|

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ। तर, संक्रमित थपिने क्रम भने घटेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक हप्तादेखिको मृत्युको तथ्यांकले पनि नेपालमा पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको देखाएको हो।

बिहीबार मात्रै २३ जनाको मृत्यु भएसँगै नेपालमा हालमसम्म कोरोनाबाट मृत्यु हुनेहरूको संख्या १४ सय १२  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणअनुसार मसिर १० गते संक्रमणबाट थप २८ जनाको निधन भएको छ। यो कोरोना संक्रमणबाट  एकै दिनमा सबैभन्दा धेरैले ज्यान गुमाउनेको संख्या हो। 

तथ्यांकअनुसार गत  मसिर ९  गते कोरोना संक्रमणबाट थप २४ जनाको निधन भएको थियो, यस्तै मंसिर सात गते कोरोना संक्रमणबाट थप १६ जनाको, मंसिर आठ गते १६ जनाको, मंसिर ६ गते  ७ जनाको, मंसिर पाँच गते २२ जनाको, मंसिर दुई गते १७ जनाको मृत्यु भएको छ।

यो तथ्यांकले पनि पछिल्लो समय कोरोना संक्रमितको मत्यु दैनिक बढ्दै गएको देखाउँछ। पछिल्लो समय नेपालमा संक्रमितहरूको निको हुने दर ९१ प्रतिशत रहे पनि संक्रमितको मत्युदर बढ्दै जानु चिन्ताको वियष भएको चिकित्सकहरू बताउँछन्।

पछिल्लो समय यसकारण बढ्दै छ संक्रमितको मृत्युदर

नेपालमा कोरोना भाइरस संक्रमण देखिएको केही महिना संक्रमण कम मात्रामा देखिए पनि केही महिनादेखि संक्रमण समुदायस्तरमै फैलिइसकेको बताइएको छ। समुदायबाट संक्रमितहरू प्राय घर–घरमा पुगेपछि  ज्येष्ठ नागरिक, दीर्घरोगीहरू पनि संक्रमित हुने गरेको र पछिल्लो समय संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम बताउँछन्।

उनले भने, ‘हाल संक्रमण समुदायबाट घर-घरमा पुगेको अवस्था छ, जसले गर्दा ज्येष्ठ नागरिक र दीर्घरोगीसमेत संक्रमित हुँदा पछिल्लो समय संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको देखिन्छ।'

यस्तै, पछिल्लो समय अस्पतालमा राखेर उपचार गर्नुपर्ने संक्रमित होम आइसोलेसनमै बस्ने र अन्तिम अवस्थामा मात्र अस्पताल आउने हुँदा मृत्यु हुनेको संख्या बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला बताउँछन्।

उनले भने, ‘एकातिर समुदायमा पुग्दा ज्येष्ठ नागरिकहरूसमेत संक्रमित हुने गरेकाले मृत्युको उच्च जोखिम छ भने अर्को कुरा अस्पतालमा राखेर उपचार गर्नुपर्ने खालका संक्रमित पनि आफूखुसी अक्सिजनको सिलिण्डर राखेर घरमै बस्ने र  अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गरेकाले मृत्युको संख्या बढ्दै गएको हो।'

संक्रमितको संख्या घट्दै

मृत्यु हुनेहरूको संख्या बढ्दै गए पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घटिरहेको विवरणले देखाएको छ। बुधबार मात्रै देशभर ९ हजार २१० जनाको पिसिआर परीक्षण हुँदा १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उता, ३ हजार १४० जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् जसले गर्दा पछिल्लो समय संक्रमण मुक्त हुनेको संख्या पनि बढेको देखिन्छ।

हाल संक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। पछिल्लो विवरणअनुसार हाल देशभर १६ हजार ६३९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा ६६९ जना क्वारेन्टाइनमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.