पनि चलाइएको थियो।

पछिल्लो समय भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो। तर सबै खालको मेडिकल प्रविधिले पनि उनलाई बचाउन सकेन।

जनरल मेडिसिनबाट आएर मुटुरोग उपचारमा आधुनिक प्रविधि भित्र्याउनेमध्येका एक हुन्, झा। प्रविधि नभएको समयदेखि अहिलेसम्म मुटुरोगीको उपचारमा सक्रिय थिए उनी। झाले ३० वर्ष शिक्षण अस्पतालमा काम गरेका थिए। पछिल्लो समय उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत थिए।

कोराना संक्रमणबाट ६१ वर्षको उमेर निधन भएका झाले नेपाली चिकित्सा क्षेत्रमा अझै मुटुरोगको उपचार क्षेत्रमा प्रविधि भित्र्याउन गरेको प्रयास अतुलनीय रहेको बताउँछन् लामो समय उनीसँगै सहकार्य गरेका वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा अरुण सायमि।

उनका अनुसार नेपालमा मुटुरोग उपचार सेवामा मात्रै हैन, नेपालमा मुटु रोग उपचार सम्बन्धी चिकित्सकहरु उत्पादन गर्न समेत उनको योगदान अतुलनीय छ। भन्छन्, ‘नेपालमा मुटुमा प्रेसमेकर राख्ने सेवामा उनको योगदान धेरै छ, यस्तै डिएम कार्डियोलोजीसम्बन्धी चिकित्सा सेवा सञ्चालनमा पनि उनको योगदान धेरै छ।‘

यस्तै हिजो मात्रै(शनिबार ६, मंसिर) वरिष्ठ चिकित्सक डा ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ। चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा उनको हिजो दिउँसो निधन भएको हो।

७८ वर्षीय डा मुडभरीलाई नौ दिनअघि कोरोना संक्रमण देखिएको थियो। वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा मुडभरी नेपालमा सर्जरी सुरु गर्ने डाक्टरहरुमा पर्दथे। उनी ओम अस्पतालका संस्थापक सञ्चालक तथा सेयर होल्डरसमेत हुन्।

वरिष्ठ चिकित्सक डा भोला रिजाल डा मुडभरीको निधनले नेपालको स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँछन्। पोखरा, बुटवल, राजविराज र बाजुराजस्तो ठाउँमा सर्जरी सेवा सञ्चालन गर्न डा मुडभरीको योगदानको प्रशंसा गर्छन् रिजाल।

उनले भने, ‘उहाँले (मुडभरी) उपत्यकाबाहेक पूर्वी नेपाल र पश्चिम नेपालका विभिन्न ठाउँमा गएर सर्जरी सेवा प्रारम्भ गर्नुभएको छ। सरकारी सेवा गर्नुभयो। ओम अस्पताल स्थापना गर्दा पनि उहाँको महत्वपूर्ण भूमिका थियो, उहाँको निधनले नेपाली चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको छ।‘

यस्तै एक हप्ताअघि मात्रै कोरोना संक्रमणबाट ईशान बाल तथा महिला अस्पतालका अध्यक्ष एवं वरिष्ठ बालशल्य चिकित्सक डा नारायणबहादुर थापाको पनि निधन थियो। ८० वर्षीय डा नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

पहिले कान्ति बाल अस्पतालको निर्देशकसमेत रहेका थापा नेपालमा बाल शल्यक्रिया सुरु गर्ने चिकित्सकमध्येका एक थिए। उनी नेप्लिज एसोसिएसन अफ पेडियाटिक सर्जनको निवर्तमान अध्यक्षसमेत हुन्। यस्तै नेपाल बर्न सोसाइटीलगायत विभिन्न स्वास्थ्य तथा सामाजिक संस्थाहरुमा आबद्ध थिए।

बेलायतमा पेडियायाट्रिक सर्जरी पढेका थापाले केही समय वीर अस्पतालमा पनि सेवा दिएका थिए। पछि जापान सरकारको सहयोगमा कान्ति बाल अस्पताल सुरु भएपछि उनी त्यहीँ काम गर्न थालेका थिए।

कान्तिमा डा थापा र डा केशरबहादुर राजभण्डारीले शल्यक्रिया विभाग सुरु गरेका थिए। यो जोडीलाई नेपालमा पेडियाट्रिक सर्जरीको सुरुवातकर्ता मानिन्छन्।२०५१ सालमा सरकारी सेवाबाट अवकास पाएपछि डा थापाले २०५२ सालमा निजी क्षेत्रबाट पहिलो बाल अस्पताल 'ईशान' स्थापना गरेका थिए। १५ बेडबाट सुरु भएको अस्पताल अहिले विशिष्ठ तथा निजी क्षेत्रकै अब्बल सेवा दिने  बाल अस्पतालको रुपमा परिचित छ।

यस्तै डेढ महिनाअघि कोरोना भाइरस संक्रमणबाट सुर्खेतमा कार्यरत  चिफ कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा हरि सापकोटाको बिहीबार मृत्यु भएको थियो। भेरी अस्पतालमा दरबन्दी रही सुर्खेतस्थित प्रादेशिक अस्पतालमा कार्यरत बाँकेको खजुरा–३ घर भएका उनी ५९ वर्षका थिए।  

डा सापकोटालाई बचाउन चिकित्सकहरुले नेपालमा उपलब्ध प्लाज्मा थेरापी, रेमडिसिभिरसहितको उपचार विधि चलाइएको थियो। तर यी उपचार विधिबाट पनि उनलाई बचाउन चिकित्सकहरु असफल भएका थिए।

नेपाल सरकारको एघारौं तहमा कर्यरत डा सापकोटा लामो समय उपत्यका बाहिर सेवारत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.