|

लमजुङ : मसिर महिना नसकिँदै यहाँका करिब ९० प्रतिशत किसानले धान काटेर सकेका छन्। जिल्लाका किसानहरुले पछिल्लो समय उन्नत र हाईव्रिड जातको धान लगाउने क्रम बढेको हुँदा मंसिर नलाग्दै धान पाक्न शुरु भएको हो।

कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लाका अधिकांश टार र खोला खेतहरुमा लगाईएको धान काटेर थन्काई सकिएको छ। ओसिलो क्षेत्र र स्थानीय जातको धान ढिलागरी पाक्ने भएकोले काट्ने र थन्काउने क्रममै रहेको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीले जानकारी दिए। 

सामान्यतय स्थानीय जातको धान थोरै क्षेत्रमा लगाईएकोले करिब-करिब १० प्रतिशत धान काट्न र थन्काउने क्रममा रहेको रेग्मीको भनाई छ। जिल्लाका किसानले सुनौलो सुगन्ध, रामधान, जेठोबूढो, एक्ले, सुख्खा २, सावित्री, लोकतन्त्र,  गोरखनाथ, युएस ३१२, मकवानपुर, मनसुलीलगायत जातका धान लगाउँदै आएका छन्। उन्नत जातको धान चाँडै पाक्ने भएकोले मसिर नलाग्दै काट्ने र थन्काउने काम भएको कार्यालयले जनाएको छ।

दशैको रौनकसँगै जिल्लाको अधिकांश खेतमा धान काट्ने क्रम पनि सुरु भएको थियो। यसवर्ष साविकका वर्षभन्दा ढिलागरी दशैँ परेको र खेतको धान पाकेको हुँदा कृषकहरु पर्व मनाउँदै खेतमा व्यस्त भएका थिए। यसवर्ष कोरोना कहरका विच साविकका वर्ष जस्तौ दशैको हर्ष उल्लास नभएको भन्दै अधिकाँश कृषकहरु आफ्नै घरायसी काममा व्यस्त भएका थिए। विशेषगरी चाडपर्वका बेला हुने चहलपहल कम गरी कृषकहरु खेतबारीमा काम गर्न व्यस्त भएको पाइएको थियो।

लमजुङमा अधिकांश स्थानमा उन्नत तथा हाइव्रिड जातको धान लगाएको भन्दै यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरीएको छ। सो बाहेक यसवर्ष कोभिड–१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण शहरमा बस्नेहरु गाउँमै भएकोले धान खेती बृद्धि हुने अनुमान गरिएको छ। असारमा रोपीएको धानका लागि समयमै पानी पर्नु र उचित सिँचाइको व्यवस्था भएकाले पनि धान उत्पादनमा कमि नआउने ज्ञान केन्द्रको विश्वास छ।

कार्यालयको तथ्याँक अनुसार जिल्लामा ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये १६ हजार छसय १२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। त्यस्तै जिल्लाको नौसय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ।

जिल्लामा कुल जमिनको क्षेत्रफल एकलाख ६९ हजार दुईसय २० हेक्टरमध्ये ३५ दशमलव ५३ हेक्टर मात्रै खेतीयोग्य रहेको छ। कार्यालयका अनुसार कुल खेतीयोग्य जन मध्ये ४५ हजार ५० हेक्टर अर्थात खेतीयोग्य जमिनको ७२ दशमलव ८२ प्रतिशत जमिनमा खेती हुने गरेको छ। सो बाहेक नौसय २७ हेक्टर जमिन बाँझो रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

यस्तै जिल्लामा खेतीयोग्य जमिन मध्ये पाँचहजार १० हेक्टर जमिनमा बाह्रै महिना सिँचाईको व्यवस्था छ। सो बाहेक नौहजार चारसय ६५ हेक्टर जमिनमा मौषमी सिंचाई हुने गरेको र ३० हजार पाँचसय ७५ हेक्टर जमिन असिंचित रहेको सूचना अधिकारी रेग्मीको भनाई छ।

जिल्लाका ठूला फाँटका रूपमा रहेका अल्काटार, साइलीटार धमिलीकुवा, भलाखर्क, राइनासटार, रामचोकफाँट, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सुन्दरबजार, परेवाडाँडा, सत्रसयफाँट लगायतका ठाउँमा बढी धान उत्पादन हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.