|

धनगढी : बिहीबार बिहानै धनगढी उपमहानरगपालिका–१४ फूलबारीमा रहेको एनएमबी बैंक अगाडि ज्येष्ठ नागरिककको भिडभाड थियो। 

शितलहर र चिसोलाई बेवास्ता गर्दै ७५ वर्षीया लक्ष्मी रोकाया बैंकको ढोका छेउमै बसिरहेकी थिइन्। उनले आफू बिहान ४ बजेदेखि नै लाइनमा बस्न बैंक पुगेको सुनाइन्।

सामाजिक सुरक्षा भत्ता बुझ्न आफू बैंकको लाइनमा बस्न आएकी उनले भनिन्, ‘दसैं तिहारमा समेत भत्ता पाएनौं, उनले पीडा सुनाइन्, 'बैंकले कुपन दिएपछि मात्रै भत्ता पाइन्छ भन्ने सुनेपछि राति नै आएँ।’

हातमा लौरो समातेर बैंकको ढोकामै बसेका ७० वर्षीय धुरराम चौधरी पनि बैंकले बिहानैदेखि भत्ता वितरण गर्ने सुनेपछि चार बजे नै लाइन लाग्न पुगेको रहेछन्। उनले भने, ‘बिहानै कुपन दिन्छ भनेर चाँडै आएको हुँ।’

मंसिर लागेसँगै धनगढीमा शितलहर र चिसो बढेको छ। तर सामाजिक सुरक्षा भत्ता बुझ्न बैंक पुगेका ज्येष्ठ नागरिकलाई कुनै प्रवाह थिएन। सिमेन्टको भुइँमा बसेर बैंक खुल्ने प्रतीक्षा गरिरहेका थिए। हरेक दिन बिहानैदेखि बैंकमा यस्तै भीड लाग्ने गरेको बैंकका सुरक्षागार्डले सुनाए।

रोकाया र चौधरीजस्तै ६२ वर्षीया लाली कठायतसमेत बिहान चार बजेदेखि बैंक खुल्ने प्रतीक्षामा थिए। ‘१० बजे आए पालो आउँदैन, पैसा पनि पाइँदैन, त्यसैले बिहानै आएकी हुँ’, उनले भनिन्। उनीहरुसँगै अन्य ज्येष्ठ नागरिकसमेत बिहानै चार बजेदेखि बैंक खुल्ने प्रतीक्षा गरिरहेका थिए।

एनएमबी बैंक फूलबारी शाखाबाट धनगढी उपमहानगरपालिकाका-१४, १८ र १९ नम्बर वडाका वृद्धले भत्ता पाउने गरेका छन्। उपमहानगरका विभिन्न गाउँबाट झण्डै ७ किलोमिटर पैदलै उनीहरु आउने गरेका छन्।

कोभिड–१९ को जोखिम हुन सक्ने भन्दै बैंकले दैनिक ९० देखि ९५ जनालाई  जनालाई मात्र कुपन प्रदान गर्दै आएको छ। बैंक शाखा प्रमुख करन धामीले भीडभाड कम गर्न बैंकले कुपन दिने गरेको बताए। ९० जनाको मात्रै पालो आउने भएपछि यहाँका वृद्धवृद्धा बिहानैदेखि कुपनका लागि बैंकको ढोकामा बस्ने गर्छन्।

बैंकले उप-महानगरपालिकाका तीन वटै वडाका झण्डै २३ सय भन्दा बढी ज्येष्ठ नागरिक र अपांगलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। यता धनगढी उपमहानगरपालिका–१८ का वडाध्यक्ष मुरारी अधिकारीले बैंकले जिम्मेवारीपूर्वक कार्य नगर्दा समस्या भएको बताए। उनले कञ्चन डेभलपमेन्ट बैंक र एनएमबी बैंक आपसमा गाभिएकाले समस्या सिर्जना भएको बताए।

ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दशैंअघि नै बैंकमा पठाइसके पनि बैंकले वितरणमा ढिलाइ गरेको उनको भनाइ छ। उनले भने, ‘बैंकले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने थियो, तर लापरवाही गरिरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.