लिम्पियाधुराबारे ओलीले भने : इतिहासले छाडेको समस्या लामो समय नराखौं

|

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालस्थित समकक्षी केपी शर्मा ओलीलाई पछिल्लो समय देखिएका सीमासहितका समस्या समाधानका लागि वार्ता अघि बढाउन आफू तयार रहेको सन्देश पठाएका छन्।

नेपालको दुई दिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका भारतीय विदेश सचिव हर्षवर्धन श्रींगलामार्फत मोदीले उक्त सन्देश समकक्षी ओलीलाई पठाएका हुन्। 

प्रधानमन्त्री ओलीसँग आज साँझ सरकारी निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा विदेश सचिव हर्षवर्धनले उक्त सन्देश सुनाएका हुन्। 

भेटमा भएको कुराकानीबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले कालापानी-लिम्पियुधाराबारे नेपालले उठाएको मुद्दालाई वार्ताद्वारा समाधानका लागि तयार रहेको मोदीको सन्देश हर्षवर्धनले सुनाएका छन्। 

'विदेश सचिव हर्षवर्धनले भेटका क्रममा समकक्षी मोदीले पठाउनुभएको स्वास्थ्यलाभको सन्देश सुनाउनुभएको थियो', भट्टराईले भने, 'त्यसपछि नेपाल-भारतका सीमासहितका अन्य समस्या समाधान र सम्बन्ध अझ मजबुत बनाउने विषयमा दुईजनाबीच कुराकानी भएको छ।'

विदेश सचिव हर्षवर्धनले नेपालले लिम्पियाधुरा-कालापानीबारे उठाएको सवालमा भारतीय प्रधानमन्त्री र भारत सरकार गम्भीर रहेको पनि बताएका छन्। 

'प्रधानमन्त्रीसँगको भेटमा उहाँ (हर्षवर्धन) ले नेपालले लिम्पियाधुरा-कालापानीबारे उठाएको मुद्दा गम्भीर रहेको बताउनुभएको छ। यसलाई भारतले गम्भीरतापूर्वक लिएरै वार्ताको अग्रसरता देखाएको कुरा उहाँले बताउनुभयो', भट्टराईले भने, 'दुई देशबीच सीमासहितका केही समस्या रहेकैले वार्ताको अग्रसरता देखाएका हौँ। हामीबीचको घनिष्ठ सम्बन्धलाई मध्यनजर गर्दै वार्ताबाटै लिम्पियाधुरासहितमा देखिएका तथा अन्य समस्या समाधानका लागि हामी तत्पर छौं।'

विदेश सचिव हर्षवर्धनले दुई देशबीचमा देखिएका केही समस्या समाधानकै पहलस्वरुप यसअघि भारतीय सेनाअध्यक्ष र रअ प्रमुखसहितका उच्च अधिकारीको भ्रमण भएको उल्लेख गर्दै यसलाई अझै उच्च तहमा लगिने बताएका थिए। उनले नेपाल-भारतबीच अझै राजनीतिक तहसम्ममा वार्तामा बसेर अहिले देखिएका सबै किसिमका समस्या हल गर्न आफूहरु तयार रहेको उल्लेख गरेका थिए। 

ओलीको जवाफ

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले निकट छिमेकी भारतसँग नेपालले सम्बन्ध बिगार्न नचाहेको बताएका थिए। परराष्ट्र सल्लाहकार भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले सीमा समस्या पनि अहिले सिर्जित नभएको बताउँदै इतिहासले छाडेको समस्यालाई लामो समय राख्‍न नहुने उल्लेख गरेका थिए। 

'भारसँग नेपालको सम्बन्ध बिग्रिएको छैन, र हामी सम्बन्ध बिगार्ने पक्षमा पनि छैनौं', ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, 'तर हामीबीच इतिहासले छाडेका सीमा विवादसहितका केही समस्या बाँकी नै छन्। नेपाली भूमि लिम्पियाधुरासहितमा देखिएका समस्यालाई लामो समय राख्‍नु उचित हुँदैन।'

ओलीले सीमाबारे नेपालले विवाद झिकेको नभइ विगतका तथ्य प्रमाणका आधारमा आफ्ना कुरा प्रष्ट पारेको जवाफ हर्षवर्धनलाई दिएका छन्। 'हामीले सीमाबारे कुनै विवाद झिकेका होइनौँ, इतिहासमा, विगतमा केही कमजोरी भएका थिए, त्यसलाई सुधार्नु आवश्यक छ। हामीले इतिहासले छाडेर गएका ती समस्यालाई लामो समय नराखी हल गरौं मात्रै भनेका हौँ। हामी भारतसँग सम्बन्ध बिगार्ने या समस्या बढाउने पक्षमा छैनौं।'

आजै काठमाडौं उत्रिएका हर्षबर्धनले समकक्षी डा. भरतराज पौड्याल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि सम्वाद गरेका छन्। त्यसैगरी उनले आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि वार्ता गर्दैछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.