खोप ल्याउन गाह्रो छ, मन्त्रीका कुरा सान्त्वनामात्रै हो : विज्ञ

|
फाइल फोटो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको विश्व प्रति-जैविक सचेतना सप्‍ताहका अवसरमा मंगलबार आयोजित कार्यक्रममा विभागीय मन्त्री भानुभक्त ढकालले कोभिड-१९ विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउनासाथ नेपाली नागरिकले प्रयोग गर्न पाउने बताएका थिए।

सरकारले कोरोनाविरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्ट्रेलीयालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकेको पनि उनले उल्लेख गरेका थिए।

अहिले विश्वका विभिन्न मुलुकले परीक्षणकै क्रममा रहेका खोप प्रयोग गरिरहेका छन्‌। यी खोप परीक्षण सफल भए केही समय पश्चात् विश्वका विभिन्न मुलुकमा प्रयोग गरिनेछ। खोप आयात गर्नका लागि राष्ट्रपतिले भर्खरै अध्यादेश पनि पास गरिसकेकी छिन्। तर, नेपालमा अहिले बनेका खोपले अनुमति पाएपनि तत्काल आइपुग्ने अवस्था छैन।

 खोपको आयात गर्न कुटनीतिक पहल जारी राखिएको भनिएपनि त्यसैको आधारमा नेपालमा तत्काल खोप ल्याइहाल्ने अवस्था छैन। खोप आएमा त्यसलाई राख्ने भौतिक संरचना सरकारले तयार नै गरेको छैन। फाइजर कम्पनीले निर्माण गरेका खोपहरू माइनस ७० डिग्रीको तापक्रममा राख्नुपर्ने हुन्छ। खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्टयाएको भनेको सरकारले यसलाई राख्ने भण्डार अहिलेसम्म नबनाएको हो।

खोप निर्माणकर्ता मुलुकमा पनि संक्रमित छन्। उनीहरूको प्राथमिकतामा नेपाल परेमा मात्र भ्याक्सिनको सहज आयात हुने देखिन्छ। ट्रायलमा रहेका खोप प्रयोगको फाइनल डाटा सार्वजनिक भएपछि मात्र यसको आयात र प्रयोग गर्नुपर्ने हुन्छ, तर नेपालमा सहजै खोप आयात गर्न सक्ने अवस्था नरहेको विज्ञहरू बताउँछन्।

'स्वयंसेवक व्यवस्था नगर्दा ट्रायलको खोप प्रयोग गर्ने अवसर गुमायो'

विभिन्न मुलुकमा निर्माण भइरहेका खोप फाइनल भएपछि मन्त्रीले नेपाल आयात गर्न सकिने बताउनु अहिलेको अवस्थामा आश्वासन मात्र भएको सरुवा रोग तथा संक्रामक रोग विशेषज्ञ अनुसन्धानकर्ता डा. जीवनबहादुर शेरचन बताउँछन्।

तत्कालै खोप फाइनल भएपनि नेपाल ल्याउनसक्ने सम्भावना नरहेको उनले बताए। उनले भने, 'बेलायत र रसियामा ट्रायलमा रहेका खोप प्रयोग गर्ने प्रस्तावमा नेपाल तयार हुन नसक्दा ट्रायल खोप प्रयोग गर्न सकिएन, त्यसकारण पनि अब कोरोना विरुद्धको खोप नेपालले चाँडै प्राप्त गर्ने सम्भावना तत्काललाई न्यून छ।'

उनका अनुसार खोप लगाउन नेपाल सरकारले स्वयंसेवकको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखिएकोमा सो व्यवस्था गर्न नसक्दा ट्रायल खोप लगाउने अवसरबाट नेपाल पछि परेको हो। खोप आयातका लागि सरकार बढी जिम्मेवार हुनुपर्ने उनले बताए। खोप आयात गर्न विज्ञसमिति गठन गरेर काम गर्न उनले सुझाए।

