|

बैतडी : बैतडीसहित सुदूर पहाडका जिल्लामा रहेका मन्दिर तथा शक्तिपीठहरूमा जात्रा लागेको छ।

कार्तिक शुक्ल पक्षमा सुदूर पहाडमा रहेका विभिन्न देवी-देवताका मन्दिरमा जात्रा लागिरहेको हो। अरु वर्ष जात्राको रौनक हुने गरेको भएपनि यो वर्ष कोरोना भाइरसका कारण जात्राको रौनक भने नभएको स्थानीयहरूले बताएका छन्। 

कार्तिक शुक्ल अष्टमीका दिन बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा जात्रा लागेको छ। सुर्नया गाउँपालिका-८ स्थित प्रसिद्ध गोफाकेदार मन्दिरमा आज जात्रा लागेको मन्दिरका पुजारी विनोद अवस्थीले जानकारी दिए। उनले भने, ‘दशैँको अष्‍टमीमा सो मन्दिरमा पूजा लाग्ने भएपनि यो वर्ष दशैँमा जात्रा नभएकाले कार्तिक शुक्ल अष्‍टमीमा पूजा तथा जात्रा लागेको हो।’

गोफाकेदार मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहीआएको छ। सो मन्दिरमा बैतडीको सुर्नयाका साथै पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका विभिन्न स्थानबाट दर्शनार्थीहरू आउने गरेको छन्  । 

यस्तै, पाटन नगरपालिका-२ स्थित प्रसिद्ध महारुद्र मन्दिरमा समेत कार्तिक शुक्ल अष्‍टमीका दिन जात्रा लागेको छ। महारुद्र मन्दिरमा हरेक वर्षको कार्तिक शुक्ल अष्‍टमीका दिन जात्रा लाग्ने गरेको स्थानीयहरूले बताएका छन्। महारुद्र देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ।

शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा समेत कार्तिक शुक्ल अष्‍टमीका दिन आज जात्रा लागेको छ। हरेक वर्ष जस्तै यो वर्ष पनि मन्दिरमा जात्रा लागेको स्थानीयहरूले बताएका छन्। कोरोना भाइरसका कारण जात्रामा भने कम सहभागिता रहेको स्थानीयहरूले बताएका छन्। 

दोगडाकेदार गाउँपालिका-३ स्थित भिटा केदार मन्दिरमा भोली कार्तिक शुक्ल नवमीका दिन जात्रा हुने स्थानीयहरूले बताएका छन्। सो मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल नवमीका दिन जात्रा हुने गरेको छ। यस्तै, बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा पनि भोली र पर्सी जात्रा लाग्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.