नेताहरु भन्छन् : कुरा उठिरहेको छ, छलफल हुन्छ

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फेरि एक पटक प्रधानमन्त्री केपी ओलीलाई एक पदबाट विदा गर्ने कसरत सुरु भएको छ।

‘एक व्यक्ति, एक पद’को बिषयले पटक पटक तनाव ल्याइरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले फेरि यसलाई चर्काउने रणनीति बनाएका हुन्। 

एक व्यक्ति एक पदको बहस चलिरहे पनि नेकपाले अहिलेसम्म कार्यान्वयन गर्न सकिरहेको छैन। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेपछि फेरि यही बहसले प्रवेश पाएको हो। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको विवादले पार्टी विभाजनतर्फ गइरहेको अवस्थामा अहिले पनि प्रधानमन्त्री ओलीले एक पदबाट हट्नुपर्ने अध्यक्ष दाहालसहित बहुमतका सदस्यले माग गर्न थालेको छन्। 

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका बहुमतका सदस्यले प्रधानमन्त्री ओली विरुद्ध मोर्चाबन्दी गरिरहेका छन्। 

प्रधानमन्त्री ओलीको कार्यशैलीको कारणले पार्टीमा पटक पटक विवाद उत्पन्‍न भइरहेको भन्दै उनलाई एक पदबाट हटाउनै पर्ने उनीहरुको ठहर छ। तर ओलीले आगामी महाधिवेशनबाटै पार्टीको नेतृत्व छिनोफानो गर्नुपर्ने बताउँदै आफूले कुनै पद नत्याग्ने अडान लिइरहेका छन्। 

पार्टीभित्र विवादको क्रममा प्रधानमन्त्री ओलीले एक पदबाट हट्नुपर्ने कुरा उठिरहेको अध्यक्ष दाहालनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन्। 

‘पार्टीभित्र विवादको क्रममा विभिन्न कुराहरु उठिरहेका छन्। त्यसमा अरु विवाद त छँदैछ,’ उनले भने, ‘प्रधानमन्त्रीले एक पदबाट हट्नुपर्छ भन्‍ने कुरा पनि उठिरहेका छन्। अब उहाँले १३ गतेको सचिवालय बैठकमा ल्याउने अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनको जवाफपछि त्यस बिषयमा निर्धारण गर्छ।’

पार्टीभित्रको विवाद अझै नसुल्टिएकाले मंसिर १३ को बैठक कुर्नुको विकल्प नरहेको उनको ठहर छ। ‘हामीले आगामी सचिवालयमा आउने प्रधानमन्त्री ओलीको जवाफ कुरिरहेका छौँ। उहाँको जवाफ कस्तो आउँछ भन्‍ने अहिल्यै हामीलाई थाहा हुने कुरा पनि भएन’ उनले भने।

पार्टीभित्र गम्भिर संकटको मोडमा पुगेको बेलामा प्रधानमन्त्री ओलीले एक पदबाट बाटो खोलि दिनुपर्ने बिषयमा पार्टीभित्र छलफल चलिरहेको अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउँछन्। 

‘यसअघिको विवादको बेलामा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने बिषयमा छलफल भइरहेको थियो। तर, अध्यक्षद्वयको सहमति र स्थायी कमिटीको निर्णयपछि त्यो कुरा रोकिएको थियो’ उनले भने, ‘तर, अहिले फेरि पार्टीभित्रको विवाद चर्किएको बेलामा प्रधानमन्त्री ओलीको एक पद छाड्नुपर्छ भन्‍ने आवाज पार्टीभित्र चलिरहेको छ।’ 

‘प्रधानमन्त्री ओलीको दुवै पद माग्दा पार्टी गम्भिर संकटतर्फ जाने देखिएपछि अहिले प्रधानमन्त्रीको एक पदबाट हट्नुपर्ने कुरा उठिरहेको छ। अब त्यस बिषयमा प्रधानमन्त्रीले के गर्नुहुन्छ। त्यही कुराले निर्धारण गर्छ,’ उनले थपे। 

प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै चलाउन नसक्ने भएकाले एक पदबाट हट्नुपर्छ भन्‍ने कुरा उठाएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्। 

‘उहाँको यसअघि पनि दुवै पद छाड्नुपर्ने कुरा उठेको हो। तर, हामीले दुवै पदबाट नसके एक पदबाट चाहि तत्काल छाड्नुहोस् भनेका हौँ। हामीले ‘एक व्यक्ति, एक पद’को कुरा उहाँलाई मात्रै नभएर सबैलाई लागू गरौँ भनेका हौँ’ उनले भनिन्, ‘हाम्रो विधानमा पनि भएको भएकाले त्यसलाई कार्यान्वयन गरौँ भनेर कुरा उठाएका हौँ। उहाँले पनि पार्टीको नियम मान्नुपर्छ र, हामी पनि मान्छौँ।’ 

प्रधानमन्त्री ओलीले तत्काल पदबाट हट्ने नहट्ने कुनै निर्णय नगरेको ओली निकट स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा बताउँछन्। 

‘पार्टीभित्रका विवादको उहाँलाई पदबाट हट्नुपर्छ भन्ने कुरा नउठेका होइनन्। तर, अहिले उहाँले पदबाट हट्ने बारेका कुनै कुरा गर्नुभएको छैन’ उनले भने, ‘उहाँ पदबाट हटिहाल्ने पक्षमा देखिनुभएको छ जस्तो लाग्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.