'खोपको निर्माण भइरहेको मुलुकमा खोपले प्राप्त गरेको सफलताको डाटा अध्ययन गर्नुपर्छ,' उनले भने, '८० देखि ९० प्रतिशत सफलता प्राप्त गरेको खोप मात्रै ल्याउनुपर्छ, त्यसका लागि मिहिन ढंगले बुझेर अघि बढ्नुपर्छ।' भ्याक्सिन लगाउनासाथ मानिसहरूको मृत्यु नहुने, तर अन्य रोगहरू छ भने मृत्यु हुनसक्ने उनले बताए।  खोप लगाउन प्रोटोकल बनाउनुपर्ने र कस्ता मानिसले लगाउने हो, उनीहरूको समूह वर्गीकरण गर्न पनि उनी सरकारलाई सुझाउँछन्‌।

माइनस ७० डिग्रीभन्दा कम तापक्रममा राख्नुपर्ने भएमा त्यसको लागि भण्डारण केन्द्र बनाउनुपर्छ। माइनस २० डिग्रीभन्दा तल राख्नुपर्ने खालका खोप राख्न चाहिँ नेपालमा भण्डारण गर्ने क्षेत्र भएको शेरचन बताउँछन्‌।

'मन्त्रीको अभिव्यक्ति सान्त्वना मात्रै'

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार कोभिड विरुद्धको खोप अन्तिम चरणमा पुगेर फाइनल भएपनि नेपाल ल्याउन तत्काल सम्भव छैन।

महामारीमा मन्त्रीहरूले नागरिकलाई सान्त्वना दिन खोप ल्याइहाल्ने आश्वासन दिएको हुनसक्ने उनको भनाइ छ। 'छिमेकी मुलुक भारत र चीनमा कूटनीतिक पहल गर्न सकेमा चाँडो आउन सक्छ, तर अन्य मुलुकबाट तत्काल खोप ल्याउन मुस्किल नै छ,' उनले भने। 

भारतमा बनेका खोप नेपाल आयात गर्नको लागि सहज हुने उनले बताए। उनले थपे, 'सार्क राष्ट्रलाई दिने भन्ने छ, सोहीअनुसार भारतसँग कूटनीतिक पहल थाल्नुपर्छ।

'खोप आयात गर्नका लागि मुख्यगरी भारत र चीनसँग समन्वय गर्नुपर्छ,' डा. कोइरालाले भने,' छिमेकी मुलुक भएकोले यी दुई मुलुकले बनाएमा नेपालमा छिटो आउने सम्भावना रहन्छ।' खोप पाउन कोभ्याक्स मुलुकमा नेपालको उपस्थिति र सक्रियता कति छ, त्यसमा पनि भर पर्ने उनले बताए।

कोभ्याक्समा नेपालसहित १ सय ७२ देश आवद्ध छन। कोभ्याक्समा आवद्ध भएका देशलाई कम्तीमा २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको छ।

नेपालजस्तो भौगोलिक विविधता रहेको मुलुकमा सबैतिर खोप पुर्‍याउन असम्भव रहेको उनले बताए। मोर्डनाको खोप आएमा ठूला-ठूला अस्पतालमा रहेका रेफ्रिजेरेटरमा राखेर पनि भण्डार गर्न सकिने उनले बताए। काठमाडौंजस्तो ठाउँमा सहजै खोपको प्रयोग गर्न सकिएपनि यातायातको साधनबाट ढुवानी गर्दा असहज हुने उनको भनाइ छ।

'डाटा फाइनल भए खोप आउँछ'

खोप निर्माणको डाटा फाइनल भएमा खोप आयात गर्न सरकार तयार रहेको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले दावी गरेका छन्‌। विश्व बजारमा पहिले खोपको तयारी भएर त्यहीँ अनुसार आयात गर्नलाई पहल गरिने उनको धारणा छ।

'सरकार खोप आयात गर्न कानूनी रुपमा तयार भइसकेको छ,' उनले भने, 'खोप कस्तो बन्छ, त्यसअनुसार संरचना निर्माण गरिन्छ।' ट्रायलमा रहेका खोपहरू प्रयोग भइसकेपछि त्यसको प्रभावकारिता अध्ययन गरी विश्व स्वास्थ्य संगठनमा दर्ता भएमा मात्र खरिद तथा आयातको कार्यक्रम अगाडि बढ्ने उनले जानकारी दिए।

अन्य मुलुकले खोप पाउँदा नेपालले नपाउने भन्ने नहुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.