‘अब पद ओगटेर बस्दैनौँ’

|

पर्सा : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्र कोही महामहिम नभएको बताएका छन्‌। 

नेपाल निजामती कर्मचारी संगठन पर्साको नयाँ निर्मित भवन उद्घाटन गर्न बुधबार वीरगन्ज आइपुगेका नेता नेपालले वीरगन्जमा यस्तो बताएका हुन्। 

व्यक्तिको नाम उल्लेख नगरी नेता नेपालले भने, ‘कसैलाई पद छाड भन्नुभन्दा पहिले आफूले छाडेर देखाउनुपर्छ, अरूलाई मात्र छाड्न भनेर हुँदैन, हाम्रो बानी के छ भने अरूलाई छोड्‌ भन्ने, आफूले ओगटेर बसिरहने ! यस्तो गर्नु हुँदैन।’ नेकपाका अगुवाहरूले अब सधैँ पद र सत्ता ओगटेर नबस्ने उनले बताए। 

‘हामीले त आजीवन प्रमुख पद र सत्तामा बस्ने नीति परिवर्तनको निर्णय नै गरी सिस्टम बसालिसकेका छौं, हामीले म भन्ने चिन्तनबाट मुक्त भएर हामी भन्ने चिन्तन गर्नुपर्छ, त्यसैमा सबैको कल्याण हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तर्फ संकेत गर्दै भने। 

पार्टीमा कोही पनि महामहिम छैन 

कसैको नाम उच्चारण नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इंगित गर्दै नेता नेपालले पार्टीमा म नै सर्वेसर्वा हुँ र अरू सबै मेरा पछुवा हुन्‌ भन्ने मानसिकताबाट मुक्त हुनुपर्नेमा जोड दिए।

उनले पार्टी प्रणालीमा चल्नुपर्ने पनि उल्लेख गरे।

पार्टीको जिम्मा अब नाति पुस्ताले लिनुपर्छ 

‘सबैको मानसम्मान, प्रतिष्ठा राखेर, ज्ञान, बुद्धि, बर्कत मानेर गयो भने सबै समस्या समाधान भएर जान्छ। पार्टीलाई विधिमा चलाउनुपर्छ, यो कुर्सी ताक्यो भने कुर्सी नै भाँचिदिन्छु भन्ने मानसिकताबाट मुक्त हुनैपर्छ,’ नेता नेपालले भने, ‘अब नआत्तिनुस्, निरास नहुनुस् ! किनभने नेपाल कम्युनिष्ट पार्टी साधारण कमजोर जगमा उभिएको पार्टी होइन। पार्टीलाई पुनर्गठन गरेर यहाँसम्म ल्याउँदा नाति पुस्ता भइसकेको छ। अब उनीहरूले पनि यसको जिम्मा लिनुपर्छ।’

लक्ष्य समाजवाद हो, सोही अनुसार काम गर्नुपर्छ 

संविधानको लक्ष्य समाजवाद भएकोले कर्मचारीहरूले पनि समाजवाद उन्मुख भ्रष्टाचार रहित कार्यसम्पादन गर्नुपर्ने नेता नेपालले बताए।

‘विगतको जस्तो भएर अब हुँदैन, त्यसको लागि स्वयंबाट राम्रो कामको थालनी गर्नुपर्छ, समृद्ध समाज निर्माणका लागि माथिदेखि तलसम्म सबैतर्फ राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने बानी बसाल्नुपर्छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.