|

बैतडी : तरकारी खेतीमा किसानको आकर्षण बढेसँगै बैतडीमा तरकारी उत्पादन बढेको छ। यस जिल्लामा ५०६ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आएको छ। 

बैतडीमा यस वर्ष पाँच हजार ५५५ मेट्रिक टन तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। गत वर्ष पाँच हजार मेट्रिक टन तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। 

यस वर्ष ४ हजार ४२७  मेट्रिक टन आलु उत्पादन भएको छ। गत वर्ष ३ हजार ८३२ मेट्रिक टन उत्पादन भएको थियो। यहाँ ३८५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिँदै आएको छ। 

उन्नत बीउको प्रयोगले तरकारी उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख चन्दले बताए। उनले भने, ‘अन्नबालीभन्दा तरकारी खेतीमा फाइदा हुने भएपछि यहाँका किसान तरकारी खेतीमा आकर्षित भएका छन्।’
 
राम्रो भाउ पाउँदा किसान उत्साहित 

बारीमा उत्पादित बर्खे तरकारीको राम्रो भाउ पाएपछि किसानहरु खुसी भएका छन्। अन्य वर्षको तुलनामा यो वर्ष भाउ राम्रो पाएकाले बर्खे तरकारीबाट फाइदा भएको दशरथचन्द नगरपालिका–१ सतबाँझका किसान कृष्णदत्त भट्टले बताए। 

कोरोना भाइरस महामारीका कारण यस वर्ष भारतबाट तरकारी आयात नहुँदा किसानहरुले तरकारीको राम्रो मूल्य राम्रो पाएको हु्न। अन्य वर्ष १० रुपैयाँ प्रतिकिलो बिक्री हुने बन्दा यस वर्ष ५० रुपैयाँसम्म बिक्री भएको भट्टले बताए। बन्दा बिक्रीबाट दुई लाख रुपैयाँभन्दा बढी कमाएको भट्टको भनाइ छ। ‘यो वर्ष तरकारीले बजार मूल्य राम्रो पाउँदा हामी खुसी भएका छौं,’ उनले भने, ‘कम्तीमा एकजना किसानले एक लाख रुपैयाँको बन्दा बिक्री गरेका छन्।’

अघिल्लो वर्षहरुमा बजार मूल्य नपाउँदा बारीमै बन्दा राख्नुपरेको तितो अनुभव भएपनि यो राम्रो बजार मूल्य पाएको अर्का किसान कृष्णबहादुर बोहराले बताए। ‘यो वर्ष काउली, बन्दा, गोलभेडा धनगढीसम्म बिक्री गरेका छौं। व्यापारीहरुले बारीमै आएर तरकारी किनेर लगेका छन्,’ उनले भने, ‘अरु वर्ष भारतीय तरकारी सस्तोमा पाइने हुँदा हामीलाई समस्या भएको थियो।’ गत वर्ष बजार भाउ नपाउँदा सात रुपैयाँ प्रतिकिलो बन्दा बिक्री गरेका सुर्नया–६ का किसान केशवदत्त अवस्थीले यस वर्ष ४० रुपैयाँमा बारीबाटै बिक्री गरेको बताए। 

बैतडीबाट यो वर्ष ५० हजार क्विन्टल बन्दा बिक्री भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने, ‘हामीले यो बर्ष बैतडीबाट मात्रै ५० हजार क्विन्टल बन्दा बिक्री भएको अनुमान गरेका छौं। यसबाट अढाई करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ।’

बैतडीको दशरथचन्द नगरपालिकाको जर्ग, पाटन नगरपालिकाको सिद्धपुर र सिद्धेश्वर, दोगडाकेदार गाउँपालिकाको श्रीकोट, श्रीकेदार, न्वाली, डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर, मेलौली नगरपालिकाको महारुद  तरकारीको पकेट क्षेत्रको रुपमा लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.