|
फाइल फोटो ।

बैतडी : भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनका लागि खोलिएको छ। भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको हो।

पेन्सनधारी नेपाली नागरिकहरूलाई पेन्सन बुझ्ने प्रयोजनका लागि आजदेखि मंसिर १२ गते शुक्रबारसम्मका लागि  नाका खोलिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लाकेन्द्र सिंह नेगीले जानकारी दिए। पेन्सनरहरूलाई आवश्यक कागजात सहित झुलाघाटस्थित एसबिआई बैंकमा सम्पर्क राख्न आग्रह गरिएको छ।  

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोलिएको हो।  कोरोना भाइरसका कारण सीमा नाका झुलाघाट गएको चैतदेखि बन्द छ। नाका बन्द भएका कारण पेन्सनधारीले पेन्सन बुझ्न पाएका छैनन्। 

नाका खुला भएको समयमा दुवै पक्षको समन्वयमा अत्यावश्यक र आकस्मिक काम परेकाहरूलाई पनि आवतजावत गर्न दिइनेछ। आवतजावतका बेला स्वास्थ्यका मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्ने जनाइएको छ। 

पेन्सनधारी खुसी

लामो समयपछि नाका खुलेसँगै पेन्सन बुझ्ने नागरिक खुसी हुँदै झुलाघाट पुगेका छन्।

लामो समयदेखि बन्द रहेको  भारतसँग सीमा जोडिएको झुलाघाट नाका खुलेपछि भारतीय पेन्सनधारी नेपाली नागरिक खुसी भएका हुन्। 

पेन्सनधारीहरूका लागि नाका खुलेपछि आफूहरू खुसी भएको सुर्नया २ का हरिजीत पाण्डेयले बताए। उनले भने‘ चैतदेखि पेन्सन नपाउँदा समस्या भएको र नाका खुलेपछि आफूहरू खुसी भएका छौं।’  

पेन्सनधारी नागरिकको समस्यालाई मध्यनजर गरेर नाका खोलेपछि आफूहरू निकै खुसी भएको मेलौली तारादत्त भट्टले बताए। उनले भने, ‘पेन्सन बुझ्न नपाउँदा समस्या भएका बेला नाका खुलेपछि खुसी लागेको छ।’ 

कोरोना कहरले सीमा नाका नखुल्दा पेन्सन नपाएको भन्दै पेन्सनधारी नागरिकहरूले मेलौली नगरपालिकालाई केही दिनअघि ज्ञापन पत्र समेत बुझाएका थिए भने २ महिना अघि नाका खोलिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई पनि अनुरोध गरेका थिए।

पेन्सनधारी नेपाली नागरिकले भारतीय बैंकमार्फत पैसा बुझ्ने गरेका छन्। बैतडीमा १ हजार २ सय बढी भारतीय पेन्सनधारी नागरिक छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.