|

तनहुँ : स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले जनताको अपेक्षा पूरा गर्नुपर्ने बेलामा नेकपा सरकार पार्टीको झगडामा व्यस्त रहेको बताएका छन्।

अध्यक्ष महरले स्कुल अफ डेमोक्रेसी तनहुँका पदाधिकारी र जनप्रतिनिधिसँग भेटघाटका क्रममा पार्टीको झगडासमेत मिलाउन नसक्ने ओली सरकारले पार्टी झगडामा अल्मलिएर जनतालाई झुक्याउने काममा मात्रै रहेको बताएका हुन्। 

'जनतालाई अल्मल्याउँदै सत्ता जोगाउन व्यस्त नेकपा सरकार देश कसरी बन्छ,' उनले प्रश्न गरे। ‘पार्टीकै सदस्यहरुले लिखित रुपमै विरोध जनाउँदै आएका छन्, आफ्नै पार्टीका सदस्यहरुले अध्यक्षलाई लगाएको आरोपलाई सामान्य रुपमा लिन समेत सकिने कुरा भएन, सत्ता जोगाउनकै लागि जनतालाई झुक्याउनेतर्फ मात्रै सरकार केन्द्रित छ,’ अध्यक्ष महरले भने। 

कोभिड १९ को महामारीको अवस्थामा मास्कवादी सरकारले जनतालाई मास्कसमेत उपलब्ध गराउन नसकेको उनको भनाई छ। ‘ठूला/ठूला सपना देखाउने सरकारबाट जनताले सामान्य एउटा मास्क पनि पाउन सकेका छैनन्’ अध्यक्ष महरले भने, ‘कोरोनाको कहरबाट पीडित जनतालाई राहत दिनुपर्नेमा खर्च भएको बजेटको राम्रोसँग हिसाब किताब नराखेर भ्रष्टाचार गरेको प्रस्ट छ।’ 

काँग्रेस पार्टीलाई बलियो बनाउन पाटी भित्र भएको आन्तरिक द्वन्द्वको अन्त्य गरिनुपर्ने उनले बताए। ‘केन्द्रको आन्तरिक विवाद तल्लो तहसम्म पुग्न लागेको छ, त्यसको अन्त्य गरी गुटउपगुटको राजनीतिलाई निरुत्साहित गर्न जरुरी छ,’ महरले भने।

नेता बदमास नभएको महसुस गराउने गरी कांग्रेसले काम गरे पार्टी बलियो हुने उनको विश्वास छ। भेटघाटमा बहुसंख्यक जनता घोषणापत्र अनुसार काम गर्छ भनेर सोचिरहेको बेला पार्टी, घोषणापत्र र प्रधानमन्त्री अलग अलग भएको पनि उनले बताएका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.