भन्छन्, ‘टिकटक बनाउन राजाको नाममा ट्यापेहरुले जुलस निकाले’
भन्छन्, ‘टिकटक बनाउन राजाको नाममा ट्यापेहरुले जुलस निकाले’
धनगढी : गत बिहीबार सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजले धनगढीमा ‘राजा आऊ, देश बचाऊ’ नारा लगाउँदै निकालेको जुलसले तर्सिएका २२ राजनीतिक पार्टीहरूले आइतबार धनगढी प्रदर्शन गरेका छन्।
‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो शान, प्राण भन्दा प्यारो छ’ भन्दै गरिएको प्रदर्शनका विरुद्ध ‘गणतन्त्रवादी एकजुट हौं, राष्ट्रिय स्वाधीनताको रक्षा गर’ भन्दै विभिन्न राजनीतिक पार्टीहरूले प्रदर्शन गरेका हुन।
उनीहरूले धनगढीको पार्कमोड देखी चौराहसम्म प्रदर्शन गरेका थिए। चौराहमा कोणसभामा परिणत भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य मनोज भट्टले गणतन्त्रको बिकल्प राजा नभई राजनीतिक पार्टी नै भएको बताए। उनले मुन्द्रे र ट्यपेहरूले टिकटक बनाउन जुलुस निकालेको बताए।
कोणसभामा सम्बोधन गर्दै भट्टले दुई लिटर पेट्रोल हालेर, साँझ भोड्का पिएर सडकमा ‘राजा आउ, देश बचाउ’ भन्नेहरूको तागत जनताले माटोमा मिलाइदिने बताए। दलहरूको विकल्पमा जनताले राजा खाज्न थालेको भन्ने भन्दै राजनीतिक पार्टी सचेत र जागरुक हुनुपर्ने उनले बताए। भट्ट भने, ‘नेकपाको विकल्प राष्ट्रिय जनमोर्चा हुनसक्छ, क्रान्तिकारी माओवादी हुनसक्छ, तर राजा कुनै हालतमा हुन सक्दैन।’
राजा फाल्ने राजनीतिक दलहरूले यो देशमा शासन गरिरहेको बताउँदै गणतन्त्र ल्याउन राजनीतिक पार्टीहरूले ठूलो संघर्ष र बलिदान गरेको उनले बताए। ‘यदि यो देशमा राजाको शासन भएको भए ज्ञानेन्द्रको छोरो पारस अहिले राजा हुन्थ्यो,' उनले भने, 'तर जनताले त्यसो हुन दिएनन्, समयमै राजा फाले।’
राजावादीहरूले हिन्दु राष्ट्र पुनःस्थापना, संघीयता खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित प्रदर्शन गरेका थिए। उनीहरूले अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउन नसकेको भन्दै भ्रष्टाचार, अनियमितता र कालोबजारी विरुद्ध प्रदर्शन गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।