काठमाडौं : नेपाल मेडिकल काउन्सिलले आगामी भोली र पर्सी ( शुक्रबार र शनिबार) पोष्ट ग्राजुएट्स (पीजी) तह अध्ययन पूरा गरेका चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न लागेको छ।
कोरोना भाइरस महामारी सुरु भए यता काउन्सिलले लिन लागेको यो विशेष परीक्षा हो। शुक्रबार र शनिबार हुने पीजी तहको लाइसेन्स परीक्षामा यसपटक परीक्षामा ८४४ जनाले सहभागिता जनाउन लागेका काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले बताए।
काउन्सिलले पहिलो पटक कम्प्युटरमा आधारित रहेर परीक्षा सञ्चालन गर्दैछ। पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरी परीक्षा हलको व्यवस्था मिलाएको छ।
यस अघि काउन्सिलले सधैँ सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा हुँदै आएको थियो। तर यस पटक विशेष परीक्षाका लागि पुल्चोक क्याम्पसको सूचना तथा सञ्चार प्रविधि केन्द्रलाई प्रयोगमा ल्याइने भएकाले परिक्षा केन्द्र फेरिएको काउन्सिलले जनाएको छ।
पीजी तहका कुल ४५ वटा विषयका परीक्षा हुँदै छन्। त्यसका लागि हामीले शुक्रबार दुईवटा र शनिबार तीनवटा गरी कुल पाँच सिफ्टमा नौ-नौ वटा विषय भाग लगाई परीक्षा लिन लागेको डा अधिकारीले बताए।
काउन्सिलले शुक्रबार १२ देखि २ मा पहिलो सिफ्ट र ४ देखि ६ बजे दोस्रो सिफ्टमा परीक्षा गर्दैछ। त्यस्तै शनिबार विहान ९ देखि ११ बजे पहिलो, १ देखि ३ बजे दोस्रो र अपरान्ह ५ देखि ७ बजे तेस्रो सिफ्टमा परीक्षा गर्दैछ।
सबै सिफ्टको परीक्षा सकिएलगत्तै शनिबार नतिजा प्रकाशित हुने काउन्सिलले जनाएको छ। यसपटक परीक्षामा सबैभन्दा बढी इन्टरनल मेडिसिनका १२८ जना सहभागी हुँदैछन्। त्यस्तै अर्थोपेडिक्स, गाइने, रेडियोलोजी, प्याडियाटिक लगायतका परीक्षार्थी समेत बढी भएको डा अधिकारीले जनाए ।
विशेषज्ञ डाक्टर बन्नका लागि दिइने यो लाइसेन्स परीक्षा १०० पूर्णाङ्कको हुन्छ । त्यसमा कम्तीमा ५० नम्बर ल्याउने उत्तीर्ण हुन्छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।