|

भक्तपुर : कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धि भए पनि संक्रमितहरुले होम आइसोलेसन रोज्न थालेपछि कोरोना संक्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्रहरु भने रित्तिन थालेका छन्।

भक्तपुरमा सोमबार दिउँसोसम्म ६१८ पुरुष र ४४७ महिलागरी एक हजार ६५ जना सक्रिय संक्रमित छन्। तीमध्ये ९९ जना मात्र अस्पताल र संस्थागत आइसोलेसनमा उपचाररत छन् बाँकी ९६६ जना होम आइसोलेसनमा छन्। जस अनुसार सक्रिय संक्रमितको ९० दशमलब ७ प्रतिशत ओम आइसोलेसनमा बसेका छन्।

भक्तपुरका विभिन्न अस्पताल र आइसोलेसन केन्द्रहरुमा ८७१ शय्या छन्। स्वास्थ्य कार्यालयका अनुसार भक्तपुर अस्पतालमा १५, भक्तपुर क्यान्सर अस्पतालमा ६, सैनिक आवासीय महाविद्यालयमा १५०, डा. इवामुरा अस्पतालमा चार, सिद्धि स्मृति अस्पतालमा एक, जनस्वास्थ्य च्याम्हसिंहमा दुई, ब्रह्मायणी आइसोलेसन केन्द्रमा ७५, केएमसी अस्पताल दुवाकोटमा १५०, सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३०, खानेपानी तालिम केन्द्र तेलकोटमा २३, विद्युत् प्राधिकरण तालिम केन्द्र खरिपाटीमा २०० शय्याको आइसोलेसन केन्द्र छ।

त्यसैगरी समित अस्पतालमा १०, विपी आँखा अस्पतालमा एक, आरोग्य अस्पतालमा चार, नागरिक सामुदायिक अस्पतालमा चार, मध्यपुर अस्पतालमा १३, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नौ, कृषि विकास बैंकको तालिम केन्द्र बोडेमा ५० र वीर दल गण सूर्यविनायकमा ७५ शय्याको आइसोलेसन केन्द्र रहेको छ।

तीमध्ये भक्तपुर अस्पतालमा ११ पुरुष र दुई महिलागरी १३, सैनिक महाविद्यालयमा ६ पुरुष, ब्रह्मायणीमा तीन पुरुष र चार महिलागरी सात, केएमसी अस्पतालमा दुई पुरुष, सैनिक अन्तर्राष्ट्रिय शिक्षालयमा तीन पुरुष संक्रमित उपचाररत छन्। त्यसैगरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पाँच पुरुष र तीन महिलागरी आठ, मध्यपुर अस्पतालमा पाँच पुरुष र दुई महिला गरी सात, कृषि विकास बैंकको तालिम केन्द्र बोडेमा एक पुरुष संक्रमित उपचाररत छन्। आइसोलेसन केन्द्रका बाँकी शय्याहरु खाली छन्।

सरकारले कोरोना संक्रमण बढेसँगै होम आइसोलेसनमा बस्न सक्ने निर्देशिका जारी गरेपछि अधिकांश संक्रमितको पहिलो रोजाई होम आइसोलेसन हुने गरेको छ। आइसोलेसन केन्द्रमा बस्दा लाग्ने शुल्कले गर्दा पनि संक्रमितहरुले होम आइसोलेसन रोज्ने गरेको हो। दशैं तिहारजस्ता ठूला चाडपर्वका कारण पनि संक्रमितहरुले होम आइसोलेसन राजेको हुन सक्ने स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए।

‘संक्रमितले किन अस्पताल गएर उपचार नलिएको त्यो कुरो त हामीलाई भन्दा संक्रमितलाई नै थाहा होला,’ उनले भने, ‘सायद शुल्क लाग्ने र शुल्क पनि अलि बढी नै खर्च हुने भएकाले पनि घरमै सुरक्षित रुपमै आवश्यक औषधी लिएर बसेका होलान्।’

होम आइसोलेसनमा बसे पनि संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिइरहेको मिजारले बताए। उनले स्थानीय तहका स्वास्थ्य केन्द्रमार्फत संक्रमितहरुको जानकारी लिइरहेको बताए। उनले भने, ‘घरमै बसेका संक्रमितको निगरानी स्वास्थ्य उपचार स्थिति कस्तो छ भन्ने स्थानीय तहका स्थानीय स्वास्थ्यकर्मी मार्फत फ्लोअप गरेर आवश्यक उपचार दिइरहनुका साथै थप उपचार गर्नुपरे कुन अस्पताल लैजाने, के गर्ने सबै उहाँहरुले जिम्मा लिएर गरिरहेको अवस्था छ।’

यसैगरी भक्तपुरमा आइसियु र भेन्टिलेटर समेत पर्याप्त मात्रामा खाली छन्। जिल्लामा १९ वटा आइसियु र १२ वटा भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि छुट्याएका छन्। तीमध्ये नौवटा आइसियु शय्या मात्र उपभोग भएका छन्।

जिल्लाको कोभिड अस्पताल भक्तपुर अस्पतालमा चारवटा आइसियु शय्यामा सबै भरिएका छन्। यहाँ तीन पुरुष र एक महिलाको उपचार भइरहेको छ। नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आठवटा आइसियु शय्यामध्ये तीन पुरुष र दुई महिला गरी पाँचजनाको उपचार भइरहेको छ। बाँकी आइसियु शय्या खाली रहेको छ। केएमसी अस्पतालमा सात आइसियु शय्या कोभिडका बिरामीलाई छुट्याए पनि यहाँको सबै शय्या खाली रहेको मिजारले जानकारी दिए।

त्यस्तै, भक्तपुर अस्पतालको तीन, केएमसी दुवाकोटको तीन र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको छवटा भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि छुट्याएका छन्। ती सबै खाली छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.